नक्कली शरणार्थी : दुलाल र भण्डारीलाई नख्खु लगियो, ३ जना उच्च पुगे

नक्कली शरणार्थी : दुलाल र भण्डारीलाई नख्खु लगियो, ३ जना उच्च पुगे

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका पक्राउ परेका केशव दुलाल र सानु भण्डारीलाई नख्खु कारागार चलान गरिएको छ। काठमाडौं जिल्ला अदालतको आदेशमा केन्द्रीय कारागारमा राखिएका दुलाल र भण्डारीलाई नख्खु कारागार चलान गरिएको जेल प्रशासनले जनाएको छ।

ठाउँ साँघुरो र शान्ति सुरक्षाका कारण दुलाल र भण्डारीलाई नख्खु कारागार पठाइएको जेल प्रशासनले जनाएको हो। ‘कारागार विभागको निर्देशनमा दुलाल र भण्डारीलाई मङ्गलवार राती नख्खु कारागार पठाइएको हो,’जेल प्रशासनले पहिचानसँग भन्यो,‘शान्ति सुरक्षा र ठाउँ साँघुरो भएकाले पठाइएको हो।’

भद्र बन्दी गृहमा राखिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई भेट्न जानेहरूको भने भिड नै लाग्ने गरेको छ। परराष्ट्रमन्त्री एनपी साउद, पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पूर्वमहान्यायाधीवक्ता खम्बबहादुर खातीले खाँणलाई भेटेका छन्।

नेपाली काँग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री खाँणलाई निलम्बन गर्ने बारेमा आगामी केन्द्रीय समिति बैठकमा प्रस्ताव आउने बताएको छ।

काँग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जनआकाङ्क्षाअनुसार नै निर्णय हुने बताए। ‘पार्टीको परम्परा कसुर ठहर भइसके पछि निलम्बन गर्ने रहेछ। तर त्यो प्रसङ्ग अहिले मिलाउन मिल्दैन। पहिले त अनुसन्धानको चरणमा थियो र पर्ख र हेरको नीति लियौँ तर अहिले अभियोजन दर्ता गरेर पुर्पक्षका लागि थुनामा गइसकेकाले अब केन्द्रीय समितिमा प्रस्ताव आउँछ,’उनले भने,‘त्यसमा जे निष्कर्ष निस्कन्छ पर्खिनुपर्ने अवस्था छ।’

पूर्वमन्त्री रायमाझी र खाँणलाई भद्र बन्दी गृहमा राखिएको छ भने निलम्बित सचिव टेकनारायण पाण्डे र भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजाललाई केन्द्र बन्दी गृहमा राखिएको छ। जेलमा रहेका उच्च पदस्थहरूले जेल सरुवाको माग भने गरेका छैनन्।

नक्कली शरणार्थी : विश्व समुदायलाई टेकनाथ रिजालको अपिल (भिडियो)

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रकम असुल गर्ने काममा दुलाल र भण्डारी प्रमुख थिए। काठमाडौं जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा पुगेका १६ मध्ये १४ जनाको भने जेल सरुवा नभएको प्रशासनले जनाएको छ। जिल्लाको आदेशमा कारागार चलान भएका ३ जना जिल्ला आदेश बदर गर्ने निवेदन बोकेर उच्च अदालत पाटन पुगेका छन्।

आङटावा शेर्पा, नरेन्द्र केसी र गोविन्द चौधरीको निवेदनमा पहिलो सुनुवाइ गर्दै कैफियत प्रतिवेदन मगाउने आदेश उच्च अदालतले दिएको छ। अदालतकी उपरजिस्टार मन्दिरा शाहीले अहिलेसम्म ३ जनाको निवेदन आएको पहिलो सुनुवाइ भएको जानकारी दिइन।

सिधा खर्च महिनाको १ करोड ३२ लाख

केन्द्रीय कारागारमा अहिले ३ हजार ४१२ जना कैदी छन्। कैदीले दैनिक ८० रुपैयाँ सिधा खर्च र ७ सय ग्राम चामल पाउने गरेका छन्। कैदीका लागि मासिक १ करोड ३२ लाख रुपैयाँ खर्च हुने गरेको कारागार प्रशासनले जनाएको छ।

सिधा खर्च सहित कारागारमा मासिक झन्डै २ करोड खर्च हुने केन्द्रीय कारागारका जेलर ललित बस्नेतले जानकारी दिए।

उनका अनुसार कारागार विभागका महानिर्देशक चक्रपाणि पाण्डेले केन्द्रीय कारागारको निरीक्षण गरेर रिपोर्टिङ प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

जेलभित्र कैदीलाई बिक्री गर्ने सामग्रीको मूल्य महँगो भए तत्काल एक्सनमा उत्रन पनि महानिर्देशक पाण्डेले भनेका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading