राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले तिर्नु नपर्ने

राष्ट्रपति पौडेलको उपचार खर्च सरकारले तिर्नु नपर्ने

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल भारतमा स्वास्थ्य उपचार गरेर फर्किएको दुई दिन भइसकेको छ।

१३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिएका राष्ट्रपति पौडेलले त्यसको भोलिपल्ट मङ्गलवार उपचार खर्च स्वयं बेहोर्ने चाहना व्यक्त भएको विज्ञप्ति निकालिएको छ।

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले हस्ताक्षर गरेर निकालिएको विज्ञप्तिमा ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयमले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ’ लेखिएको छ।

तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित पौडेल एमाले बाहेक दलको समर्थनमा राष्ट्रपतिमा निर्वाचित भएका भरखरै हुन्। राष्ट्रपतिमा निर्वाचित भए लगत्तै बिरामी परेका पौडेलले शिक्षण अस्पताल महाराजगन्जमा चेकजाँच गराएका थिए।

परिवारको सल्लाह अनुसार पौडेल थप उपचारका लागि भारत गएका थिए। उनको उपचारमा लागेको खर्च सार्वजनिक भइसकेको छैन। तर, उनले आफ्नो उपचारमा लागेको खर्च आफैँ बेहोर्छु भनेका छन्।

पौडेल निर्वाचन क्षेत्रमा उपनिर्वाचन सम्पन्न भइसकेको छ। उपनिर्वाचनबाट काँग्रेसले एक सिट गुमाउन पुगेको छ। चुनाव जितेको पाँचै महिनामा काँग्रेसले हार बेहोरेको छ। काँग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टीमा गएका अर्थविद् स्वर्णिम वाग्लेले चुनाव जितेका छन्।

चुनाव प्रचारमा पुगेका नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पार्टीका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउन वाग्ले टुरिस्ट उम्मेदवार भएको बताएका थिए। थापाको टुरिस्ट उम्मेदवारको अभिव्यक्तिलाई काँग्रेस कार्यकर्ताले नारा नै बनाएका थिए।

रास्वपाका वाग्ले निर्वाचित क्षेत्रका पौडेलले राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्नो सवारीमा जनताले दुख नपाउने व्यवस्था गरेका थिए। अहिले शक्तिमा हुनेले राज्य कोषबाट सहुलियत लिन नहुने व्यवहारमा कार्यान्वयन पौडेलले गरेका छन्।

राष्ट्रपति पौडेललाई महामन्त्री थापाले भारतमा उपचार गर्दा लागेको खर्च आफैँ बेहोर्न सुझाव दिएका थिए।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन काँग्रेसले गरेको कार्यक्रममा थापाले सामान्य नागरिकको उपचार जस्तै राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैँ बेहोर्नुपर्ने बताएका थिए। उनले यसले राम्रो सन्देश जाने उल्लेख गरेका थिए।

राष्ट्रपति पौडेलका प्रेस संयोजक कार्कीले निकालेको विज्ञप्ति अनुसार अब पौडेलको उपचारमा लागेको खर्च सरकारले तिर्नुपर्ने छैन।

नेपालमा उपचार सम्भव नभएपछि भारतमै उपचार गरेर आइतबार नै स्वदेश फर्किएका प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीको खर्च भने सरकारले बेहोरेको छ।

राष्ट्रपति पौडेलको पनि उपचार खर्च सरकारले बेहोर्ने थियो। तर, पौडेल आफैँले आफ्नो उपचारमा लागेको खर्च सरकारलाई नबोकाउने बताएका हुन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading