मन्त्री नियुक्तिले काँग्रेसमा असन्तुष्टि, देउवाको आलोचना

मन्त्री नियुक्तिले काँग्रेसमा असन्तुष्टि, देउवाको आलोचना

काठमाडौं : नवनियुक्त नेपाली काँग्रेसका तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। नवनियुक्त मन्त्रीहरूले बिहीबारबाट पदभार ग्रहण पनि गरेका छन्।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्रीहरूले पहिलो निर्णयमा हस्ताक्षर गर्नेदेखि प्रतिबद्धता जनाउने र कर्मचारीलाई निर्देशन दिने काम गरेका छन्।

शपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानुन निर्माणको प्रक्रियालाई तीव्रता दिने बताए। उनले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानुनलाई प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता जनाए।

आफू स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध रहेको भन्दै न्याय प्रणालीलाई छिटो छरितो बनाउने विषयमा सदा ध्यान दिएर काम गर्ने मन्त्री गुरुङले बताए।

उनले कुनै पनि क्षेत्रमा भएको भ्रष्टाचारमा कसैलाई पनि छुट नहुने बताए। ‘भ्रष्टाचारका सन्दर्भमा कानुन भन्दा माथि कोही पनि हुँदैन,’उनले भने,‘कार्यपालिका भित्रको अनियमितता होस या कुनै पनि क्षेत्रको होस, कसैलाई पनि छुट हुँदैन।’

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य सामग्री प्रयोगबारे चासो राखेका छन्। मन्त्रालय पुगेर पद बहाली गरेका मन्त्री बस्नेतले स्वास्थ्य सामग्री प्रयोगबारे एक साता भित्रमा रिपोर्ट दिन निर्देशन दिएका छन्।

‘जनशक्तिको बारेमा पनि एक पटक बसेर छलफल गरौँ, कुन प्रक्रियाबाट अगाडि बढाउन सक्छौ,’मन्त्री बस्नेतले भने,‘स्वास्थ्य सामग्री जति खरिद भएको छ, त्यति प्रयोगमा आएको छैन,कुन कुन ठाउँमा थन्किएको छ, त्यसको हिसाब एक हप्ताभित्र खोज्नुहोस्।’

स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने, अस्पतालहरूमा उपचार सेवा र उपलब्ध साधन स्रोतको अधिकतम उपयोग भए नभएको अनुगमन गर्न अतिरिक्त स्वास्थ्य सचिवको नेतृत्वमा अनुगमन समिति बनाउने निर्णय मन्त्री बस्नेतले गरेका छन्।

मन्त्री बस्नेतले नियमित सेवाका अलावा कोरोना, डेंगु लगायतका सरुवा रोग फैलिन नदिन प्रदेश र स्थानीय तहका साथै दातृ निकायको समन्वयमा स्वास्थ्य उपचार विशेष कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेका छन्।

मन्त्रालयले गर्ने हरेक कार्यको पारदर्शिता कायम गरी कर्मचारीको कार्यसम्पादनको प्रभावकारिताका आधारमा सरुवा तथा स्तरोन्नतिको अवसर प्रदान गर्ने उनले बताए।

स्वास्थ्य बिमा कार्यक्रममा सर्वसाधारण नागरिकसमेतको सहज पहुँच र सुविधाका लागि सरलीकृत गर्न आवश्यक भएकाले दातृ निकायसमेतको सहभागिता जुटाई स्वास्थ्य संस्थामार्फत स्वास्थ्य बिमाको सेवालाई थप व्यवस्थित, प्रभावकारी र विश्वसनीय बनाउने निर्णय मन्त्री बस्नेतले गरेका छन्।

नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुद क्षेत्रमा भएका समस्यालाई निरूपण गर्दै यस क्षेत्रको विकासमा दिनरात मेहनत गर्ने बताएका छन्।

उनले पदभार ग्रहण गर्दै खेलकुद क्षेत्रमा भएका अभावलाई अध्ययन गरेर अन्तर्राष्ट्रिय जगत्मा देशको नाम उच्च बनाउने गरी काम गर्ने बताए। मन्त्री लिम्बूले क्रिकेट खेल मात्र नभई अन्य खेलले पनि नेपाललाई चिनाउन सक्छन् भन्नका लागि उपयुक्त वातावरणको सिर्जना गर्ने उल्लेख गरे।

मन्त्री लिम्बूले क्रिकेट खेलले ऐतिहासिक सफलता पाएको भन्दै यस खेलका लागि चाहिने आवश्यक भौतिक पूर्वाधारको विकासमा कुनै कसर बाँकी नराख्ने बताए।

देउवाको आलोचना

नेपाली काँग्रेसभित्र मन्त्री छनोटको विषयमा सभापति शेरबहादुर देउवाको आलोचना भएको छ। मन्त्री चयनमा पार्टीभित्र सन्तुलन र समावेशी नभएको भन्दै बिहीबार बसेको पार्टी पदाधिकारी बैठकमा नेताहरूले सभापति देउवाको आलोचना गरेका हुन्।

सहमहामन्त्री जीवन परियारले सरकारमा काँग्रेसबाट दलित, मधेसी र पिछडिएका क्षेत्रको प्रतिनिधित्व नभएको भन्दै आक्रोश व्यक्त गरे। परियारको कुरा सुनेपछि देउवाले गठबन्धन सरकारमा धेरै मन्त्रालय नपाएकाले सबैलाई समेट्न नसकेको जवाफ दिएका नेताहरूले बताएका छन्। काँग्रेसबाट आठ जना मन्त्री सरकारमा सहभागी भएका छन्।

उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा काँग्रेस सङ्घीय सरकारमा सामेल छ। जसमा एक जना महिला र ३ जना आदिवासी जनजाति कलस्टरबाट मन्त्री बनेका छन् भने बाँकी ४ जना खस आर्यबाट मन्त्री छन्। काँग्रेसले मधेसी, दलित, पिछडिएका क्षेत्र, थारु र मुस्लिम कलस्टरबाट काँग्रेसले एक जनालाई पनि मन्त्री बनाएको छैन।

रास्वपाले शुक्रवार निर्णय गर्ने

सरकारमा सहभागी हुने नहुने निर्णय गर्न शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक बस्ने भएको छ। बैठकले सरकारमा सहभागी हुने या प्रतिपक्षमा बस्ने निर्णय गर्ने रास्वपा संसदीय दलका सचेतक सन्तोष परियारले जानकारी दिए।

सत्तारुढ गठबन्धन दलले रास्वपालाई सरकारमा सहभागी गराउने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading