कर्मचारी भर्ती नगरेको निगमको दाबी

कर्मचारी भर्ती नगरेको निगमको दाबी

416
SHARES

काठमाडौं : नेपाल वायुसेवा निगमले अनावश्यक कर्मचारी भर्ती नगरेको दाबी गरेको छ। निगमले आइतबार विज्ञप्ति निकालेर कर्मचारी सङ्ख्या र ग्राउन्ड ह्याण्डलिङ्ग सेवा सम्बन्धमा संसद्मा समेत विषय उठान भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

निगमले हाल राष्ट्रिय अन्तर्राष्ट्रिय उडान, ग्राउन्ड ह्याण्डलिङ सबै क्षेत्रमा गरी स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारी गरी कूल १३ सय ४१ जना कर्मचारी रहेको जनाएको छ।

निगमको बेस स्टेसन बाहेक अन्तर्राष्ट्रिय र आन्तरिक स्टेसनहरूमा आवश्यकता अनुसार २ वा ३ जना मात्र कर्मचारी राखेर सेवा सञ्चालन गरिरहेको जनाउँदै त्यसमा कुनै पनि अनावश्यक कर्मचारी नरहेको स्पष्ट पारेको हो।

कूल कर्मचारी मध्ये ८४० जना स्थायी कर्मचारी रहेकोमा करार र ज्यालादारीमा ५०१ जना रहेको निगमले जनाएको छ। जसमध्ये हवाई उडान सञ्चालनतर्फ स्थायी प्राविधिक ८८ र प्रशासनिक ३०१, करारमा प्राविधिक ३२ र प्रशासनिक २४ एवं मासिक ज्यालादारीमा प्राविधिक (सवारी चालक) ८९ र प्रशासनिक ६१ गरी जम्मा ५९५ जना कर्मचारी रहेको निगमले जनाएको छ।

हप्ताको ६८ उडानको लागि प्राप्त कर्मचारीको भार करिब ९ जना मात्र हुने निगमले जनाएको छ। निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक (डोमेस्टिक) गन्तव्यमा हप्ताको २५ वटा उडान भर्दै आएको छ।

हाल महामारीमा केही कमी आई व्यवसायमा क्रमशः सुधार भइरहेको अवस्थामा नियमित कार्य गर्न न्यूनतम आवश्यक पर्ने कर्मचारी व्यवस्थापन भएको निगमको जनाएको छ।

कुन कार्यको लागि कति कर्मचारी खटाइएका छन् भन्ने कुरा विज्ञप्तिमा प्रस्ट पारिसकिएकोले तथ्य र वस्तुगत आधारमा सत्य तथ्य बुझ्न एवं अनावश्यक भ्रममा नपर्न समेत आग्रह गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

समाचार शेयर गर्नुहोस्
416
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.