निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कर्णाली प्रदेशमा रोलक्रम मिचेर मन्त्री सिफारिस गर्दा लफडा

कर्णाली प्रदेशमा रोलक्रम मिचेर मन्त्री सिफारिस गर्दा लफडा

412
SHARES

सुर्खेत : नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले रोलक्रम मिचेर मन्त्री सिफारिस गरेपछि मन्त्रिपरिषद् विस्तार रोकिएको छ।

सिनियर नेताको राजनीति सिद्ध्याउने गरी मन्त्रीमा सिफारिस गरेपछि सभापति शेरबहादुर देउवाले हस्तक्षेप गरेर मन्त्रिपरिषद् विस्तार रोकाएका हुन्।

देउवाले कर्णाली प्रदेश संसदीय दलका नेता शाहीलाई फोन गरी मन्त्री बनाउँदा न्याय गर्न आग्रह गरेका थिए। तर, शाहीले नमानेर मनोमानी गरेपछि देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन नगरी शपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ।

काँग्रेसबाट मन्त्री बन्ने लिस्टमा रहेका जाजरकोटका राजीवविक्रम शाहको नाम संसदीय दलका नेता शाहीले हटाए पछि देउवाले हस्तक्षेप गर्नुपरेको स्रोतले बताएको छ।

सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशितालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि शपथ रोकिएको हो।

जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंहलगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएका स्रोतले बताएको छ।

संसदीय दल कार्यसम्पादन समितिको सिफारिस विपरीत राजीवविक्रम शाहको नाम हटाएर संसदीय दलका नेता शाहीले जाजरकोट प्रदेशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नाम सिफारिस गरेपछि असन्तुष्टि भएको हो।

सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्काबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारीसहित सरकारमा पठाउने सिफारिस दलका नेता शाहीले गरेका थिए।

काँग्रेस कर्णाली प्रदेशका एक सांसदले संसदीय दलका नेताले शाहलाई दबाउन खोजेको आरोप लगाए। ‘राजीवविक्रम शाह संसदीय दलको नेताको दाबेदार हुनुहुन्थ्यो, तर जीवनबहादुर शाहीलाई समर्थन गर्नुभयो,’उनले पहिचानसँग भने,‘अरूलाई न्याय गर्दा गर्दै शाह आफैँ भने अन्यायमा पर्ने अवस्था आयो।’

समाचार शेयर गर्नुहोस्
412
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.