हरेक ६ मध्ये एक जनामा बाँझोपन : डब्ल्यूएचओ

हरेक ६ मध्ये एक जनामा बाँझोपन : डब्ल्यूएचओ

विश्वभर ठुलो सङ्ख्यामा मानिसहरू बाँझोपन (इनफर्टिलिटी) बाट प्रभावित भएका एक प्रतिवेदनले देखाएको छ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सार्वजनिक गरेको पछिल्लो रिपोर्टमा ठुलो सङ्ख्याका मानिसहरू आफ्नो जीवनकालमा बाँझोपनबाट प्रभावित भएका उल्लेख छ। प्रजनन उमेर समूहका १७.५ प्रतिशत दम्पती अर्थात् ६ मध्ये एक जनाले बाँझोपनको समस्या भोगेका डब्ल्यूएचओले जनाएको छ।

डब्ल्यूएचओले १५ देखि ४९ वर्षका महिलालाई प्रजनन उमेर समूहमा राखेको छ भने ४० देखि ४५ वर्षपछि पुरुषहरूको शुक्राणु गणनामा असर पर्न थाल्ने चिकित्सकहरू बताउँछन्।

उच्चआय भएका देशहरूमा जहाँ १७.८ प्रतिशत मानिस बाँझोपनबाट प्रभावित छन् भने निम्न तथा मध्यमआय भएका देशहरूमा यो आँकडा १६.५ प्रतिशत रहेको छ।

प्रतिवेदनले सन् १९९० देखि २०२१ सम्मका सबै सान्दर्भिक अध्ययनहरूको विश्लेषण गरी प्रयोग गरिएका विभिन्न अनुमानित दृष्टिकोणहरूलाई ध्यानमा राखेर विश्वव्यापी र क्षेत्रीय रूपमा बाँझोपनको प्रचलनबारे अन्तर्दृष्टि प्रदान गरेको जनाउँदै डब्ल्युएचओले आमाबाबु बन्न चाहने दम्पतीका लागि सस्तो, उच्च गुणस्तरीय प्रजनन स्वास्थ्य सेवामा पहुँच विस्तारको आवश्यकतासमेत औँल्याएको छ।

महानिर्देशक डा. टेड्रोस एद्हानोम घेब्रेयसस् भन्छन्–‘बाँझोपनले कसैलाई छुट्याउदैन भनेर यो रिपोर्टले महत्त्वपूर्ण यथार्थ दर्साइदिएको छ। प्रभावित मानिसहरूको विशाल अनुपातले प्रजनन हेरचाहसम्म व्यापक पहुँच बनाउन आवश्यक रहेको देखियो। यस मुद्दालाई स्वास्थ्य अनुसन्धान र नीतिमा बेवास्ता नगरी अभिभावकत्व प्राप्त गर्ने तरिकालाई सुरक्षित, प्रभावकारी र सहज बनाइनुपर्छ।’

बढ्दो बाँझोपनका कारण दम्पतीले सामाजिक असरसँगै आर्थिक कठिनाइसमेत भोगिरहेका छन्।

यद्यपि, बाँझोपनको समस्या भयावह बनेसँगै यसको रोकथाम, निदान र उपचारका कृत्रिम तरिकाहरू पनि छन्। तर इन भिट्रो फर्टिलाइजेशन अर्थात् आइभिएफ लगायतका सहायक प्रजनन प्रविधिहरू लाखौँ खर्च गरेर मात्र प्राप्त हुन्छ। उच्च, मध्यम आय भएका मानिसहरूका लागि यो सहज होला तर, निम्नआय भएकाहरूका लागि यसले चुनौती सिर्जना गरिदिएको छ।

सामाजिक लाञ्छनासँगै सीमित उपलब्धता र लाखौँ खर्च गर्नुपर्ने भएकाले धेरैको लागि यो पहुँच योग्य छैन। चिकित्सकहरूका अनुसार यी तरिकाहरूबाट पहिलो प्रयासमै सकारात्मक नतिजा आउने ग्यारेन्टी पनि हुँदैन।

हाल अधिकांश देशहरूमा प्रजनन उपचारमा मानिसहरूले ठुलो रकम खर्च गरिरहेका छन्। धनी देशको तुलनामा गरिब देशका मानिसहरूले आफ्नो आम्दानीको ठुलो हिस्सा इनफर्टिलिटी केयर अर्थात् प्रजनन हेरचाहमा खर्च गर्छन्। खर्चिलो हुने भएकै कारण अधिकांश मानिस बाँझोपनको उपचार गराउनै सक्दैनन्। उपचार गर्नेहरू पनि अधिक खर्चका कारण गरिबीतर्फ धकेलिन सक्छन्।

डब्ल्यूएचओमा यौन तथा प्रजनन स्वास्थ्य र अनुसन्धानका निर्देशक डाक्टर पास्कल एलोटे भन्छन् –‘बाँझोपनको उपचार सेवा खोज्ने मानिसहरूले आपत्तिजनक रूपमा खर्च गर्नुपरेको छ। राम्रा नीतिसँगै सार्वजनिक आर्थिक सहायताले उपचार पहुँचलाई उल्लेखनीय रूपमा सुधार गर्न सक्छ र गरिब परिवारहरूलाई थप गरिबीको जालमा पर्नबाट जोगाउन पनि सक्छ।’

बाँझोपन पुरुष या महिला प्रजनन प्रणाली सम्बन्धी एउटा रोग हो। ‘पुरुषमहिलावीच १२ महिना वा त्यसभन्दा धेरै समयसम्म नियमित रूपमा असुरक्षित यौन सम्बन्धका बाबजुद पनि महिलाले गर्भधारण गर्न सक्दिनन् भने त्यो बाँझोपन हो’डब्ल्युएचओले परिभाषित गरेको छ।

पहिले–पहिले बाँझोपनका लागि महिलाहरूलाई मात्र दोषी ठहराउने गरिन्थ्यो। पछिल्लो समय भने यसबारेमा बढेको जागरूकतासँगै पुरुषहरूले पनि जाँच गराउन थालेका छन्।

एक दशक अघिसम्म महिलामा सङ्क्रमणका कारण सन्तान जन्माउन नसकेका दम्पती अस्पताल जँचाउन पुग्थे तर पुरुष यसका लागि जाँच गराउन अग्रसर नदेखिएका चिकित्सकहरूको अनुभव छ। महिलाहरू ट्यूबलब्लकेज अर्थात् बच्चादानीको नली ब्लक हुने समस्या लिएर जाँच गर्न जान्थे। यो समस्या सङ्क्रमणका कारण हुने चिकित्सकहरू बताउँछन्।

महिलाहरूमा पाठेघर या ट्युबमा सङ्क्रमण हुँदा पनि गर्भधारण गर्न कठिनाइ हुने गर्दछ। कम उमेरमै यौनसम्बन्ध स्थापित गर्दा पनि महिलाहरू क्लेमाइडिया र गोनोरियाबाट सङ्क्रमित भइरहेका देखिएका छन् जसका कारण भविष्यमा फर्टिलिटीमा असर पर्न सक्ने बताइन्छ।

पछिल्लो समयमा भने, सङ्क्रमण भएपछि मात्र नभई हर्मोनको असन्तुलनका कारण समस्या देखिए लगत्तै चेकजाँच गराउने महिलाहरू बढेका छन्।

नोवा इनफर्टिलिटी क्लिनिककी डाक्टर गुञ्जन सब्बरवाल भन्छिन्–‘३० वर्षको हाराहारीमा पुगेपछि मात्र विवाह गर्ने बढेका छन्। करियर लगायत विविध कारण देखाएर परिवार नियोजन (फ्यामिलीप्लानिङ)गर्न ढिला गर्ने गर्छन् जसका कारण इनफर्टिलिटीको समस्या बढेको छ। पहिलो सन्तान जन्माएपछि धेरै वर्षपछि मात्र अर्को बच्चा जन्माउने योजना बनाउने गर्दा पनि समस्या देखिएको छ। इनफर्टिलिटीको समस्याबाट गुज्रिरहेका दम्पतीमा देखिएको अर्को समस्या भनेको पुरुषले आफ्नो स्वास्थ्यमा पनि कमीकमजोरी हुन सक्ने भनेर छिटो स्विकार्न नसक्नु हो।’

इनफर्टिलिटीका कयौँ कारणमध्ये मुख्यतः पुरुषहरूमा, स्पर्म काउन्ट वा शुक्राणुहरूको सङ्ख्यामा कमी, स्पर्म मोर्फोलोजीवा स्पर्मको स्ट्रकचर अर्थात् आकृतिमा परिवर्तन, स्पर्म मोटिलिटी वा शुक्राणुहरू चलायमान हुने क्षमतामा कमी, स्पर्म नष्ट हुनु रहेको चिकित्सकहरूको भनाई छ।

यस्तैगरी हर्मोनको असन्तुलन, फोन र ल्यापटपबाट निस्कने रेडिएसन, जीवनशैली, धूम्रपान र मदिरा सेवन, प्रदूषण, किटनाशक औषधीहरूको प्रयोग भएका फलफूल र तरकारी खानु, प्लास्टिकको प्रयोग पनि बाँझोपनको कारण बनेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading