भ्याटमा नक्कली बिलको समस्या अपराध नै हो : अर्थ मन्त्री महत

भ्याटमा नक्कली बिलको समस्या अपराध नै हो : अर्थ मन्त्री महत

काठमाडौँ : अर्थमन्त्री डा.प्रकाशशरण महतले राजस्व सङ्कलनमा अनुशासन देखाउन निर्देशन दिएका छन्। बिहीबार आन्तरिक राजश्व विभागका प्रमुखहरूको समीक्षा बैठकमा मन्त्री डा. महतले राजश्व सङ्कलनका कर्मचारीलाई तदारुकता, इमानदारिता र अनुशासन देखाउन निर्देशन दिएका हुन्।

उनले विभिन्न परिस्थितिजन्य अवस्थाले यस पटक राजश्व सङ्कलन निकै कम हुन गएको बताए। ‘सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन्। सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढङ्गले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ,’उनले भने,‘राजस्व सङ्कलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व सङ्कलनको जिम्मा अर्थ मन्त्रालयको हो।’

गत वर्ष सङ्कलन भएको राजस्वसँग अहिले सङ्कलन भएको राजस्व दाँज्दा प्रगति निक्कै कम देखिएको अर्थमन्त्री महतले बताए। ‘यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन,’उनले भने,‘राष्ट्रिय अर्थतन्त्रमा आएको सङ्कुचन, केही वस्तुहरूको आयातमा लगाएको प्रतिबन्ध, पुँजीगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको देखिन्छ।’

उनले कार्य प्रगतिबाट कर्मचारीको मूल्याङ्कन हुने बताए। ‘यी तमाम पाबन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ। हामी सबैले इमानदारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन,’उनले भने,‘तपाईँहरूको कार्य प्रगतिबाट नै तपाईँहरूको मूल्याङ्कन हुन्छ भन्ने कुरामा तपाईँहरू निश्चिन्त हुनुहोस्।’

‘काठमाडौँ लगायत राज्यका विभिन्न स्थानमा राजस्व सङ्कलन गर्न आन्तरिक राजश्व कार्यालयहरू रहेका छन्। अर्थमन्त्री महतले राजश्व कार्यालयहरूलाई राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्न पनि निर्देशन दिए।

बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र इमानदारिता तथा महालेखा परीक्षकको कार्यालयले प्रतिवेदनमा देखाएका कुराहरूलाई गम्भीरता पूर्वक लिन जरुरी रहेको उनले बताए। ‘यी सबै कुराहरूलाई सबै कार्यालय प्रमुखहरूले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु हुने भन्ने पूर्ण अपेक्षा गरेको छु’मन्त्री महतले भने।

अर्थमन्त्री महतले भने, सरकारी संरचनामा उदासीनता छ (भिडियो)

राजश्व सङ्कलनमा कतै बढी र कतै कम हुनुको कारण के हो भनेर मन्त्री महतले राजश्व विभागका प्रमुखहरूसँग प्रश्न गरेका छन्। ‘समीक्षा प्रतिवेदनले एउटा राजश्व कार्यालयबाट बढी र अर्कोमा थोरै राजस्व सङ्कलन अनुपात देखिन्छ,’उनले विभागका प्रमुखहरूलाई प्रश्न गरे,‘एक अर्कोमा धेरै फरक अनुपातमा सङ्कलन देखिनुमा के विशिष्ट परिवेश होला? सङ्कलन दर सबैतिर सामान्यतः एकै प्रकार हुनुपर्ने होइन? धेरै ठुलो अन्तर किन भइरहेको छ?’

‘झन्डै ४४ प्रतिशत राजस्व ठुला करदाताबाट आउने गरेको उनले उल्लेख गरे। गत वर्षको तुलनामा अहिले ठुला करदाताबाट पनि राजस्व कम सङ्कलन भएको छ। यहाँ पनि समस्या देखियो। यसमा कहाँ त्रुटि भयो, त्यसको समीक्षा हुन जरुरी छ। तथ्याङ्कलाई तुलना गरेर व्याख्यात्मक विश्लेषण हुन जरुरी छ,’उनले भने,‘‘समस्या पहिचान हुनुपर्‍यो, समस्या आउने कारण यी हुन् भनेर विश्लेषणपछि आउने कार्यदिशा तय गर्न जरुरी छ।’

बैठकमा मन्त्री डा. महतले नयाँ कार्यदिशा तय गर्न नसकेका कर्मकाण्डी मात्र समीक्षा हुने उल्लेख गरे। ‘यदि हामीले विश्लेषणपछि नयाँ कार्यदिशा तय गर्न सकेनौँ भने कर्मकाण्डी समीक्षा मात्र हुन्छ, नयाँ काम गर्न सक्दैनौँ आन्तरिक राजस्व कार्यालयहरूमा कुनैको राजस्व सङ्कलनमा प्रगति भएको छैन भने कुनैमा सामान्य प्रगति भएको छ। यी कार्यालयका प्रमुखहरूले किन यस्तो भयो भन्ने कारण खोज्नुपर्छ,’उनले भने,‘बदमासी भएको छ, दुरुपयोग भएको छ भने कारबाहीको सिफारिस गर्नुपर्छ। अप्ठ्यारोमा पनि राम्रो परिणाम जसले दिएको छ, उनीहरूको मूल्याङ्कन गर्ने पद्धतिलाई विकास गर्नुपर्छ। गरे पनि त्यस्तै, नगर्दा पनि त्यस्तै भयो भने त के अर्थ भयो?’

‘पछिल्लो समयमा ठुला व्यावसायिक घराना त्यत्ति धेरै प्रभावित भएका छैनन्, अहिले साना व्यवसायी धेरै प्रभावित भएका छन्। त्यत्ति हुँदा पनि काठमाडौँ उपत्यकामा किन राजस्व सङ्कलनले लक्ष्यभन्दा कम उठ्छ? भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भनिएको छ, यदि हो भने यो अपराध नै हो’, यसलाई गम्भीर रूपमा लिन मन्त्री डा. महतले निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading