अर्थमन्त्री महतले किन पढेनन् बजेटका ६ बुँदा?

अर्थमन्त्री महतले किन पढेनन् बजेटका ६ बुँदा?

काठमाडौँ : अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा क्षेत्रका ६ बुँदा पढ्दै नपढी बजेट भाषण गरेका छन्। सङ्घीय संसद्मा सोमबार प्रस्तुत आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यमा अर्थमन्त्री महतले पढ्दा पढ्दै पेज ४२ पढ्नै छुटाएका हुन्।

बुँदा नम्बर १९८ बाट सुरु भएको शिक्षाका विषयमा पेज नम्बर ४२ बाट सुरु भएको बुँदा नम्बर २०८ देखि २१२ सम्म मन्त्रीले पढ्न छुटाए। मन्त्री महतले विषयगत र विद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने भन्ने पढ्न छुटाए। दरबन्दी नभएका माध्यमिक तथा आधारभूत विद्यालयमा अङ्ग्रेजी, गणित र विज्ञान विषय शिक्षकको व्यवस्था गर्न रु. ३ अर्ब ६९ करोड विनियोजन गरेको छु भनेनन्।

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यार्थी, विद्यालय र शिक्षक सङ्ख्याको आधारमा विद्यालयको भौतिक पूर्वाधार विकासमा खर्च गर्न स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराइनेछ। विद्यार्थी सङ्ख्या, भौगोलिक अवस्थिति लगायतका मापदण्डका आधारमा विद्यालय गाभ्न स्थानीय तहलाई प्रोत्साहन गरिनेछ’ भन्ने बुँदा अर्थ मन्त्री महतले पढेनन्।

काठमाडौँमा रहेको बुढानीलकण्ठ स्कुल र पोखरामा रहेको गण्डकी बोर्डिङ स्कुलको सञ्चालन मोडालिटी अवलम्बन गरी शैक्षिक गुठीमार्फत धनकुटा, बर्दिबास, तानसेन, सुर्खेत र डडेलधुरामा एक एकवटा नमुना आवासीय सामुदायिक विद्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन र पूर्व तयारीका कार्य अगाडि बढाइने बजेट पुस्तिका छ, तर मन्त्री महतको भाषणमा छैन।

बजेट पुस्तिकामा भएको तर, अर्थ मन्त्री महतले छुटाएको अर्को बुँदा ‘विद्यालय भवनको भूकम्पपछिको पुनर्निर्माणका बाँकी कार्य आगामी वर्ष सम्पन्न गरिनेछ। ऐतिहासिक त्रिचन्द्र कलेजको पुनर्निर्माण गर्न बजेट छुट्टाएको छु। महेन्द्र रत्न क्याम्पस लगायत भूकम्पबाट क्षतिग्रस्त ३८ वटा क्याम्पसहरूको पुनर्निर्माण प्रक्रिया अगाडि बढाइनेछ’ रहेको छ।


‘सबै स्थानीय तहमा प्राविधिक तथा व्यावसायिक शिक्षाको पहुँच विस्तार गरिनेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक शिक्षालयहरू प्रदेश सरकारबाट सञ्चालन गर्ने गरी हस्तान्तरण गरिनेछ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्लाई सीप परीक्षण, प्राविधिक शिक्षाको पाठ्यक्रम विकास, गुणस्तर र मापदण्ड निर्धारणका कार्यमा केन्द्रित गरिनेछ’ भन्ने पनि मन्त्री महतले पढ्न छुटाए।

मन्त्री महतले ‘प्राविधिक विषय तर्फ छात्रवृत्तिमा उच्च शिक्षा हासिल गरेका विद्यार्थीलाई सामुदायिक शैक्षिक संस्था वा स्थानीय तहमा अनिवार्य रूपमा दुई वर्ष सेवा गर्ने गरी परिचालन गरिनेछ’ भन्ने बुँदा पनि पढेनन्।

महतले प्रस्तुत गरेको भाषण र अर्थ मन्त्रालयले सार्वजनिक गरेको बजेट पुस्तिकामा शिक्षाका ६ बुँदा फरक परेका हुन्। पेज नम्बर ४० बाट सुरु भएको शिक्षा बजेट अन्तर्गत मन्त्री महतले पेज नम्बर ४२ नपढी एकै पटक ४३ नम्बर पेज पढ्दा शिक्षाका ६ बुँदा छुटे।

अर्थ मन्त्रालयले बजेट पुस्तिकामा भए पछि त्यो कार्यक्रम बजेटमा समेटिएकै रूपमा बुझ्नु पर्ने बताएको छ।

बजेट १७ खर्ब ५१ अर्बको : ४ खर्ब ५२ अर्ब ७५ करोड ऋण खोज्नु पर्ने

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading