उपनिर्वाचनमा रविको रेकर्ड ब्रेक

उपनिर्वाचनमा रविको रेकर्ड ब्रेक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभामा एक सिट बढाएको छ। गत मङ्सिर ४ गतेको निर्वाचनमा २० सिट ल्याएको रास्वपाले वैशाख १० को उपनिर्वाचनमा थप एक सिट बढाएर २१ पुर्‍याएको छ।

तनहुँ–१ बाट रास्वपाका उम्मेदवार डा. स्वर्णिम वाग्ले र चितवन –२ बाट सभापति रवि लामिछाने निर्वाचित भएसँगै प्रतिनिधिसभामा रास्वपाको २१ सिट पुगेको हो।

गत मङ्सिर ४ गतेको निर्वाचनबाट विजयी लामिछानेको नागरिकता सर्वोच्चले खारेज गरेपछि भएको उपनिर्वाचनबाट उनी पुनः दोस्रो पटक विजयी भए। लामिछानेले यसपटक अघिल्लो पटकको भन्दा पाँच हजार मत बढी पाएका छन्।

गत निर्वाचनमा ४९ हजार ३०० मत पाएका लामिछानेले यसपटक ५४ हजार १७५ मत पाएर आफ्नै रेकर्ड ब्रेक गरेका छन्। यससँगै लामिछाने सबैभन्दा धेरै मतान्तर रहेको र सबैभन्दा धेरै मत पाउने सांसद बनेका छन्।

निर्वाचित भए पछि आयोजित कार्यक्रममा लामिछानेले चितवनको विकासमा आफू लागिपर्ने बताए। चुनावअघि प्रतिस्पर्धी दलहरू चुनावपछि विकासको लागि मित्र बन्ने बताए।

आफ्नो त्रुटिबाट उपनिर्वाचनमा भएको राज्यको खर्च भ्रष्टहरूबाट असुलउपर गर्ने उनले तर्क सुनाए। आफ्नो मुख्य एजेन्डा सुशासन भएको भन्दै लामिछानेले ठुला दलका शीर्ष नेताप्रति लक्षित गर्दै देशलाई कङ्गाल पार्नेलाई नछोड्ने चेतावनी समेत दिए।

लामिछानेका प्रतिस्पर्धी नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ११ हजार ११४ र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत प्राप्त गरे।

भ्रष्टाचारका कारण देश कङ्गाल

सांसदहरूले भ्रष्टाचारका कारण देश कङ्गाल भएको बताएका छन्। प्रतिनिधिसभाको मङ्गलवारको बैठकमा भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक २०७७ माथि बिचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सांसदहरूले सरकारले भ्रष्टाचारीलाई कारबाही गर्ने सङ्कल्प लिनुपर्ने बताए।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारमा भएकाहरूले भ्रष्टाचार गरेको खण्डमा पाँच वर्ष पछि अनुसन्धान गर्न नपाइने नियम हटाउनुपर्ने माग गरे। भ्रष्टाचार नियन्त्रण गर्ने निकाय नै आफै भ्रष्टाचारमा लुप्त भएकाले अहिले देश कङ्गाल भएको उनको भनाई थियो।

काँग्रेस सांसद प्रदीप पौडेलले पहुँचले काम नगर्ने गरी कानुन बनाउनु पर्ने बताए भने राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले भ्रष्टाचार गर्नेको मुटु पनि काम्ने गरी कानुन बनाउनु पर्ने सुनाए।

नेकपा एमालेका सांसद रघुजी पन्तले भने संसद्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दर्शन पाउन पनि नसकिएको टिप्पणी गरे।

उनले प्रधानमन्त्री प्रचण्डको संसद्मा अनुहार हेर्न पनि दुर्लभ भएको बताए। भ्रमणको औपचारिक निम्तो हुँदासम्म भारत भ्रमणबारे संसद्लाई अझै जानकारी नगराएको भन्दै उनले प्रधानमन्त्री प्रचण्डको आलोचना समेत गरे।

कित्ताकाट सजिलो

सरकारले जग्गाको कित्ताकाट अझै सजिलो बनाउने भएको छ। आर्थिक सङ्कट आउनुमा घरजग्गा कारोबार नै मुख्य कारण देखिएपछि गत वैशाख ६ गतेबाट सरकारले जग्गाको कित्ताकाट खुल्ला गरेको थियो।

राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउन मन्त्रीपरिषद् बैठकले अर्थ तथा प्रशासन समितिमा फाइल लैजाने निर्णय गरेको हो। मन्त्री परिषद्को बैठकले काठमाडौँ–तराई मधेस फास्ट ट्र्याकअन्तर्गतको जग्गा प्राप्तिको विषय समेत चाँडै टुङ्ग्याउने निर्णय गरेको भौतिक मन्त्री प्रकाश ज्वालाले जानकारी दिए।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलवार बसेको बैठकले सशस्त्र प्रहरीको नियमावली संशोधन गर्ने निर्णय समेत गरेको छ। कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा गुणस्तरसम्बन्धी प्रस्ताव छलफलका लागि समितिमा पठाउने निर्णय समेत गरेको छ।

सरकारले सवारी लाइसेन्स १० वर्षमा नवीकरण गर्ने व्यवस्था ल्याउने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले ५÷५ वर्षमा गर्नुपर्ने लाइसेन्स नवीकरण अब हरेक १० वर्षमा गरे पुग्ने व्यवस्था लागू गर्ने तयारीमा सरकार रहेको जानकारी दिए।

ट्रायल पास गरी लामो समयसम्म स्मार्ट लाइसेन्स कुरेर बसेकाहरूको समस्या ८ महिनाभित्र अन्त्य गर्ने योजना बनाएको मन्त्री ज्वालाको दाबी छ। सवारी साधनमा इम्बोस्ड नम्बरका विषयमा अङ्ग्रेजीमा मात्रै प्रिन्ट भएकोमा केही आलोचना र गुनासोहरू आएको भन्दै मन्त्रिपरिषद्बाट निर्णय गरेर अङ्ग्रेजी, नेपाली दुवै प्रयोग गर्न पाउने व्यवस्था गरेको उनले बताए।

गण्डकीमा सरकार गठनको आव्हान

गण्डकी प्रदेशमा सरकार गठनका लागि आह्वान गरिएको छ। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ अनुसार यही वैशाख १४ गते दिउँसो ४ बजे भित्रमा सरकार गठनका लागि आह्वान गरेका हुन्।

वैशाख ९ गते नेकपा एमालेका खगराज अधिकारी नेतृत्वको सरकारले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनका लागि प्रक्रिया बढेको हो। ६० सदस्यीय गण्डकी प्रदेशसभामा अब काँग्रेस, माओवादी र एकीकृत समाजवादी मिलेर सरकार बनाउने तयारी छ।

नेपाली काँग्रेसका २७, नेकपा माओवादी केन्द्रका सभामुखसहित ८ र एकीकृत समाजवादीका एक सदस्य छन्। ठुलो दलको हैसियतमा नेपाली काँग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन्। तर माओवादी केन्द्रले आलोपालो सरकारको नेतृत्व गर्नुपर्ने बताउँदै आएको छ।

आयोग गठन

सरकारले मिटर ब्याज पीडितहरूको समस्या समाधान गर्न उच्चस्तरीय जाँच बुझ आयोग गठन गरेको छ। विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गर्दै सरकारले मङ्गलवार राजपत्रमा सूचना प्रकाशित गरेको छ।

सदस्यमा पूर्व नायब महान्यायाधिवक्ता गणेश बाबु अर्याल र पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुबेदी रहने गरी आयोग बनेको गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले जानकारी दिए। आयोगले काम थालेको तीन महिना भित्र रायसहितको प्रतिवेदन गृह मन्त्रालयमा पेस गर्ने छ।

आयोगको सचिवालयमा चाहिने १२ जनासम्म कर्मचारी नियुक्त गर्न सक्नेछन्। चार जना सवारी चालक, २ जना कार्यालय सहयोगी र एक जना उपसचिवलाई आयोगले मागेको खण्डमा गृह मन्त्रालयले व्यवस्थापन गर्नुपर्नेछ।

आयोगको अध्यक्षले सरकारको राज्यमन्त्री सरहको तलब सुविधासँगै पारिश्रमिकको ५० प्रतिशत भत्ता सवारी चालकसहितको सवारी साधन पाउने छ। आयोगको सचिवालय धनुषामा रहने गरी जाँचबुझ गर्ने मन्त्रालयले जनाएको छ।

राष्ट्रपतिको स्वास्थ्य सुधार

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको राष्ट्रपति कार्यालयले जनाएको जनाएको छ। पौडेलको उपचारसँग सम्बन्धित केही परीक्षण भइसकेको र केहीको परीक्षण भइरहेको राष्ट्रपतिको कार्यालयले मङ्गलवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यान्टिबायोटिकका कारण शारीरिक रूपमा केही शिथिलता भएता पनि सामान्य हिँडडुल गर्ने अवस्थामा रहेको परिवारको सदस्यलाई उद्धृत गर्दै आएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स एम्समा भर्ना भएर उपचार भइरहेको छ।

श्रेष्ठको पद रिक्त

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद डा.ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद श्रेष्ठको पद रिक्त भएको जानकारी गराएका हुन्।

रास्वपाको संसदीय दलले पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको र सो निर्णयअनुसार सांसद पद रिक्त हुने सूचना संसद् सचिवालयमा दिएकाले नियमानुसार पद रिक्त भएको सभामुख घिमिरेले सुनाए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग मन्त्री बन्न दुई करोड डिल गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई कारबाही गरेको थियो। श्रेष्ठको स्थानमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने रास्वापले निर्णय गरिसकेको छ।

छुर्पीको बिक्री घट्यो

बजारमा छुर्पीको विक्री कम भएको छ। छुर्पीको भाउ बढेसँगै बिक्री नभएको नेपाल डेरी एसोसिएसनले जनाएको छ। बिक्री नहुँदा स्टक धेरै भएकाले समाधानका लागि पहल गर्ने निर्णय एसोसिएसनले गरेको अध्यक्ष प्रह्लाद दाहालले जानकारी दिए।

अहिले दूध अभाव भएको भन्दै उहाँले धुलो दूध र झोल दूध आयात गर्न तत्काल पहल गर्न आग्रह गरिएको बताए। फ्रेस मिल्कमा लगाइएको अन्त शुल्क हटाउन पनि एसोसिएसनले माग गरेको छ। एसोसिएसनलाई महासङ्घ बनाउने छलफल पनि भएको दाहालले बताए।

दोस्रो कार्यकालका उम्मेदवार बन्ने बाइडेनको घोषणा

अमेरिकी राष्ट्रपति जो बाइडेनले सन् २०२४ मा हुने राष्ट्रपतीय निर्वाचनमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन्। तीन मिनेटको एक भिडियो सार्वजनिक गर्दै बाईडेनले राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका हुन्।

अमेरिकाका ४६ औँ राष्ट्रपति बाइडेनले सार्वजनिक गरेको भिडियोमा गर्भपतनको अधिकार, लोकतन्त्रको संरक्षण, मतदानको अधिकार र सामाजिक सुरक्षालाई महत्त्वपूर्ण विषयका रूपमा चुनावी एजेन्डामा समेटेका छन्।

उनले आगामी पुस्तालाई ‘अधिक वा कम स्वतन्त्रता’ दिने विकल्प मतदातासँग हुने समेत बताए।

बाईडेनको घोषणासँगै अबको राष्ट्रपतिमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँग दोस्रो पटक कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। राष्ट्रपति भएको चार वर्ष पुरा भएको अवसरमा बाईडेनको उक्त घोषणा सार्वजनिक भएको हो।

मलेसियासँग कतार पराजित

एसिसी प्रिमियर कप क्रिकेटमा मलेसियाले कतारमाथि ३ विकेटको जित निकालेको छ। जितकालागि कतारले दिएको २१६ रनको लक्ष्य मलेसियाले ७ विकेटको क्षतिमा पाँच बल अगावै भेट्टायो। मौसममा खराबी आएपछि ३५ ओभरमा छोट्ट्याएको खेलमा मलेसियालाई जित दिलाउन सैयद अजिजले सर्वाधिक ८० रनको योगदान गरे।

कप्तान अहमद फैजले ३३ तथा खिजर हायातले अविजित २५ रन जोडे। त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ थालेको कतारले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २१५ रन बनाएको थियो।

जितसँगै प्रतियोगिताबाट बाहिरिसकेकोे मलेसियाले लिगमा सुखद अन्त्य गरेको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजै भएको खेलमा सिंगापुरमाथि ४ विकेटको जित निकाल्दै कुवेतले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ।

जितकालागि सिंगापुरले दिएको ११४ रनको लक्ष्य पछ्याएको कुवेतले २६ दशमलव ३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो। कुवेतको जितमा अदनान इद्रिसले सर्वाधिक ३८ रनको योगदान गरे। मित भावसारले अविजित २७ तथा यासिन पटेल अविजित २१ रन जोडे।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सिंगापुर निर्धारित ओभरमा अलआउट हुँदै ११३ रनमा समेटियो। जितसँगै समूह बी मा रहेको कुवेतले युएईसँग अङ्क बराबरी गरेको छ। हङकङ ५ अङ्क सहित समूह बीको शीर्ष स्थानमा छ। कुवेत र युएईको समान चार अङ्क छ। हारसँगै सिंगापुर प्रतियोगिताबाट बाहिरिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading