नक्कली शरणार्थी : ७ जना उच्च पुगे, षड्यन्त्र भएको आरजुको दाबी

नक्कली शरणार्थी : ७ जना उच्च पुगे, षड्यन्त्र भएको आरजुको दाबी

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका ७ जना अभियुक्त उच्च अदालत पुगेका छन्। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुल्ने गिरोहका १६ जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो।

पुर्पक्षका लागि थुनामा पुगेका मध्ये ७ जनाले आफूहरूलाई सामान्य तारेखमा रिहा गरेर मुद्दा लड्न दिनुपर्ने मागसहितको निवेदन उच्च अदालत पाटनमा पेस गरेका छन्। पुर्वसभासद् आङ्टावा शेर्पा, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, सानु भण्डारी, लक्ष्मी महर्जन, हरिभक्त महर्जन र इन्द्रजित राईले थुना बाहिर रहेर मुद्दा लड्न पाउनुपर्ने निवेदन दिएको अदालतकी उपरजिस्ट्रार एवं प्रवक्ता मन्दिरा शाहीले जानकारी दिइन।

निवेदनमाथि सुनुवाइ गरेर थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरिएको छ। उच्च अदालत पाटनमा यस प्रकारका मुद्दामा हरेक बिहीबार सुनुवाइ हुने गरेको अदालत प्रशासनले बताएको छ।

थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त नबुझे उच्च अदालतमा निवेदन दिन सकिने कानुनी व्यवस्था अनुसार ७ अभियुक्त उच्चमा गएका हुन्। थुनामै रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, निलम्बित सचिव टेकनारायण पाण्डे, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालसहित उच्च पदस्थ कर्मचारीहरू भने उच्च अदालतमा गएका छैनन्।

आरजुको प्रस्टीकरण

शरणार्थी प्रकरणमै पैसा लिएको आरोप लागेकी सांसद डाक्टर आरजु राणा देउवाले भने नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुट भएको दाबी गरेकी छन्।

सार्वजनिक अडिओको अनुसन्धान गर्न प्रहरीमा दिएको उजुरीको छानबिनबाट पनि सो प्रमाणित भएको उनले बताइन। सार्वजनिक भएको अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग आरजु र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए। त्यो आवाज हाल अनुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

सो अडिओको छानबिन गर्न आरजुले नै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन। शर्मा हाल पुर्पक्षका लागि थुनामा छन्। प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको उनले बताइन। आरजुले बद्नियतपूर्ण रूपमा आफूलाई यस मुद्दामा जबरजस्ती तान्ने षड्यन्त्र भएको उल्लेख गरिन।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद आरजुले आरोपितहरूले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रूपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताइन्।

‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो। तर उसले जे भनेको छ, त्यो चाहिँ गलत भनेको र उसले आफै पनि स्वीकार गरेको छ कि दुई वटा मान्छेको नाम लिएको छ, एक जना बुढाथोकी र एक जना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो। म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा पनि त्यही बयान दिनुभएको छ। र अदालतमा पनि त्यही बयान दिनुभएको छ,’उनले भनिन्,‘यो मेरो लागि पनि ठुलो प्रश्न हो। भोली कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा छ। मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो। जब उनीहरूलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर। त्यो किन बाहिर आयो? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो?’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading