समाजवादी मोर्चा घोषणा : ११ वर्षपछि प्रचण्ड र विप्लव एउटै कित्तामा

समाजवादी मोर्चा घोषणा : ११ वर्षपछि प्रचण्ड र विप्लव एउटै कित्तामा

काठमाडौं : सरकार र सरकारबाहिर रहेका चार दलले समाजवादी मोर्चा घोषणा गरेका छन्। राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा समाजवादी मोर्चा घोषणा गर्दै चार दलका शीर्ष नेताहरूले १५ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेका छन्।

दलहरूले समाजवादी मोर्चाको नेतृत्वमा आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको मान्यताअनुरूप हुने सहमति गरेका छन्। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पाटी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार ओटा पार्टी मिलेर समाजवादी मोर्चाको घोषणा भएको हो।

प्राप्त उपलब्धि खतरामा पर्न नदिन सङ्घर्ष नै गर्ने घोषणा नेताहरूले गरेका छन्। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पार्टी भने मोर्चामा सहभागी भएको छैन भने प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा महासचिव विप्लव ११ वर्ष पछि पुनः एउटै कित्तामा उभिएका छन्।

काँग्रेस र एमाले पछि तेस्रो शक्ति बनाउने गरी समाजवादी मोर्चा निर्माण गरिएको नेताहरूले बताएका छन्। प्रतिनिधिसभामा माओवादीका केन्द्रका ३२, नेकपा एकीकृत समाजवादीका १० र जसपाका १२ सांसद छन्। चार दलको मोर्चा बनेसँगै सांसदको सङ्ख्या ५४ पुगेको छ।

मोर्चा घोषणा कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनका विरुद्ध नयाँ लडाई छेड्ने बताए। ‘मोर्चा कसैका विरुद्ध परिलक्षित छैन,’प्रचण्डले भने,‘सबैलाई समेटेर नयाँ शिराबाट आफ्नै कमजोरीको समीक्षा गर्दै त्यसबाट पाठ सिक्दै समाजवादको नयाँ युगतिर नेपाललाई लिएर जाने सङ्कल्पका साथ यो गठन भएको हो।’

उनले नेकपा गठनको परिस्थितिलाई स्मरण गर्दै एमालेसँगको पार्टी एकता गरेर अलि हतार गरिएको हो कि भन्ने महसुस गरिएको बताए। ‘नेकपा बचाउन सकिएन। अहिले म कसैलाई दोष दिन चाहँदिन तर एकपटक ऐतिहासिक रूपले समीक्षा गर्नु जरुरी छ। पार्टी एकता गर्ने हतारो पो भएछ कि? मोर्चा बनाउनुपर्थ्यो कि?’ उनले भने, ‘मोर्चाको बाटोबाट नगएर फड्किएर जाँदा दुर्घटना हुन सक्छ। अब त्यसबाट पाठ सिकेर अघि बढेकाले मोर्चाको सफलतालाई कसैले रोक्न सक्दैन।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने प्रगतिको पक्षमा नहुने मात्रै समाजवादी मोर्चा देखेर तर्सने बताए। मुलुकको प्रगति र समाजको आमूल परिवर्तनको पक्षमा हुनेहरू मज्जाले निदाएर बस्दा हुने नेपालले सुनाए। ‘नतर्सिनुस् ढुक्क हुनुस् । तिनै तर्सिन्छन् जो अग्रगमनको पक्षमा छैनन्। जो समाजलाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने पक्षमा छैनन्।’ उनले भने, अरू सबै आनन्दले निदाए हुन्छ। ढुक्क भए हुन्छ।’

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै देशभक्तहरूलाई गोलबद्ध गर्न यो मोर्चा पहिलो पाइला भएको बताए। ‘म चारै दलका नेताहरूलाई आग्रह गर्न चाहन्छु कि, यो मोर्चा खालि सत्तालाई टिकाउने मोर्चा मात्रै नबनोस्। यो मोर्चा साँचो अर्थमा आमूल परिवर्तनको मोर्चा बनोस्,’उनले भने,‘यो मोर्चा सम्पूर्ण वामपन्थीहरूलाई एकताबद्ध गर्ने मोर्चा बनोस्।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय गणतन्त्रलाई खतरामा पार्ने तत्त्वहरूको विरुद्ध मोर्चा उभिने भन्दै परि आए सङ्घर्ष गर्ने चेतावनी दिए।

उनले राजनीतिक रूपमा प्रणालीलाई बदले पनि शासन प्रणाली पुरानै ढर्राको रहेको बताए। ‘राजनीतिक रूपमा प्रणालीलाई हामीले बदलौँ। शासन प्रणाली बदले पनि शासन शैली र मानसिकता अहिले पनि पुरानै बाँकी रहेका छन्,’उनले भने,‘हाम्रो मोर्चाको भूमिका सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने र केही महत्त्वपूर्ण उपलब्धिलाई जोगाउने काम गर्छौँ।’

२०६९ सालमा प्रचण्डले नेतृत्व गरेको माओवादी छोडेर हिँडेका विप्लव ११ वर्षपछि प्रचण्डसँग सहकार्य गर्न पुगेका छन्। विप्लवले पुनः माओवादीमा फर्किने तयारी समेत गरेका छन्।

समाजवादी मोर्चामा घोषणा भएसँगै विप्लव माओवादी केन्द्रमा फर्किने सङ्केत माओवादी केन्द्रका नेताहरूले गरेका छन्। स्रोतका अनुसार विप्लवले प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डसँग माओवादी केन्द्रमा महासचिवको पद खोजेका छन्।

विप्लवले आफूलाई महासचिव पद दिए पार्टी एकता गर्न तयार रहेको प्रचण्डसँग बताउनु भएको माओवादी नेताहरूको दाबी छ। मोर्चा घोषणा कार्यक्रममा महासचिव विप्लवले देशको अहिलेको परिस्थितिमा चार दलका नेताका बिचमा लामो छलफलपछि समाजवादी मोर्चाको घोषणा गरिएको बताए।

कुनै पनि मूल्यमा आजको सङ्कटबाट पश्चगामी र प्रतिगामीहरूलाई मौकाको फाइदा उठाउन दिन नहुने उनले बताए। ‘तपाईँहरू सबैको सुझाव र शुभेच्छापछि जनताको चाहनाअनुरूप नेपाललाई आजको परिस्थितिबाट मुक्त गर्नुपर्छ। कुनै पनि मूल्यमा आजको सङ्कटबाट पश्चगामी र प्रतिगामीहरूलाई मौकाको फाइदा उठाउन दिनु हुँदैन,’उनले भने,‘देशमाथि आँखा लगाउने साम्राज्यवादीलाई कुनै पनि स्थितिमा स्वीकार गर्न सकिँदैन। जनताको अधिकारको लागि एउटा लडाइँ अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ इतिहासमा हामीले समाजवादी मोर्चाको अवधारणा अगाडि ल्याएका छौँ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading