रहेनन् जिउँदो सहिद मुकेश, बनेपामा शोक बिदा

रहेनन् जिउँदो सहिद मुकेश, बनेपामा शोक बिदा

काठमाडौँ : गणतन्त्र ल्याउने आन्दोलनका क्रममा गोली लागेर घाइते भएका मुकेश कायस्थको निधन भएको छ।

काभ्रे बनेपाको तीन दोबाटोमा २०६२ चैत २७ गते कन्चटमा गोली लागेर अर्थचेत अवस्थामा जीवन बिताइरहेका कायस्थको निधनले भएको हो।

१७ वर्ष १ महिना अर्ध चेत अवस्थामा जीवन बिताएका कायस्थको बनेपाको शिरमेमोरियल अपतालमा वैशाख २७ गते बेलुका ६ बजेर १३ मिनेट जाँदा निधन भएको भन्दै बनेपाका राजनीतिक दलहरूले शोक व्यक्त गरेका छन्।

राजनीतिक दलहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न कायस्थले पुर्‍याएको योगदानको कदर गर्दै जिउँदो सहिद कायस्थलाई राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न सरकारसँग माग गरेका छन्।

बनेपा नगरपालिकालाई बिहीबार नगरपालिकाभर शोक बिदा दिन र कायस्थको दाहसंस्कारसम्मको सम्पूर्ण खर्च बेहोर्न राजनीतिक दलहरूले नगरपालिकालाई अनुरोध गरेका छन्।

नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले शोक वक्तव्य निकालेर राष्ट्रिय सम्मानका साथ सहिद घोषणा गर्न सरकारसँग माग गरेका हुन्।

बनेपा नगरपालिका वडा नं ८ निवासी कृष्णमान कायस्थ र मिरा कायस्थका छोरो मुकेश २०४८ साल भदौ ९ गते जन्मिएका हुन्। देशमा बहुदलीय व्यवस्था आएको समयमा जन्मिएका मुकेशले १४ वर्षकै उमेरमा गणतन्त्र ल्याउने आन्दोलनमा सक्रिय सहभागिता जनाए।

तर प्रहरीले दागेको बन्दुकबाट फुस्केको गोली उनकै कन्चटमा लाग्यो। अर्थ चेत भएर ढले उनी। १७ वर्ष १ महिनासम्म परिवारले स्वास्थ्य लाभका लागि निरन्तर उपचार गरायो। २०८० साल वैशाख २७ गते ३२ वर्षको उमेरमा अल्पायुमा निधन भयो।

मुकेशको निधनमा बनेपा नगरपालिकाले नगर कार्यपालिकाको प्राङ्गणमा रहेको राष्ट्रिय झन्डा आधा झुकाई नगर कार्यपालिकाको कार्यालय र मातहतका वडा कार्यालय तथा स्वास्थ्य केन्द्रहरूमा शोक बिदा दिएको जनाएको छ।

कायस्थको श्रद्धाञ्जली सभा र अन्त्येष्टि कर्म सम्पन्न गर्न लाग्ने खर्च नगरपालिकाले व्यवस्था मिलाउने प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाइले जानकारी दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading