मसलीको पसलमा चिन्ता : अवस्था बदलिने कहिले?

मसलीको पसलमा चिन्ता : अवस्था बदलिने कहिले?

काठमाडौं : काभ्रे नमोबुद्ध नगरपालिकाका वडा नं २ का कृष्णबहादुर लामाको उमेर ७० पुग्न लाग्यो। लामा प्राय मसलीको पसल पुगिरहन्छन्। साइनबोर्ड नै त झुन्डाएको छैन। तर, मसलीको पसल भनेर फेमस हुनलाई प्रचारप्रसार नै गर्नु परेको छैन।

एक दुई गिलास तुइँक्याउने देखि बोतलमै घुटघुट पार्ने सम्मका ग्राहक उनको पसलमा पुग्छन्। हरेक ग्राहक कृष्णबहादुरले चिनिजानेकै हुन्छन्। उनी भेटे जतिलाई आफ्नो राजनीति फेल खाएको सुनाउन भुल्दैनन्।

राजनीतिक भविष्यवाणी उनका सबै फेल खाए। दरबार छोडेर नागार्जुन जान तयार भएका ज्ञानेन्द्र शाहका ती दिन टेलिभिजनको पर्दाबाट नियाली रहेका छन्। काठमाडौं कोटेश्वरबाट ४५ किलोमिटरको दुरीमा मसलीको पसल पुग्दा भेटिने कृष्णबहादुरलाई अब ‘चुनाव हुँदैन’ भन्ने लागेको छ। ‘अब चुनाव हुने देखेको छैन,हुन त मेरो भविष्य फेल खाइरहेको छ,’छोरी मसलीको पसलमा उनले भने,‘अब रवि, बालेन कोही होइनन्, राजाले यी सबै भ्रष्टाचारीलाई जेलमा कोचेर आफैँ आउन सक्छन्।’

देश सङ्घीय संरचना अनुसार चुनाव हुन अघि उनी वडा संयोजक समेत थिए। भागबन्डामा समेत स्थानीय तह सञ्चालन भए। चुनावबाट नेतृत्व परिवर्तन हुन थालेको ६ वर्ष भएको छ।

मसलीको पसल नजिकका छिमेकी टिकाप्रसाद घिमिरे भरखरै मात्रै भारतको बद्री केदार दर्शन गरेर फर्किएका। उनले यो पटकको भेटमा राजनीतिक कुरा कोट्याएनन्। घरमा पुग्नेलाई जल प्रसाद दिने गरेका छन् उनले। ‘यो वर्ष आउनेलाई जल प्रसाद दिनुपर्छ,’उनले प्रसादको नाम लिँदै भने,‘तल्लो घरको दुलालदाइ जाँदा पनि जल प्रसाद ल्याउनु भएको थियो।’

कृष्णबहादुरले रासायनिक मलको अभाव सुनाए भने टिकाप्रसादले बन्दा बारीमै कुहिएको सुनाए। ‘यो सिजनमा बन्दा विक्री भएन,त्यसलाई फाँडेर मकै लगाइयो,’भरखरै सिमेन्टेड पाली मुनिको दलानमा बसेर उनले भने,‘मकै गोड्ने बेला भयो अहिले,बारीमै कुहियो बन्दा, विक्री भएन।’

कोरोना महामारीबाट बच्न लकडाउन हुँदा टिकाप्रसादको खेतको काउली सित्तैमा लाने पनि भएनन्। गाउँभरको काउली सबै विक्री भएन। किसान मर्कामा परे। किसान असारे मेलो सकाउने ध्याउन्नमा लाग्दा मसलीको पसल भरिभराउ छैन।

बिपी राजमार्गको पात्लेगाउँबाट चार किलोमिटरको दुरीमा रहेको मसलीको पसलमा एक गिलास तुइँक्याउन विष्णु लामा पनि दैनिक उकालो चढ्छन्। किसानको बसोबास रहेको मसलीको पसल भएको गाउँमा असार लागेको छ। दिनभरिको थकाई मेट्न विष्णु राजनीतिका कुरा सुन्छन्, प्रतिक्रिया जनाइहाल्दैनन्। सोधी हाले उनी यति भन्छन्,‘जो नै आए पनि के नै भएको छ र?’

नमोबुद्ध नगरपालिका प्रमुखका लागि भएको पहिलो चुनावमा एमालेका टिपी शर्मा विजयी भए भने दोस्रो चुनावमा काँग्रेसका कुन्साङ लामा विजयी भए। कुन्साङले पहिलो वर्ष पुरा गरेर दोस्रो वार्षिक बजेट सार्वजनिक गरिसकेका छन्। यो वर्ष नगरपालिकाको बजेट गत वर्ष भन्दा झन्डै आधाले कटौतीमा परेको छ। खर्च कटौती गरेर श्रोतले धान्न सक्ने आकारको बजेट ल्याएको नगरपालिकाको दाबी छ।

दुई नम्बर वडामा यो पटक वडा अध्यक्ष छन् कविराज श्रेष्ठ। उनले आफ्नो निजी डोजर सडकमा कुदाउन दिएका छन्। डोजर प्रयोग भए बापतको शुल्क नलिने घोषणा उनले निर्वाचित भए लगत्तै गरेका हुन्। वडा अध्यक्षलाई कृष्णबहादुर राजाको संज्ञा दिन्छन्। ‘राजा जस्तै त हो नि वडा अध्यक्ष,’उनले भने,‘वडाको नागरिक हो/होइन भन्ने अधिकार हुँदो रहेछ, यहाँको होइन भन्यो भने नागरिक नै हुन पाइँदो रैनछ।’

हरेक पाँच वर्षमा चुनाव भएर जनप्रतिनिधि फेरिन्छन्। २०७९ को चुनावमा नमोबुद्ध नगर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ मा माओवादी केन्द्रका सूर्यमान दोङ र प्रदेश सभा ‘ख’ बाट काँग्रेसका जिल्ला सभापति समेत रहेका तिर्थ लामा निर्वाचित बने। सरकारको नेतृत्व माओवादीले र अर्थ मन्त्रालयको नेतृत्व काँग्रेसले गर्दा नमोबुद्ध नगरको बजेट कटौतीमा पर्‍यो। ‘७ लाख आन्तरिक राजश्व सङ्कलन गर्ने वडा नं १ ले सबैभन्दा कम बजेट पाएको छ। ‘जम्मा २१ लाख बजेट आएको छ,कुन टोललाई कति दिने?’वडा १ का सदस्य मुरारी सत्यालले भने,‘यो पटक माग धान्न नपुग्ने बजेट आएको छ, कसरी मिलाउने छलफल गर्दैछौ।’

गोरेटो बाटोलाई नै मोटर गुड्ने सडक बनाइएको छ मसलीको पसल पुग्न। कच्ची सडक पक्की बन्ने आशा राखेका छन् स्थानीयले। ६ दशक भोगिसकेका कृष्णबहादुर सडक पक्की होस भन्ने आशा राख्ने मध्येका एक हुन्। राजनीति प्रति चासो राख्ने उनी नेताहरूको काम देखेर दिक्क छन्। ‘पहिला एउटा पिलो निचोरेर फालियो,’उनले भने,‘अहिले धेरै वटा पिलो आए।’ पुराना दलहरू काण्डैकाण्डले सकिन लागेको उनको बुझाई पनि छ।

अब पुरानाबाट चल्दैन भन्नेमा जनता पुग्न लागेका छन्। राजनीति सफा हुन सकेन। फोहोर सफा गर्न कोही त आउनै पर्नेछ। बाँकी चार वर्ष यसै जाने देखिन्छ। २०८४ को चुनावमा कोही न कोही आउँला भन्ने अड्कल समेत सुनाउँछन् कृष्णबहादुर। नयाँ जनप्रतिनिधि चुनिएको एक वर्षमै मतदातामा वितृष्णा आउन थालेको छ।

यो वितृष्णालाई क्यास गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने वडा वडासम्मै पुगिरहेका छन्। एमालेको ग्रास रुट जस्तै रास्वपाको वडा पुग्ने अभियानले पुरानो पार्टी काँग्रेसलाई कार्यकर्ता जोगाउन मुस्किल परेको छ। स्थानीयमा आएको वितृष्णा हटाउन पुराना राजनीतिक दललाई हम्मे हम्मे नै पर्न थालेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीको चर्चा मात्रै छैन, प्रवेश गर्नेहरूको पनि कमी देखिँदैन। ‘आइतबार त वडा कार्यालयमा रवि लामिछाने आउने रे,राष्ट्रिय स्वतन्त्र पार्टीको भेला रे,’स्थानीय भन्दै थिए,‘फलानो पनि गएछ, तिलानो पनि गएछ, अबको चुनावमा को कता जाँदा रैछन्, हेर्नुपर्छ।’

माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सात वटै प्रदेशमा सभा गर्ने निर्णय गरेका छन्। दलहरू अबको चुनाव केन्द्रित अभियानमा लागि सकेका छन्।

दलहरू मिसन २०८४ मा लाग्दा अहिले देश चलाउने कसले भन्ने चिन्ता देखिन थालेको छ। ‘सबैले ०८४ मा मात्रै केन्द्रित हुँदा अहिलेको अवस्था सुधार्ने कसले?,’ काँग्रेस महामन्त्री गगन थापाले शनिवार भएको कार्यक्रममा भने,‘काँग्रेस अहिलेको अवस्था सुधार गर्दै ०८४ सम्म पुग्नु पर्छ।’

काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काँग्रेस अहिले सरकारमा रहेकाले राम्रो काम गर्ने बताएका छन्। ‘राम्रो काम गरे २०८४ मा काँग्रेसलाई बहुमत ल्याउन सहज हुन्छ,’गगन बोलेकै कार्यक्रममा पौडेलले भने,‘सरकारको काम यस्तै हुने हो भने ०८४ को चुनावमा जोसँग मिलेर चुनाव लडे पनि पराजित हुन पर्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading