व्यापार मेलामा ५ करोड रुपैयाँको कारोबार

व्यापार मेलामा ५ करोड रुपैयाँको कारोबार

काठमाडौं : नेपाल १६ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा पाँच करोड रुपैयाँको कारोबार भएको आयोजकले दाबी गरेको छ। मेलामा साढे दुई लाख अवलोकनकर्ता पुगेको दाबी पनि आयोजकले गरेको छ।

व्यापार मेला समापन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले स्वदेशमा उत्पादन भएका वस्तुको बजारीकरण अहिलेको महत्त्वपूर्ण आवश्यकता रहेको बताए। मेलाले देशभरकै उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रचार प्रचारप्रसार सहयोग पुर्‍याउने भन्दै उनले भने,‘देशमै रोजगारी सिर्जना र कृषिजन्य उत्पादनको आधुनिकीकरणमा मेला उपयोगी हुनेछ।’ घरेलु उद्यमी तथा उनीहरूका उत्पादनलाई बजारीकरण गर्ने कार्यमा नेपाल सरकार अर्थ मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको अर्थमन्त्री पौडेलले बताए।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले मेलाले देशभरकै उत्पादन प्रवर्द्धनमा सहयोग पुर्‍याउने बताए। सरकार स्वदेशी उत्पादन तथा बजारीकरणमा सहयोग पुर्‍याउन गम्भीर भएर लाग्नुपर्ने उनको भनाई थियो।

स्वदेशी उत्पादनको प्रवर्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी यस पटक फागुन २ देखि राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा आयोजना भएको थियो।
महोत्सवमा प्राकृतिक रेसाजन्य उत्पादन, कर्णालीका खाना परिकार तथा स्थानीय मौलिक उत्पादनहरूमा अवलोकनकर्ता तथा उपभोक्ताहरूको आकर्षण देखिएको थियो।

प्रदर्शनीमा अल्लो, सिस्नो, केरा, गाँजा, बाँस, केतुकी, भूइँकटहरलगायतका प्राकृतिक रेसाबाट बनेका कपडाका उत्पादन, कर्णालीका मौलिक परिकार (कर्नालीको अन्नी) सेटमा जौको लड्डु, फापरको म: म:,मार्सीको खिर, चिनोको सेल उपभोक्ताहरूले निकै मन पराएको पाइएको आयोजकले दाबी गरेको छ।

यसैगरी राउटे समुदायले बनाएका काठका सामग्रीहरू, तेह्रथुमको ढाका, सङ्खुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रंगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिएको थियो।

कोरोना महामारीको कारण विगत तीन वर्षदेखि स्थगित भएको औद्योगिक प्रदर्शनी यस पटक ‘नेपाल १६औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैटौँ प्राङगारिक कृषि मेला–२०७९’ नामबाट आयोजना भइरहेको थियो।

समापन समारोहमा मेलामा सहभागी उद्यमीहरूमध्येबाट उत्कृष्ट उद्यमीहरूलाई नगद पुरस्कारसहित पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेहरूमा हिमालयन अर्ग्यानिक गार्डेन माडी, चितवन प्रथम, फरेष्ट हेम्प इण्डस्ट्रिज प्रा.लि.बुढानीलकण्ठ काठमाडौं द्वितीय, तामाङ झोला तथा राडीपाखी उद्योग जुम्ला तृतीय तथा सान्त्वनातर्फ हिमालय अल्लो तथा सूती कपडा उद्योग संंखुवासभा, मार्फा फलफूल तथा तरकारी प्रशोधन उद्योग मुस्ताङ, सेमी घरेलु ढाका उद्योग धनकुटा, कल्पना बेम्बो हाण्डिक्र्याफ्ट ललितपुर रहेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading