आजका मुख्य समाचार : उपनिर्वाचनदेखि प्रधानमन्त्रीको भारत भ्रमणसम्म

आजका मुख्य समाचार : उपनिर्वाचनदेखि प्रधानमन्त्रीको भारत भ्रमणसम्म

काठमाडौं : प्रतिनिधिसभामा रिक्त तीन सदस्य चुन्नका लागि मतदान भएको छ। उपनिर्वाचन भएका तनहुँ १, चितवन २ र बारा २ मा मतगणनाको तयारी थालिएको छ।

बाराको शिक्षा तालिम केन्द्र कलैयामा, चितवनमा उद्योग वाणिज्य सङ्घको हल भरतपुरमा र तनहुँमा जिल्ला समन्वय समिति परिसर दमौलीमा मतपेटिका सङ्कलन भइसक्ने निर्वाचन आयोगले जनाएको छ।

मतपेटिका मतगणना स्थलसम्म पुर्‍याए लगत्तै सर्वदलीय बैठक बसेर गणना सुरु हुनेछ। वैशाख १२ गतेसम्म तीनै क्षेत्रको अन्तिम परिणाम आइसक्ने आयोगले जनाएको छ।

आइतबार बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मतदानमा कूल ६० प्रतिशत मत खसेको आयोगले विज्ञप्तिमार्फत जानकारी दिएको छ। बारा २ मा ६४, चितवन २ मा ६३ र सबैभन्दा कम तनहुँ १ मा ५३ प्रतिशत मत खसेको छ।

बारा २ मा गत मङ्सिरको निर्वाचनभन्दा यसपटक बढी मत खसेको छ भने चितवन २ र तनहुँ १ मा कम मत खसेको छ। मङ्सिर ४ मा बारा २ मा ६३ दशमलव ५६ प्रतिशत मत खसेको थियो। चितवन २ मा ६७ दशमलव ६३ र तनहुँमा ५४ दशमलव ३ प्रतिशत मत खसेको थियो।

उपनिर्वाचनमा आचारसंहिता विपरीतका गम्भीर घटना भएका छन्। बारा २ मा करिब आधा दर्जनभन्दा धेरै बुथ सत्ता गठबन्धनले कब्जा गरेको जनमत पार्टी र नेकपा एमालेले आरोप लगाएको छ।

निर्वाचन आयोगबाट अनुमति लिए पनि आफूलाई मतदान केन्द्रमा पुग्नबाट प्रहरीले रोकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले आरोप लगाए। मुख्यमन्त्री, अर्थमन्त्री लगायतको निर्देशनमा प्रहरी प्रमुख र स्थानीय प्रशासनको मिलेमतोमा बुथ कब्जा गरिएको भन्दै राउतले आक्रोश पोखेका छन्।

मतपत्रहरू खुलेआम बाहिर भेटिएको र सत्ता गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई जिताउन आफूलाई प्रहरीले घेराबन्दी गरेको आरोप राउतले लगाए। बाराको देउतल गाउँपालिका ७ मतदान केन्द्रमा शान्तिपूर्ण वातावरण खलबल्याउन खोजेको भन्दै प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो।

चितवनमा लफडा

चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि आक्रमणको प्रयास भएको छ। मतदान चलिरहेका बेला लामिछाने भरतपुर महानगरपालिका–११ नयाँकिरण मावि मतदान केन्द्रमा पुगेपछि समर्थकले नाराबाजी गरेको भन्दै अन्य दलका नेता कार्यकर्ताले विरोध जनाएसँगै मतदान केही समय अवरुद्ध भएको थियो।

त्यसक्रममा आफूमाथि हुलहुज्जत भएको भन्दै लामिछानेले फेसबुक लाइभमार्फत आपत्ति जनाएका थिए। चितवनकै कृष्णपुर मावि केन्द्रमा पनि लफडा भएको थियो। मतदान जारी रहँदा लामिछानेले सामाजिक सञ्जाल र अनलाइनबाट मत मागेको र मतदातालाई प्रभावित बनाएको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ।

नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रुवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका हुन्। नयाँ किरण मावि बुथमा भएको घटनाप्रति नेकपा एमालेनिकट विद्यार्थी सङ्गठन अनेरास्ववियुले आपत्ति जनाएको छ।

अनेरास्वयुविका अध्यक्ष समिक बडालले विज्ञप्ति निकालेर मतदान जारी रहेको बेलामा रास्वपाका उम्मेदवार रवि लामिछानेबाटै निर्वाचन आचारसंहिता विपरीतको गतिविधि भएको भन्दै आपत्ति जनाएका छन्।

निर्वाचन आयोगले भने उपचुनाव शान्तिपूर्ण र उत्साहपूर्वक रूपमा सम्पन्न भएको जनाएको छ। विवाद देखिएका ठाउँमा विवाद निरूपण गरेर मतदान सम्पन्न भएको आयोगले जनाएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले निर्वाचन आयोगले सोधेको स्पष्टीकरणप्रति आपत्ति जनाएका छन्। आफूलाई स्पष्टीकरण सोधिएको विषयको विज्ञप्तिप्रति आपत्ति जनाउँदै मुख्यमन्त्री यादवले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित तवरबाट सम्पन्न गराउनबाट नचुकेको विज्ञप्तिमार्फत नै जवाफ दिएका छन्।

मुख्यमन्त्री यादवलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। त्यस्तै आयोगले भ्वाइस मेसेजमार्फत मत मागेपछि तनहुँ १ का काँग्रेस उम्मेदवार गोविन्द भट्टराईसँग पनि स्पष्टीकरण माग गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतले भ्रमणको निम्तो पठाएको छ। प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्ने योजना बनाए प्रचण्डलाई भारतले औपचारिक रूपमा भ्रमणको मिति तोकेर पत्र पठाएको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री बनेको चार महिना बितिसक्दा पनि विदेश भ्रमण नै हुन नसकिरहेका चर्चाकाबीच अन्ततःप्रचण्डले भारत भ्रमण गर्न लागेका हुन्। भारत भ्रमणका लागी मिति नै तोकेर पत्र आइसके पनि अहिले नै मिति भने सार्वजनिक गर्न नमिल्ने ती अधिकारीले बताए। ‘भ्रमणको मिति तोकेर पत्र आएको छ,’स्रोतले पहिचानसँग भन्यो,‘उच्च सुरक्षा चुनौतीलाई ध्यानमा राखेर एकतर्फी रूपमा मात्रै अहिले नै मिति सार्वजनिक गर्न प्रोटोकलले दिँदैन।’

भारत र नेपालले आफ्नो अनुकूल समयमा एकै पटक मिति सार्वजनिक गर्ने ती अधिकारीले बताए। स्रोतका अनुसार भारत भ्रमणबारे केही दिनमै मिति सार्वजनिक गर्ने तयारी छ।

भ्रमणका क्रममा विभिन्न सम्झौता, ऊर्जा, सडक परियोजना, विकास साझेदार लगायत विषयमा छलफल हुने छ। भारत भ्रमणकै क्रममा यस अघि भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा पनि द्विपक्षीय छलफल हुने छ। दुवै प्रधानमन्त्रीको अनुकूल समयमा वैशाख अन्तिममा भारत भ्रमण हुने छ।

गण्डकीको मुख्यमन्त्री काँग्रेस र माओवादीको दाबी

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा माओवादी र काँग्रेस दुवैले दाबी गरेका छन्। मुख्यमन्त्रीमा दुवै दलले अडान राख्दा आइतबार दाबी पेस हुन सकेन। प्रदेश प्रमुखको कार्यालयले साँझसम्म दाबी नआएको बताएको छ।

एमालेको सरकार ढालेर मुख्यमन्त्री बन्ने सत्ता गठबन्धनको चाहना पुरा हुन अझै केही दिन लाग्ने देखिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाएपछि गण्डकी सरकार कामचलाउको रूपमा छ।

गण्डकी प्रदेशमा आइतबार नै नयाँ मुख्यमन्त्री पाउने अपेक्षा गरिएको थियो। तर माओवादी र काँग्रेसले दाबी नछोड्दा नयाँ मुख्यमन्त्री चयन हुन नसकेको हो। काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले सत्ता गठबन्धनका दलहरूबिचको सहमति अनुसार नै नयाँ सरकार गठन हुने दाबी गरेका छन्। गण्डकीमा काँग्रेस र माओवादीबिच आलोपालो मुख्यमन्त्री बन्ने सहमति भएको थियो।

कम्युनिस्ट मोर्चाको चर्चा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको केही दिनमै समाजवादी कम्युनिस्ट मोर्चा बनाउने घोषणा गरेका छन्। नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा एकीकृत समाजवादी पार्टीले आयोजना गरेको ’नेपाली कम्युनिस्ट आन्दोलन उपलब्धि चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा उनले पुरानो नेकपातिर फर्कनुपर्नेमा जोड दिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीतर्फ लक्षित गर्दै प्रचण्डले तत्कालीन नेकपा एकाध नेताहरूको सनकका कारण दुर्घटनामा परेको बताए। बिचार, राजनीतिक, मूल्य र मान्यताभन्दा बाहिरबाट अराजकता सिर्जना गर्ने कोसिस भइरहेको पनि प्रधानमन्त्री प्रचण्डले बताए।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने जिम्मा कम्युनिस्ट पार्टीको भएको बताए।

विद्युत् उत्पादन घट्यो

नेपालमा विद्युत् उत्पादन घटेको छ। गत वर्ष हिउँदको समयमा भन्दा यो वर्ष २५ देखि ३० प्रतिशतसम्म विद्युत् उत्पादन घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार उत्पादन कम र माग धेरै रहेको छ। यो समस्या १५ दिनमै समाधान हुने कार्यकारी निर्देशक कुलमान घिसिङले दाबी गरेका छन्।

उनले जेठको पहिलो हप्ताबाट विद्युत् निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताए। प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै उनले लोडसेडिङ नभएको दाबी पनि गरे।

तर, विराटनगर करिडोर क्षेत्रमा विद्युत् लाइनमा प्राविधिक समस्या तथा सुक्खायामका कारण उत्पादन घट्दा विद्युत् कटौती भएको उनले स्वीकार गरे।

उद्योगी व्यवसायीले विराटनगर क्षेत्रमा प्राधिकरणले लोडसेडिङ गरेको भन्दै विरोध स्वरूप तालिका प्रकाशन गर्न माग गरेका छन्। बढ्दो सुक्खायामका कारण खोला तथा नदीमा जलसतह घट्दा जलविद्युत् आयोजनाको विद्युत् उत्पादन करिब २५ प्रतिशतको हाराहारीमा सीमित हुन पुगेको छ।

थ्रीस्टार दोस्रो स्थानमा

थ्रीस्टार क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ। त्रिपुरेश्वर स्थित दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा सङ्कटा क्लबलाई ३–० गोलले हराउँदै थ्रीस्टार २१ अङ्क सहित दोस्रो स्थानमा उक्लिएको हो।

आइतबार नै भएको खेलमा हिमालयन शेर्पा र सातदोबाटो यूथ क्लबले बराबरी खेलेका छन्। च्यासल खेल मैदानमा भएको खेलमा दुवै टोलीले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन्।

सातदोबाटोका लागी दीपक सीँ ठकुरीले दुई गोल गरे । शेर्पाका लागी निशान लिम्बु र सुशील राईले एक एक गोल गरे।

एसीसीमा सिंगापुर पराजित

एसीसी प्रिमियर कप क्रिकेटमा युएईले सिंगापुरमाथि २०१ रनको विशाल जित निकालेको छ। जितका लागी युएईले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २७० रनमा समेटियो।

सिंगापुरकालागी मनप्रित सिंले सर्वाधिक ६६ तथा थिलिपान ओमाईदिराईले ५२ रन जोडे। त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ थालेको युएईले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर ४ सय ७१ रन बनाएको थियो। युएईकालागी वृत्य अरविन्दले सर्वाधिक १७४ तथा कप्तान मुहम्मद वासीमले १६० रन जोडे।

जितसँगै ४ अङ्क जोडेको युएई समूह बिको दोस्रो स्थानमा उक्लिएको छ। सिंगापुरले भने लगातार तेस्रो हार बेहोरेको छ। मुलपानी खेल मैदानमा आइतबार भएको अर्को खेलमा ओमानले मलेसियालाई ८ विकेटले हराएको छ।

जितका लागी मलेसियाले दिएको २२८ रनको लक्ष्य ओमानले ४१ दशमलव ४ ओभरमा मात्रै २ विकेट गुमाएर भेट्टायो। ओमानको जितमा जतिन्दर सिंले अविजित रहँदै सर्वाधिक १०१ रनको योगदान गरे। कश्यप प्रजापतिले ६६ तथा जीसन मक्सद ५२ रनमा अविजित रहे।

प्रतियोगिताको शीर्ष चारमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउनेछ। विजेताले आगामी सेप्टेम्बरमा आयोजना हुने एसिया कपमा खेल्दा, शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading