पूर्वराजा ज्ञानेन्द्रको प्रस्तावले राजनीतिक वृत्तमा खैलाबैला

पूर्वराजा ज्ञानेन्द्रको प्रस्तावले राजनीतिक वृत्तमा खैलाबैला

काठमाडौं : राणा शासन ढलेको दिन २००७ साल फागुन ७ गते प्रजातन्त्र दिवसका रूपमा मनाइउने गरिएको छ। राजनीतिक दलहरूको राणा शासन ढाल्ने आन्दोलनमा समर्थन जनाएको तत्कालीन राजतन्त्र त्यसपछिका वर्ष विवादमा परिरहेको छ।

संविधान नेपालको मूल कानुन हो। यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुने संविधानको प्रारम्भमै लेखिएको छ। संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य हुनेछ। पूर्वराजा ज्ञानेन्द्र शाहले पनि संविधानको पालना गर्नुपर्छ।

नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको छ। जनताको मत पाएका जनप्रतिनिधिको कार्यशैली प्रति जनआक्रोश बढेको देखेका छन् पूर्वराजा ज्ञानेन्द्रले।

चुनाव आउनु पाँच महिना अगाडि गठन भएको राजनीतिक दल र राजतन्त्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीको संसद्मा भएको प्रतिनिधित्वले हौसिएका छन् उनी।

प्रतिनिधिसभामा २७५ मध्ये नयाँ र राजतन्त्रको माग गर्ने गरी ३४ सदस्यले प्रतिनिधित्व गरेका छन्। ‘हालै सम्पन्न आमनिर्वाचनमा युवाहरूको सहभागिता र केही आशालाग्दा नतिजाहरूबाट मुलुकको आगामी दिशाबारे आकलन गर्न सकिन्छ,’ज्ञानेन्द्रले प्रजातन्त्र दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा लेखिएको छ,‘विगत बिस वर्षमा दसौँ लाख युवाहरू विदेश पलायन र फराकिलो डायस्पोराको निर्माण, विप्रेषण समाज र अर्थतन्त्र दुवै ठुलो मात्रामा आश्रित हुँदा सकारात्मक र नकारात्मक असरबारे आगामी उज्यालो भविष्यको लागि राष्ट्रिय बहस जरुरी भइसकेको छ।’

२०४६ सालको क्रान्ति र ०६२–०६३ को जनआन्दोलनले मुलुकमा २४० वर्षको राजतन्त्र फालेर गणतन्त्र स्थापना गरेको छ। सोही आन्दोलनको जगमा मुलुकले तीन तहको सरकार पाएको छ। केन्द्रमा राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था भएको छ।

संविधानको रक्षक मानिएको सोही राष्ट्रपति पद नै विवादमा पर्दै आइरहेको छ। विश्वमा उन्नत लोकतन्त्र मानिएको नेपालको लोकतन्त्रमा राष्ट्रपतीय संस्थाप्रति असन्तुष्टि चुलिँदै गइरहेको छ।

पूर्वराजा ज्ञानेन्द्र अब मौन रहन नसक्ने, दलहरूसँग सहकार्यको प्रस्ताव

जनतामा लोकतन्त्रप्रति असन्तुष्टि बढ्दै जाँदा पूर्वराजाले नेपालको निरन्तर अधोगतिप्रति मौन रहन नसक्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा खैलाबैला भएको छ।

प्रजातन्त्र दिवसका अवसरमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। ‘संविधानले अवलम्बन गरेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने तथा समावेशी आर्थिक संवृद्धि हासिल गर्नका लागि बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता हो,’प्रधानमन्त्री प्रचण्डले भने।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने पूर्वराजा ज्ञानेन्द्रमा दुई चार जना मान्छे वरिपरि देख्ने बित्तिकै जोस आउने गरेको बताए।

ओलीले ज्ञानेन्द्र आफैँ अलमलमा रहेको टिप्पणी पनि गरेका छन्। ‘ज्ञानेन्द्र आफै अलमलमा हुनुहुन्छ,उहाँलाई अझै पनि पुरानो झल्को आइराख्छ,’ओलीले भने,‘त्यो झल्काले दुई चार जना मानिस वरिपरि देख्यो भने उहाँलाई अलिअलि जोस्याउँछ, यति मात्रै हो, अरू केही होइन।’

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले पूर्वराजा ज्ञानेन्द्रसँग के मुद्दामा सहकार्य गर्ने ? भनेर प्रश्न गरेका छन्।

उनले कोरा राष्ट्रियताको कुरा गरेर सहकार्य हुन नसक्ने बताए। ‘डेमोक्रेसीलाई निषेध गर्न खोज्ने,राष्ट्रियताको मात्रै कुरा गरेर त त्यो कोरा राष्ट्रवाद हुन्छ,’गुरुङले भने,‘कोरा राष्ट्रवादले नेपालको रक्षा गर्दैन भन्ने घटनाक्रमले पुष्टि गर्दै आएको छ,शाब्दिक रूपमा मात्रै राष्ट्रवादको कुरा उठाएर हुँदैन।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि पूर्वराजाप्रति सङ्केत गर्दै मुलुकमा फेरि मण्डलेहरू जाग्न लागेको टिप्पणी गरेका छन्।

‘अहिले फेरी मण्डलेहरू जाग्न थाल्या छन्,मेचीको पुलमा उभिएर गरेको कुरा देख्नु भयो होला, त्यो मण्डलेहरूको रोग हो,’नेपालले भने,‘त्यहीबाट एमालेका केन्द्रीय सदस्य अझै पनि छन् कि कारबाही गरिसक्या थाहा छैन, त्यो भनेको कम्युनिस्ट पार्टी भित्रको लाजमर्दो कुरा हो।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading