केटो केटी बनेर बिहे गरेपछि घरै फिर्ता

केटो केटी बनेर बिहे गरेपछि घरै फिर्ता

काठमाडौँ : भोजपुरको रामप्रसादराई गाउँपालिकाका राजु राई उमेरले ३१ वर्षका भए। उनी ६ वर्ष अघिदेखि परिवारको सम्पर्कमा रहेनन्। जन्मँदा छोरा तर, हुर्कँदै बढ्दै जाँदा उनमा आएको छोरीको हाउभाउले उनलाई परिवारबाट टाढा बनायो।

राजु शर्मिलाको पहिचानमा चिनिए। सामाजिक सञ्जालमा महिलाकै गेटअपमा प्रस्तुत भए। उनी महिला बनेको परिवारले थाहा पाएन। घर छोड्नु अघि नै उनको परिवारले विवाह गराइदिएको थियो। बाबुआमा र बुहारीलाई छोडेर सम्पर्क विहीन भएका राजु उदयपुरको बेलका नगरपालिका वडा नं ६ भोपारेका नम्बर राईको घरमा आफैँ बुहारी भएर भित्रिए।

वैदेशिक रोजगारीका क्रममा मलेसियामा रहेका नम्बरले दुई वर्षअघि शर्मिलालाई साथी मात्रै बनाएनन्, एक पटक १ लाख ९५ हजार, अर्को पटक २४ हजार र २० हजार रुपैयाँ नगद पठाए।

नम्बर गत मङ्सिरमा नेपाल फर्किए। दुई वर्षअघिदेखि फेसबुकबाट चिनजान भएका दुवैले गत माघमा विवाह गरे। विवाह गरेको ६ महिनासम्म नम्बर र शर्मिलाको सम्बन्ध राम्रै चल्यो। तर, जब परिवार र गाउँघरमा कुरा काट्न सुरु भयो, त्यसपछि नम्बर शर्मिला महिला नभएको भन्दै न्यायिक समितिमा पुगे। शर्मिलाको लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक पहिचानमा ठगीको आरोप लाग्यो।

बेलका नगरपालिका वडा नं ६ का वडा सदस्य कुवेर कुमार मगरले नम्बरसँग विवाह गर्ने केटी नभएर केटा भएको उजुरी परिवारबाट आएपछि न्यायिक समितिमा छलफल भएको बताउँछन्। ‘फेसबुकबाट चिनजान भएर ६ महिना अघि विवाह भएको रहेछ,’वडा सदस्य मगरले पहिचानसँग भने,‘शर्मिलाले नै केटी नभएर केटा भएको बताएपछि नगरपालिकाले प्रहरीको जिम्मा लगाइदियो।’

वडा सदस्य मगरका अनुसार शर्मिलाले नम्बरसँग पैसा लिएको स्वीकारे। ‘मैले उहाँ (नम्बर) को पैसा चलाएको हुँ, अहिले म सँग छैन,’इलाका प्रहरी कार्यालयमा भएको छलफलमा शर्मिलाले भने,‘छोरा मान्छे हुँ, म जस्तो जेल सजाय दिनुहुन्छ भोग्न तयार छु।’ ‘फिजिकल्ली पुरुष, फिलिङस’ महिला भएका राजुको नम्बरसँग विवाह भएको ६ महिनापछि मात्रै लैङ्गिक तथा यौनिक पहिचान सार्वजनिक भयो। झुक्क्याएर विवाह गरेको आरोप समेत लाग्यो। प्रहरी हिरासतमा समेत पुगे उनी।

स्वास्थ्य अवस्था कमजोर रहेको पाइएपछि इलाका प्रहरी कार्यालय रामपुरले नगर अस्पतालमा लगेर उपचार पनि गराएको थियो। जेठ ८ गते प्रहरीले जनप्रतिनिधिको रोहबरमा छलफल गरायो। कारबाही गर्नका लागि उजुरी दिनुपर्ने भन्यो। नम्बरले शर्मिलालाई कारबाही गर्ने उजुरी दिएनन्। बेहुलाले ‘मलाई केही चाहिँदैन, परिवारको जिम्मा लगाइदिए हुन्छ, मेरो सम्पर्कमा नआए हुन्छ’ भनेपछि बेहुला (नम्बर) को सहयोगमा सुनसरीको चतरामा रहेकी राजुकी दिदी झिकाएर जिम्मा लगाएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

दिदी चिजामाया राईले भाइ राजुमा पहिला केटीको जस्तो हाउभाउ नरहेको बताइन। ‘पहिला त्यस्तो थिएन, ६ वर्षदेखि सम्पर्कमा नहुँदा यस्तो उपद्रो गरेछ,’चिजामायाले पहिचानसँग भनिन्,‘अहिले उसलाई बाबुआमाको घर (भोजपुर) मा पठाइदिएकी छु।’ प्रहरीले बोलाउँदा उपस्थित हुने सर्तमा शर्मिला(राजु)लाई दिदीको जिम्मा लगाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयालले नम्बर राईसँग विवाह गर्ने राजु (शर्मिला) एलजीबीटीआई समुदायका नागरिक भएको बताए। ‘फिजिकल्ली पुरुष भए पनि फिलिङस महिलाको हुने व्यक्ति रहेछन्,’फुयालले पहिचानसँग भने,‘दुवै पक्षलाई बोलाएर छलफल गरेपछि आफन्त (दिदी)को जिम्मामा पठाएका छौँ।’

लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नागरिकहरूले भने नम्बर पहिले नै शर्मिलाको बारेमा थाहा पाएर विवाह गरेको हुन सक्ने शङ्का व्यक्त गरेका छन्। घर परिवारमा हल्ला भएपछि नम्बरले विवाह रद्द गराउन लागेको आशङ्का लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूले गरेका छन्। तर, नम्बरले भने आफूले महिला नै भनेर विवाह गरेको बयान दिँदै आएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading