संसदमा गाईजात्रा, प्रधानमन्त्रीलाई र्‍याखर्‍याखती

संसदमा गाईजात्रा, प्रधानमन्त्रीलाई र्‍याखर्‍याखती

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा गाईजात्रा भएको छ। संसदीय अभ्यासलाई नै विकृत बनाउने प्रयास भएको छ। बैठकका सभामुख देवराज घिमिरेले विषय र परिस्थितिको गाम्भीर्यतालाई ख्याल नगरेको आरोप लागेको छ।

बैठकमा जो उठेर बोल्न समय माग गर्छ, उसलाई समय दिँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड झन्डै आधा घण्टा रोष्ट्रममा उभिएर बस्नु परेको छ। प्रधानमन्त्री प्रचण्डले जवाफ दिइरहँदा प्रतिपक्षका सांसद उठेर विरोध जनाएपछि सत्तापक्षका सांसदहरूले जवाफी प्रतिकार गर्ने प्रयास गरेका छन्।

संसद्मा सत्ता र प्रतिपक्षी सांसदको दोहोरी चलेपछि सभामुख घिमिरेलाई बैठक चलाउन नै हम्मेहम्मे परेको छ। नागरिकता विधेयक र भारत भ्रमणलाई दिएर प्रतिपक्षी सांसदहरूले प्रधानमन्त्री प्रचण्डलाई र्‍याखर्‍याखती नै पारेका छन्। प्रधानमन्त्री प्रचण्ड नागरिकता विधेयक र सीमा विवादका कारण प्रतिपक्षी सांसदहरूको निशाना मै परेका छन्।

प्रधानमन्त्रीले जवाफ दिइरहँदा नियमापत्ति जनाउने सांसदलाई समय दिने संसदीय अभ्यास रहेको छ। तर, संसदीय अभ्यासलाई सभ्य र व्यवस्थित बनाउन प्रधानमन्त्रीले जवाफ दिइरहेको समयमा अन्य सदस्यलाई आफ्नो आसनमा बस्न आग्रह गर्नुपर्ने भए पनि सभामुखले सांसदलाई बोल्न समय दिएका छन्।

प्रधानमन्त्रीलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन समय दिइसकेपछि बिचमै रोकेर अन्य सांसदलाई समय दिएर सभामुख संसदीय अभ्यास विपरीत चलेको आरोप पनि लागेको छ।

नागरिकता विधेयकमा चर्काचर्की

सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको नागरिकता विधेयकलाई लिएर संसदमा चर्काचर्की परेको छ।

पुरानै नागरिकता विधेयक संसदमा छलफलै नगरी मन्त्रीपरिषद्बाट निर्णय गर्दै राष्ट्रपतिसमक्ष पुर्‍याएर प्रमाणीकरण गराएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीको आलोचना गरेपछि संसदमा प्रधानमन्त्री र नेताहरूबिच चर्काचर्की परेको हो।

विधेयकको विषयमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा सांसदहरूले विरोध जनाएपछि प्रधानमन्त्री प्रचण्ड अलमलमा परे।

प्रधानमन्त्री प्रचण्डले प्रस्टोक्ति दिँदै गर्दा एमाले सांसद रघु जी पन्तले नियमापत्ति जनाएपछि सत्ता पक्ष र प्रतिपक्षबिच मुठभेडको स्थिति उत्पन्न भयो।

सभामुखलाई बैठक सम्हाल्न नै धौधौ पर्‍यो। करिब आधा घण्टा रोष्ट्रममा उभिएर सांसदहरूको चर्तिकला हेरेका प्रधानमन्त्री प्रचण्डले विवाद गर्न नखोजेको भन्दै आफूलाई तर्क गर्न दिन सांसदहरूसँग अनुरोध गरे।

नागरिकता विधेयक प्रमाणीकरण गर्ने केन्द्र सरकारको कदममा मधेस प्रदेश सरकारले भने साथ दिएको छ। पारित भएको नागरिकता विधेयक फेरी अड्काउन खोजेको भन्दै सोमबारको प्रदेशसभा बैठक सुरु भए लगत्तै सांसदहरू उठेर विरोध जनाएपछि सभामुख रामचन्द्र मण्डलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद उपेन्द्र महतोलाई बोल्न समय दिए। महतोले नेपाली नागरिकलाई अनागरिक बनाई राख्न केन्द्रमा विभिन्न राजनीतिक दलले नाटक मञ्चन गरिरहेको भन्दै विरोध जनाए।

सांसद रामअशिष यादवले जन्मसिद्धका सन्तानलाई पनि नागरिकता दिने महत्त्वपूर्ण विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्दा प्रतिपक्षी दलले विरोध गरिरहेकोमा आपत्ति जनाए।

नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले रोक लगाएको विरोधमा धनुषाको महेन्द्रनगरमा प्रदर्शन समेत भएको छ।

सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न आदेश दिएर लाखौँ नेपालीको भविष्यसँग खेलबाड गरेको भन्दै महेन्द्रनगरबासीले आन्दोलन सुरु गरेका हुन्। उनीहरूले पूर्व पश्चिम राजमार्गमा टायर बालेर सवारी साधन समेत ठप्प पारेका थिए।

भ्रमण फितलो भएको टिप्पणी

नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण फितलो भएको टिप्पणी गरेको छ। एमालेले छिमेकी देशको भ्रमणमा प्रोटोकल समेत मिलाउन नसकेको भन्दै प्रधानमन्त्रीको आलोचना गरेको छ।

प्रधानमन्त्रीको भारत भ्रमणबारे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रमण अहिले सम्मकै फितलो भ्रमण भएको टिप्पणी गरेका हुन्। प्रतिनिधिसभाको बैठकमा अध्यक्ष ओलीले भ्रमणका क्रममा प्रोटोकल समेत मिलाउन नसकेको भन्दै प्रचण्डको आलोचना गरे।

प्रचण्डले आफ्नो भ्रमण अबिस्मणीय रहेको दाबी गरिरहेका बेला ओलीले नेपालको शिर उँचो बनाउने गरी प्रस्तुत हुन नसकेको बताए। ओलीले १४६ वर्षसम्म भोगचलन गरेको नेपालको जमिन आफ्नो भन्न नसकेको बताउँदै प्रधानमन्त्री चट्टान जस्तै उभिन नसकेको आरोप लगाए। ओलीले दल अदलबदल गरेर प्रधानमन्त्री बनेको भन्दै प्रचण्डलाई यस्तै दिन नआउने चेतावनी पनि दिए।

सरकार प्रतिपक्षी दलहरूको घेराबन्दीमा

भ्रमणको प्रोटोकल मिलाउन नसकेका प्रधानमन्त्री प्रचण्डले गेरु वस्त्र लगाएर मन्दिर प्रवेशको भने प्रोटोकल मिलाएको भन्दै संसदमा व्यङ्ग्य समेत भएको छ। संसद्मा प्रधानमन्त्री प्रचण्डले मन्दिर प्रवेशको प्रोटोकलका कारण गेरु वस्त्र लगाउनु परेको प्रस्टीकरण दिएका थिए।

प्रधानमन्त्री प्रचण्डले भने भारत भ्रमणका क्रममा आफूलाई अमेरिकी राष्ट्रपति पछिकै सबैभन्दा ठुलो सम्मानका साथ स्वागत गरिएको दाबी गरेका छन्।

भ्रमणका क्रममा विदेश राज्यमन्त्रीले स्वागत गरेपछि नेपाली प्रधानमन्त्रीको हैसियत कहाँनेर पुग्यो भनेर विभिन्न टीकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले ठुलो सम्मानका साथ स्वागत गरिएको दाबी गरे।

एमाले अध्यक्ष ओलीले भने भारतले प्रचण्डलाई नभई नेपालको प्रधानमन्त्रीलाई हेपेको रूपमा लिएर चिन्ता चाहेर गरेको बताएका थिए। उनले प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा १५ वटा राँगा आएको मात्रै उपलब्धि भएको आरोप पनि लगाए।

मुर्रा राँगाले हङ्गामा

संसदमा मुर्रा राँगाले हङ्गामा मच्चाएको छ। भारतले नेपाललाई दिने भनिएको मुर्रा जातको राँगाले संसदमा हङ्गामा मच्चाएको हो।

प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बारेमा जानकारी दिँदा भारतले नेपाललाई दिने मुर्रा जातको राँगाबारे बताएपछि विपक्षी दलका सांसदहरूले सो विषय प्रधानमन्त्री प्रचण्डतर्फ नै लक्षित गरे।

जुन कुरा प्रधानमन्त्रीले बोल्दा रमाइलो माहौल भयो, त्यही कुरा प्रतिपक्षी सांसदले बोल्दा भने हङ्गामा भयो। राष्ट्रिय स्वतन्त्र पार्टीका रास्वपाका सांसद शिशिर खनालले प्रधानमन्त्रीको भारत भ्रमणबारे प्रश्न सोध्ने क्रममा भैँसी चढेर आएको भनेपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उक्त शब्द असंसदीय भएको भन्दै रेकर्डबाट हटाउन माग गरे।

संसदमा होहल्ला भएपछि सभामुख घिमिरेले ’भैँसी चढेर आएको’ भन्ने शब्द रेकर्डबाट हटाउन रुलिङ नै गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading