संसद् अधिवेशन आव्हान, काँग्रेस संस्थापन इतर दुई मन्त्रालयमा सीमित

संसद् अधिवेशन आव्हान, काँग्रेस संस्थापन इतर दुई मन्त्रालयमा सीमित

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को अधिवेशन आव्हान गरेका छन्। पौडेलले वैशाख २४ गते दिउँसो ४ बजेका लागि संसद् अधिवेशन आव्हान गरेका हुन्। संवैधानिक व्यवस्था अनुसार सरकारले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नु पर्नेछ।

सत्तारुढ गठबन्धनले वैशाख २४ गतेका लागि सङ्घीय संसद् अधिवेशन आह्वान भइसकेकाले बजेट पूर्वका छलफल, सरकारका नीति तथा कार्यक्रमलाई एकरुपतमा ल्याउने विषयमा छलफल गरेको छ।

काँग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बजेट, बजेट पूर्वको तयारीका विषयमा गठबन्धन दलहरूबिच छलफल भएको जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ कुरेर बसेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा सहभागी गराउनेबारे गठबन्धन दलमा छलफल भए पनि निर्णय नभएको नेताहरूले बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सरकारमा ल्याउनेबारे प्रधानमन्त्रीले नै टुङ्गो लगाउने लेखकले बताए। उनले गठबन्धनमा कुनै गडबड नभएको दाबी समेत गरेका छन्।

थप तीन मन्त्री नियुक्त

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप तीन मन्त्रालयमा मन्त्री नियुक्त गरेका छन्। नेपाली काँग्रेसबाट सिफारिस थप तीन जना मन्त्रीमा नियुक्त भएका हुन्। काँग्रेसको भागमा परेका ८ मन्त्रालय मध्ये ५ मन्त्रालयमा यसअघि नै मन्त्री नियुक्त भइसकेका छन्।

सभापति शेरबहादुर देउवाले इतरपक्षलाई दुई मन्त्रीमा मात्रै सीमित गराइदिएका छन्। देउवाले आफ्ना पक्षका ६ जनालाई मन्त्री बनाउँदा इतर पक्षका २ जनाले मात्रै अवसर पाएका छन्।

इतरपक्षबाट पार्टी उपसभापति धनराज गुरुङ कानुन मन्त्री बनेका छन्। इतरपक्षकै डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन्।

प्रधानमन्त्री प्रचण्डले बुधवार नवौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दा संस्थापनका मोहन बस्नेत स्वास्थ्य मन्त्री बनेका छन्। प्रधानमन्त्रीको सिफारिसमा तीन मन्त्रीलाई नियुक्त गरेर कार्यभार तोकिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

देउवा पक्षबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशसरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, एनपी साउद परराष्ट्र, सीता गुरुङ सहरी विकास र मोहनबहादुर बस्नेत स्वास्थ्य मन्त्री बनेका छन्।

नवौँ पटक विस्तार गर्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। खानेपानी तथा सरसफाइ र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले नै राखेका छन्।

मन्त्रिपरिषद् २२ सदस्यीय भएको छ। संविधानमा मन्त्रिपरिषद् २५ सदस्यीय हुने व्यवस्था छ। प्रधानमन्त्री प्रचण्डले अब दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्न पाउनेछन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading