‘रविको धम्कीपूर्ण अभिव्यक्ति समग्र सञ्चार क्षेत्रमाथिको प्रहार’

‘रविको धम्कीपूर्ण अभिव्यक्ति समग्र सञ्चार क्षेत्रमाथिको प्रहार’

काठमाडौं : नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई आफ्नो अभिव्यक्ति फिर्ता लिई प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न माग गरेको छ।

‘पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चार क्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाउँदै धम्कीपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार हो’ पत्रकार महासङ्घले भनेको छ।

संसद्को चौथो ठुलो दलका अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्रीसमेत रहिसकेको व्यक्तिले सञ्चार क्षेत्रप्रति संयम गुमाएर अभिव्यक्ति दिनु समग्र सञ्चार क्षेत्रमाथिको प्रहार भएको महासचिव रोशन पुरीले निकालेको विज्ञप्तिमा लेखिएको छ।

सञ्चार प्रतिष्ठान र सञ्चारकर्मीको नामै लिएर सार्वजनिक रूपमा धम्की दिइनुले नेपालका सञ्चार प्रतिष्ठान र सञ्चारकर्मी असुरक्षित हुनसक्ने तथ्यप्रति महासङ्घले चिन्ता व्यक्त गरेको छ।

लामिछानेको अभिव्यक्तिले कुनै अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी स्वयम् अध्यक्ष लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीले लिनुपर्ने महासङ्घले चेतावनी दिएको छ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा र नागरिक अधिकार पक्षमा निरन्तर सङ्घर्ष गरेको नेपाली प्रेस कुनै पनि दल वा व्यक्तिको धम्कीबाट विचलित नहुने विज्ञप्तिमा लेखिएको छ।

रविको आक्रोश मिडियामा : गलत समाचार लेखे घेर्ने चेतावनी

सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित सामग्रीप्रति चित्त नबुझे प्रचलित विधि र पद्धतिअनुसार अघि बढ्न सकिने प्रावधान हुँदाहुँदै धम्कीपूर्ण शैलीमा प्रस्तुत हुनु आपत्तिजनक र अशोभनीय कार्य भएको महासङ्घले ठहर गरेको छ। ‘लामिछानेको धम्कीपूर्ण अभिव्यक्तिको महासङ्घ कडा शब्दमा निन्दा गर्दछ,’महासचिव पुरीले निकालेको विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेले केही पत्रकार र मिडियाका कारण आफ्नो नागरिकता मुद्दामा सर्वोच्च अदालत प्रभावित भएको आरोप लगाएका थिए।

उनले कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया, सेतोपाटीका सम्पादक अमित ढकाल, अनलाइन खबरका सञ्चालक धर्मराज भुसाल र सम्पादक शिव गाउँले, अन्नपूर्णका रामेश्वर थापा, रिसी धमलासहितका १२ भाइ पत्रकारका कारण आफूले पद गुमाउनुपरेको उल्लेख गरेका थिए।

अहिले गृहमन्त्रीमा फर्कनसमेत पत्रिकाका हेडलाइनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दबाबमा परेको भन्दै नेपाली पत्रकारितामा केही व्यक्तिले सिन्डिकेट चलाएको आरोप लगाएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading