प्रतिनिधिसभा सदस्य रिक्त चितवन, तनहुँ र बारामा वैशाख १० गते मतदान

प्रतिनिधिसभा सदस्य रिक्त चितवन, तनहुँ र बारामा वैशाख १० गते मतदान

काठमाडौं : निर्वाचन आयोगको प्रतिनिधि २०८० साल वैशाख १० गते आइतबारका दिन तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ।

आयोगले उक्त दिन बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको जनाएको छ।

नेपालको संविधानको धारा ६२ को उपधारा (६) र धारा ६७ को उपधारा (३) मा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहको व्यक्ति राष्ट्रपति वा उपराष्ट्रपति पदमा निर्वाचित भएमा निजको त्यस्तो पद स्वतः रिक्त हुने व्यवस्था छ।

२०७९ फागुन २५ गते सम्पन्न राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्य रिक्त भएको छ। २०७९ चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति पदमा निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ मा पनि प्रतिनिधि सभा सदस्य रिक्त भएको छ।

रिक्त हुन आएको प्रतिनिधि सभा सदस्य पदमा नेपालको संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट निर्वाचित भएको हो सोही प्रक्रियाद्वारा पूर्ति गरिने व्यवस्था र प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ मा यस्तो पदपूर्ति आयोगले तोकेको मितिमा हुने उपनिर्वाचनबाट हुने व्यवस्था बमोजिम आयोगले उपनिर्वाचनको मिति र निर्वाचनसम्बन्धी कार्यक्रम स्वीकृत गरेको जानकारी दिएको छ।

दुवै क्षेत्रको निर्वाचन चितवन जिल्लाको उपनिर्वाचनका लागि आयोगबाट स्वीकृत भएको निर्वाचन कार्यक्रम बमोजिम नै हुने व्यवस्था गरिएको छ। जसअनुसार २०७९ चैत १६ गते उपनिर्वाचन प्रयोजनको निम्ति आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना, चैत २० गते उम्मेदवारको मनोनयन दर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।

आयोगले निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई चैत ८ देखि १२ गतेसम्म राजनीतिक दल दर्ता गर्ने समय उपलब्ध गराउने जनाएको छ। आयोगले फागुन १ को निर्णय अनुसारको मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) कार्यक्रम, २०७९ बमोजिम प्रकाशित अन्तिम मतदाता नामावलीकै आधारमा तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचन समेत सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading