रेसमको पार्टी सरकारबाट बाहिरिने सङ्केत

रेसमको पार्टी सरकारबाट बाहिरिने सङ्केत

काठमाडौं : सर्वोच्च अदालतले टिकापुर हत्याकाण्डमा रेसम चौधरीलाई जन्मकैदको फैसला सदर गरिदिए पछि नागरिक उन्मुक्ति पार्टी सरकारसँग रिसाएको छ।

यसअघि चौधरीलाई रिहा गर्ने सर्तसहित सरकारमा गएको यो पार्टी अदालतको पछिल्लो आदेशको भोलिपल्ट देखि नै सडक सङ्घर्षमा उत्रिएको छ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा एक मन्त्रालय लिएको नागरिक उन्मुक्तिले अबको तीन दिनभित्र टिकापुर घटनालाई राजनीतिक मुद्दा मानेर चौधरीलाई रिहा गर्ने प्रक्रिया नथाले सरकारबाट बाहिरिने सङ्केत गरेको छ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने, चौधरीलाई रिहा गर्नेसम्बन्धी विधेयक अघि बढाउने लगायतका काम सरकारले नगरे सरकारबाट बाहिरिन बाध्य हुने उपाध्यक्ष लाक्पा तामाङले जानकारी दिए।

‘सडक, सदन र सरकार तीनै तहबाट आन्दोलनको तयारी गरिरहेका छौ,सम्भवतः पार्टीभित्र सरकारबाट बाहिरिने कुरा भइरहेको छ,’उनले भने,‘नैतिकताको आधारमा मन्त्रीले राजीनामा दिएर सबै जना सडकमा आउनुपर्छ भन्ने पार्टीमा बहस भइरहेको छ, निर्णय भइसकेको छैन।’

रेसम चौधरी जेल मुक्त नहुने

नागरिक उन्मुक्तिले जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा गरेको छ। तर टिकापुर हत्याकाण्डमा जन्मकैदको सजाय पाएर जेल जीवन बिताइरहेका रेसम चौधरीले भने सर्वोच्चको फैसला स्वीकार गर्नुको विकल्प नरहेको बताएका छन्।

सर्वोच्चले आफूलाई जन्मकैदको फैसला सदर गरेपछि बुधवार विज्ञप्ति निकालेर चौधरीले अदालतले गरेको फैसलामा आफूलाई न्यायिक नभए पनि स्विकार्नुको विकल्प नरहेको बताएका हुन्।

अहिले टीकापुर घटनाको फैसलालाई अनर्गल बनाउँदै जथाभाबी सामाजिक सञ्जालमा जे पायो त्यही पोस्ट नगर्न समेत चौधरीले अनुरोध गरेका छन्।

अभियुक्त स्वयमले अदालतको आदेश स्वीकार गर्दा पार्टीले आन्दोलन गर्नु भनेको अस्वीकार गर्नु होइन र? भन्ने प्रश्नमा उपाध्यक्ष तामाङले पूर्णरुपमा अस्वीकार नगरेको तर अन्याय भएको जवाफ दिएका छन्।

‘उहाँ (रेसम) त अहिले पीडामै हुनुहुन्छ, उहाँले सर्वोच्चको आदेश स्वीकार गर्नु भएको छ, फेरि सर्वोच्चमा पुनरावेदन गर्न उहाँले जोड दिइरहनु भएको छ,’तामाङले भने,‘तर पार्टीले भने यतिबेला शान्तिपूर्ण आन्दोलनमा जाने भनेर तयारी गरिरहेको छ।’

रेसम अहिले डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका छन्। उनकी श्रीमती रञ्जिता श्रेष्ठ चौधरी भूमिसुधार मन्त्री बनेकी छन्। सर्वोच्चले जिल्ला र उच्च अदालतको आदेशलाई सदर गरेपछि सरकारमा बस्ने कि बाहिरिने भन्नेमा रेसमको पार्टी भने अलमलमा परेको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading