मन्त्रिपरिषद् बैठक : हेलिकप्टर दुर्घटनाको छानबिन समिति, धानको समर्थन मूल्य तोकियो

मन्त्रिपरिषद् बैठक : हेलिकप्टर दुर्घटनाको छानबिन समिति, धानको समर्थन मूल्य तोकियो

काठमाडौं : सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलट चेतबहादुर गुरुङ सहित ६ जनाकै शव भेटिएको छ।

ज्यान गुमाउनेमा गुरुङ सहित मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक रहेका छन्।

मङ्गलवार सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ स्थित लामजुरामा हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो। मृतकहरूको शव काठमाडौं ल्याइएको छ।

हेलिकोप्टर दुर्घटनाको अध्ययन गर्न सरकारले छानबिन समिति बनाएको छ। मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले पर्यटन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन।

धानको समर्थन मूल्य

सरकारले धानको समर्थन मूल्य तोकेको छ। देशभरका किसान असारे चटारोमा रहँदा सरकारले धानको मूल्य तोकेको हो। किसानले अहिले रोपेको धान मङ्सिरमा भित्र्याउँछन्।

किसानले धान लगाउँदै गर्दा मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धान प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको मूल्य ३ हजार ३६२ रुपैयाँ मूल्य तोक्ने निर्णय गरेको हो। यो पहिले भन्दा दुई साढे २ सय रुपैयाँले बढी रहेको सरकारकी प्रवक्ता समेत रहेकी सञ्चार मन्त्री रखा शर्माले जानकारी दिइन।

किसान रासायनिक मल नपाएर हैरान भएको विषय छलफल भएको तर, मल अभाव नरहेको निष्कर्ष मन्त्रिपरिषद् बैठकले निकालेको छ। केही ठाउँ बाहेक सबै किसानले रासायनिक मलको अभाव झेल्नु नपरेको दाबी सरकारले गरेको छ।

वितरणमा भने केही समस्या देखिएको मन्त्री शर्माले बताइन। ‘केही समस्याहरू वितरणमा देखिएका छन्,त्यसका लागि कृषि मन्त्रालयले वर्क आउट गरिरहेको छ,’मन्त्री शर्माले भनिन्,‘अहिले कृषि मन्त्रीले कहीँ पनि मलको अभाव हुन नदिने भन्नु भएको छ,कताकति छिटफुट समस्या आउन खोजेका पनि छन्,ती समस्या तत्काल समाधान गर्ने प्रयत्न भइरहेको छ।’

सरकारले अनुचित लेनदेन, मिटरव्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद थप गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको सञ्चार मन्त्री शर्माले जानकारी दिइन। मन्त्री शर्माले सिके राउतको पार्टीलाई सरकारमा सहभागी गराउनेबारे सकारात्मक छलफल भइरहेको बताउनु भयो ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading