मन्त्रालय भागबन्डाको खाका तयार, गठबन्धनको बैठकमा पेस गर्ने

मन्त्रालय भागबन्डाको खाका तयार, गठबन्धनको बैठकमा पेस गर्ने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार गठबन्धन दलमा मन्त्रालय भागबन्डाको प्रस्ताव पेस गर्ने तयारी गरेका छन्।

पुस १० मा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त प्रचण्डले काँग्रेससँगको पुरानो गठबन्धन ब्युँताएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। नेकपा माओवादी केन्द्रको शनिवार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार मन्त्रालय भागबन्डाको प्रस्ताव पेस गर्ने जानकारी दिएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आफ्नो प्रस्तावमा गठबन्धन सहमत हुने र सोमबार मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका नेता देवेन्द्र पौडेलले जानकारी दिए। दश दलीय गठबन्धनका शीर्ष नेताहरूले नै प्रचण्डलाई छुट्टा छुट्टै भेटेर प्रस्ताव गर्न भनेकाले केही दिन लम्बिएको पौडेलले बताए।

उनले टुङ्ग्याउन नसकेर ढिलो नभएको दाबी गर्दै होमवर्कको कारणले एकदुई दिन ढिलो भएको बताए। ‘प्रधानमन्त्रीले सबै दलसँग छलफल गरिसक्नु भएको छ,’पौडेलले भने,‘भोलि उहाँले गठबन्धनको बैठक बोलाएर प्रस्ताव गर्नुहुन्छ र छिट्टै क्याबिनेट विस्तार हुन्छ।’

नेपाली काँग्रेस सम्मानजनक सङ्ख्याका साथ सरकारमा जाने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा शनिवार बसेको पदाधिकारी बैठकले ठुलो पार्टीका हैसियतले सरकारमा सम्मानजनक सङ्ख्या लिएर छिटै सरकारमा सहभागी हुने निर्णय गरेको हो।

काँग्रेसले ८ मन्त्रालय पाउनु पर्ने दाबी गर्दै आएको छ। बैठकपछि पार्टी प्रवक्ता डा प्रकाश शरण महतले गठबन्धनमा रहेका दलहरूले मन्त्रिपरिषद्मा आफ्नै दाबी गरिरहेको अवस्थामा काँग्रेसले पनि ठुलो दलको हैसियतले सम्मानजनक सङ्ख्या पाउनुपर्ने बताए।

काँग्रेसले पाउने सङ्ख्या र मन्त्रालयका विषयमा पार्टी सभापतिले प्रधानमन्त्रीसँग छलफल गर्ने र टुङ्गो लागेपछि नाम पठाउने प्रवक्ता महतले बताए।

गण्डकीका मुख्यमन्त्रीको राजीनामा माग

नेपाली काँग्रेसले गण्डकीमा नेकपा एमालेबाट मुख्यमन्त्री बनेका खगराज अधिकारीको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको भोलिपल्ट शनिवार काँग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीको राजीनामा माग गरेको हो।

काँग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिवार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरे।

अधिकारी नेतृत्वको सरकार संविधानको धारा १६८ को उपधारा २ बमोजिम बनेको हो। कुनै एक दलको बहुमत नभएपछि दुई भन्दा बढी दलको समर्थनमा सरकार बनेको हो।

अब उपधारा ३ अनुसार सबैभन्दा ठुलो दलको हैसियतमा काँग्रेसको नेतृत्वमा सरकार बन्ने उनले बताए। ‘गण्डकी प्रदेशको सरकार नेपाली काँग्रेसको नेतृत्वमा बन्ने निश्चित प्राय छ,’उनले भने,‘काँग्रेस र माओवादी गठबन्धन र तालमेल गरेर सरकार बनाउँछौ।’

राष्ट्रपति निर्वाचनमा केन्द्रमा काँग्रेस, माओवादीसहितका दलको गठबन्धन बनेपछि नेकपा एमाले सङ्घदेखि प्रदेश सरकारबाट पनि बाहिरिने क्रम चलिरहेको छ। अहिले एमालेले नेतृत्व गरेको प्रदेशमा गठबन्धनका दलहरूले मिलेर चलाउने गरी छलफल भइरहेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading