अर्थमन्त्रीको गुनासो, बैंकर र उद्योगी एउटै हुँदा समस्या

अर्थमन्त्रीको गुनासो, बैंकर र उद्योगी एउटै हुँदा समस्या

काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महत बैंकरले मिलेमतोमा पुँजी प्रवाह गरेको आरोप लगाएका छन्। वित्तीय सङ्घसंस्थाले सुविधा पाएनौँ मात्र नभनेर जिम्मेवारीप्रति कर्तव्यनिष्ठ र आफूलाई नियमन गर्न सक्यो भने देशको अर्थतन्त्र स्वस्थ्य प्रतिस्पर्धाको बाटोमा अघि बढ्ने उनले बताए।

मङ्गलवार नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ राष्ट्रिय समितिद्वारा आयोजित नेपालको वित्तीय क्षेत्रका चुनौती, समाधानका उपाय तथा भावी कार्यदिशा विषयक सामाजिक संवाद कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘आफ्नो हितका लागि मात्र सङ्घसंस्था बनेका होइनन्, हाम्रा सदस्यलाई जिम्मेवार र कर्तव्यनिष्ठ बनाउन हो भनेर सङ्घसंस्था लाग्यो भने यसले सकारात्मक नतिजा दिन्छ।’

नेपालमा बैंकर र उद्योगी एउटै हुँदा ठुला लगानीकर्तामा मात्रै पुँजी प्रवाह भएको उनले बताए। यसले मध्यम र साना लगानीकर्तामा पुँजी प्रवाह नभएको उनले उल्लेख गरे। अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकर र उद्योगी एउटै हुनु नेपालको वास्तविकता भएको बताए।

‘बैंकर्स र उद्योग एउटै व्यक्ति हुने नेपालको वास्तविकता हो। सामान्यतः संसारमा यस्तो हुँदैन। आफ्नै बैङ्कमा जम्मा भएको पुँजी आफ्नै उद्योगमा लगानी गर्ने परिस्थिति हामीकहाँ छ’ मन्त्री महतले भने, ‘आउँदा दिनमा त्यसलाई ध्यानमा राखेर लगानीको संरचनालाई परिवर्तन गरेर मध्यम र साना लगानीकर्तामा पुँजी प्रवाह गर्नेछन् भन्ने मलाई लागेको छ।’

बैङ्किङ क्षेत्रले उत्पादनशील क्षेत्रमा लगानी गरेन, अनुत्पादक क्षेत्रमा धेरै लगानी भयो भन्ने परिपेक्ष्यमा वित्तीय क्षेत्र र राष्ट्र बैङ्कले त्यसतर्फ पनि ध्यान दिनेछ भन्ने विश्वास लिएको मन्त्री महतले बताए।

सरकारको भूत-प्रभावी निर्णयले त्रास (भिडियो)

अर्थमन्त्री महतले बैङ्क तथा वित्तीय संस्थाको मिलेमतोमा ब्याजदर बढ्ने गरेको बताए। बैङ्क तथा वित्तीय संस्थाले परियोजना धितो राखेर कर्जा नदिने तर घरजग्गा धितो राखेर मूल्याङ्कनभन्दा बढी कर्जा प्रवाह गर्ने गरेको पनि अर्थमन्त्री महतले बताए।

‘बैङ्क र वित्तीय संस्थाहरूले कार्य पद्धति अन्तर्राष्ट्रियस्तर अपनाउने छन्। उपभोक्ताको अधिकार र सुरक्षालाई उच्च प्राथमिकतामा राख्ने छन् भन्ने मलाई विश्वास छ’ मन्त्री महतले भने,‘बैङ्किङ क्षेत्रको यति धेरै वृद्धि हुँदाहुँदै पनि अप्ठ्यारामा परेका बैङ्कलाई राष्ट्र बैङ्कको सहयोगमा सुधार भएको पाइन्छ। कृषि विकास बैङ्कमा पनि सुधारको आवश्यकता छ।’

उनले पछिल्लो तथ्यांकअनुसार मूल्यवृद्धि ७ प्रतिशतभन्दा तल आउनु सुखद भएको बताए। ‘मौद्रिक नीति खुकुलो गर्दा मूल्यवृद्धिमा समस्या हुन्छ कि भन्ने राष्ट्र बैङ्कको चिन्ता थियो। तर पछिल्लो सूचांकले मौद्रिक नीति खुकुलो बनाउन सहयोग गर्छ भन्ने मलाई लागेको छ। मूल्यवृद्धि नियन्त्रण गर्ने मात्र मौद्रिक नीतिको लक्ष्य होइन, समग्र अर्थतन्त्रको स्थायित्व र वृद्धि गराउने पनि लक्ष्य भएको बताउँदै मन्त्री महतले भने, ‘आउँदो आर्थिक वर्षको सुरुमै मौद्रिक नीतिले यी कुरालाई सम्बोधन गर्नेछ। बैङ्कसँग तरलता भए पनि पुँजी प्रवाह नभएको अवस्थालाई यसले सम्बोधन गर्नेछ। बैङ्किङ क्षेत्रले पनि आफ्नो तहबाट त्यहाँभित्र रहेको समस्याहरू समाधानको बाटो खोज्नुपर्छ। ठुला लगानीकर्तामा मात्रै पुँजी प्रवाह गर्ने, मध्यम र साना लगानीकर्ताहरू पुँजी प्रवाह नगर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading