बलात्कार आरोपी सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेटमा विवादास्पद पुनरागमन

बलात्कार आरोपी सन्दीपको अन्तर्राष्ट्रिय क्रिकेटमा विवादास्पद पुनरागमन

काठमाडौं : बलात्कार आरोपमा जेलबाहिर बसेर मुद्दा लड्न अनुमति मात्र पाएका क्रिकेटर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गरेका छन्।

विश्वकप लिग–२ क्रिकेटअन्तर्गत मङ्गलवारदेखि घरेलु मैदानमा सुरु भएको त्रिदेशीय एकदविशीय अन्तर्राष्ट्रिय शृङ्खलामा लामिछानेले बलात्कार आरोप लागेको ६ महिनापछि मैदान पुनरागमन गरेका हुन्।

नेपालले नामिबियामाथि ऐतिहासिक जित निकालेको आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा लामिछानेले उत्कृष्ट प्रदर्शन गरे।

लामिछानेले ३ विकेट हात पारे। ११ औँ ओभरको दोस्रो बलमा नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई १३ रनमा बोल्ड आउट गरेपछि भावुक बनेका लामिछानेलाई टिमका सहकर्मीहरूले हौसला प्रदान गरेका थिए।

नाबालिगलाई बलात्कार गरेको आरोपमा लामिछाने विरुद्ध भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो। गत असोज २० गते विदेशबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका लामिछानेलाई पाटन उच्च अदालतले २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो।

सन्दीप लामिछानेको मुद्दामा ‘उदार’ आदेश, उल्लङ्घन गरे फेरी थुनामा पठाइने

नेपाल क्रिकेट सङ्घ–क्यानले धरौटीमा छुटेपछि निलम्बन फुकुवा गर्दै सन्दीपलाई राष्ट्रिय टोलीमा बोलाएको हो। लामिछानेलाई मैदानमा उतारेपछि क्यान विवादित बनेको छ। सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ।

जितका लागि नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ दशमलव ४ ओभरमा ८ विकेट गुमाएर भेट्टायो। यो ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको सर्वाधिक ठुलो योगफल हो। नेपालको जितमा कुशल भुर्तेलले सतकिय पारी खेल्दै सर्वाधिक ११५ रनको योगदान गरे। कप्तान रोहित पौड्यालले ७२ रनको योगदान गरे।

सन्दीप जोराले २८ तथा ज्ञानेन्द्र मल्ले २५ रन जोडे। नामिबियाबिरुद्धको खेलमा नेपालका तीन खेलाडीले कीर्तिमान बनाएका छन्। करण केसी ओडिआई क्रिकेटमा पाँच विकेट तीन पटक लिने पहिलो नेपाली खेलाडी बन्दा कप्तान रोहित पौडेल अर्धसकिय पारी खेल्दै ओडिआईमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बनेका छन्।

यस्तै कुशल भुर्तेलले पनि आइसिसी क्रिकेट विश्वकप लिग टु मा शतक प्रहार गर्ने नेपालको पहिलो खेलाडीको रूपमा आफूलाई स्थापित गराएका छन्। नेपालले अव दोस्रो खेल शुक्रवार स्कटल्यान्डसँग खेल्नेछ । शनिवार नामिबिया र मङ्गलवार स्कटल्यान्डसँग खेल्नेछ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.