मन्त्रिपरिषद् विस्तारमा प्रचण्डको ह्याट्रिक, संसदमा प्रधानमन्त्री हराएको सूचना

मन्त्रिपरिषद् विस्तारमा प्रचण्डको ह्याट्रिक, संसदमा प्रधानमन्त्री हराएको सूचना

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रधानमन्त्रीमा नियुक्त भएको चार महिना पुग्न लाग्दा समेत प्रचण्डले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरेका प्रचण्डले किस्ताबन्दीमा मन्त्री नियुक्त गरिरहेका छन्। प्रधानमन्त्री प्रचण्डले आइतबार परराष्ट्रमन्त्रीमा एनपी साउद र भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीमा नन्दा चपाईलाई नियुक्त गरेका छन्।

साउद काँग्रेस कोटामा मन्त्री नियुक्त भएका हुन् भने चपाई नेकपा एकीकृत समाजवादीको कोटामा राज्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारमा ह्याट्रिक गरेका छन्। सरकारको उपलब्धि आठौँ पटक मन्त्रिपरिषद् विस्तारमा देखिएको टिप्पणी समेत भएको छ। प्रचण्डले अझै ५ मन्त्रालय आफैँसँग राखेका छन्।

सत्ता गठबन्धनको नेपाली काँग्रेसभित्रको आन्तरिक किचलोका कारण सभापति शेरबहादुर देउवाले पार्टीको भागमा परेका मन्त्रालयमा नियुक्त हुने मन्त्रीको नाम दिन नकस्दा प्रचण्डले मन्त्रिपरिषद्मा किस्ताबन्दीमा मन्त्री नियुक्त गरिरहेका हुन्।

काँग्रेसले आफ्नो भागमा परेका तीन मन्त्रालयमा नियुक्त हुने मन्त्रीको नाम दिन सकेको छैन। आइतबार राष्ट्रपति निवास शितलनिवासमा दिउँसो शपथ लिएका परराष्ट्रमन्त्री एनपी साउदले सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको तयारीको काम अघि बढाउने बताएका छन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा मन्त्री साउदले मन्त्रालयका सचिवलगायत त्यसको तयारीमा रहेका टिमहरूसँग ब्रिफिङ लिएर अघि बढाउने बताए।

मन्त्री साउदले छिमेकीसहितका देशहरूसँगको नेपालको सम्बन्ध सौहार्दपूर्ण, शान्तिपूर्ण र सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै त्यसलाई अझै घनिष्ठ बनाउँदै लैजाने पनि बताए। ‘नेपाल शान्तिपूर्ण मुलुक हो। हामी संसारका सबै देशसँग इतिहासदेखि नै अत्यन्त सौहार्दपूर्ण, शान्तिपूर्ण, सुमधुर सम्बन्ध रहेको छ,’उनले भने,‘यसरी हामी नेपाल एउटा शान्तिप्रिय र लोकतान्त्रिक देशको रूपमा विश्वभर चिनिने अवस्था आउनेछ भन्ने मैले विश्वास लिएको छु।’

संसदमा प्रधानमन्त्री हराएको सूचना

संसद्मा सत्तापक्ष र प्रतिपक्षबिच दोहोरी चलेको छ। नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराउनु भएको भने पछि हराएको सूचना दिने एमाले सांसदलाई नेपाली काँग्रेसले दौरा सुरुवाल लगाएर शितलनिवासमा जान भनेको छ।

एमालेले प्रधानमन्त्रीको विरोध गर्दा काँग्रेस बचाउमा उत्रिएको छ। प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघु जी पन्तले प्रधानमन्त्री प्रचण्ड हराएको र फेला पार्नेले संसद् भवन नयाँ बानेश्वरमा बुझाउन आग्रह गरे।

‘चलनचल्तीको नाम प्रचण्ड,हुलिया पहिलेपहिले कोट पाइन्ट लगाउने गरे पनि हाल दौरासुरुवाल र टोपी पनि लगाउने, उमेर ६५ नाघेको ७० पुगेको जस्तो नदेखिने,’एमाले सांसद पन्तले भने,‘उहाँ केही दिन अघि प्रतिनिधिसभा बैठकमा झुलुक्क देखिएर हाल संसदमा आउनै छोडेकाले उहाँलाई फेला पार्नु हुने व्यक्तिले संसद् भवन नयाँ बानेश्वरमा बुझाइदिनुहोला।’

रघुजी पन्तको जवाफ दिँदै काँग्रेस सांसद रामहरि खतिवडाले प्रधानमन्त्री हराएको सूचना गर्नेलाई दौरा सुरुवाल लगाएर प्रधानमन्त्रीलाई भेट्न शीतल निवास जान सुझाव दिए।

‘भरखरै प्रधानमन्त्री हराएको सूचना सुन्न पाइयो, आज तीन बजे शपथ ग्रहण गर्ने भन्ने सुनेको छ,’खतिवडाले भने,‘सूचना गर्ने माननीय ज्यूलाई तीन बजे त्यहाँ उपस्थित हुन अनुरोध छ,दौरा सुरुवालमा जानुहोला।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading