प्रचण्डलाई शोक, नेताहरू व्यस्त हुँदा फेरी सर्‍यो काँग्रेस बैठक

प्रचण्डलाई शोक, नेताहरू व्यस्त हुँदा फेरी सर्‍यो काँग्रेस बैठक

काठमाडौँ : नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक फेरी सरेको छ। पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बुधवार बस्ने भनिएको बैठक साउन २ गते बस्ने गरी मिति परिवर्तन गरिएको काँग्रेसले जनाएको छ।

स्थानीय तहको चुनावी नतिजा पछि एक पटक बसेको बैठक पुन बस्न सकेको छैन। काँग्रेस नेतृत्वको सरकारले गराएको प्रतिनिधिसभा र प्रदेश सभा चुनावी नतिजा पछि नेकपा माओवादी केन्द्रको नेतृत्वमा नयाँ सरकार बनेको छ। प्रधानमन्त्री पदमा सभापति शेरबहादुर देउवाले अड्डी कस्दा नेकपा एमालेसँग मिलेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बने।

काँग्रेससँग मिलेर चुनाव लडेको माओवादीले एमालेसँग मिलेर सरकार बनाएपछि सभापति देउवाको पार्टी भित्रै आलोचना भयो। काँग्रेसले सत्तामा पुग्न र राष्ट्रपति पद लिन प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्तावमा समर्थन जनायो। एमाले सरकारबाट बाहिरिन बाध्य बन्यो। काँग्रेस सरकार भयो। राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भए। तर, पार्टी केन्द्रीय समितिको बैठक बसेन।

सभापति देउवाले बैठक बोलाउँदै सार्दै आए। यो क्रम २७ असारमा पनि देखियो। बैठक बस्ने दिन नै बैठकको मिति सारिएको छ। काँग्रेस पार्टी कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले साउन २ गते दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्ने जानकारी दिएका छन्।

‘नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८० असार २७ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक २०८० श्रावण २ गते दिउँसो १ः०० बजे बस्ने भएको छ,’पराजुलीले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।’

पराजुलीले बैठकको एजेन्डा तयार हुन नसकेकाले बैठक सारिएको बताए। ‘आज बिहान एजेन्डा तय गर्ने भन्ने थियो, नेताहरू हस्पिटल तिर लाग्नु भएर एजेन्डा तयार हुन सकेन,’पराजुलीले पहिचानसँग भने,‘नेताहरूको व्यस्तताले बैठकको मिति सरेको हो।’

प्रचण्डलाई शोक

नेकपा (माओवादी केन्द्र) का सल्लाहकार एवं पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी सीता दाहालको बिहान निधन भएकोमा शोक व्यक्त गर्न काँग्रेस नेताहरू व्यस्त भए। सीता दाहालको बुधवार बिहान ८ः३३ बजे नर्भिक अस्पताल, काठमाडौँमा निधन भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ।

सीता पछिल्लो समय पार्किन्सन्स जस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित थिइन। उनले २०२६ सालमा प्रचण्डसँग विवाह गरेकी थिइन। २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार थिइन।

पार्टी महासचिव देव गुरुङले श्रद्धान्जलि व्यक्त गर्दै ‘पार्टी कामका लागि पंचायतीकालमा लामो समय भूमिगत जीवन बिताएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिङ्गो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, सङ्कट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो’ भनेका छन्।

भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयाघातका कारण निधन भइसकेको छ। छोरीहरू रेणु दाहाल भरतपुर महानगरपालिकाकी मेयर छिन भने गङ्गा दाहाल प्रचण्डको स्वकीय सचिव छिन्।

सीता दाहालको निधनबाट पार्टी, जनता र राष्ट्रका लागि अपूरणीय क्षति भएको महासचिव गुरुङले उल्लेख गरेका छन्। ‘उहाँले नेपालको कम्युनिस्ट आन्दोलनमा अत्यन्त महत्त्वपूर्ण र अविस्मरणीय योगदान पुर्‍याउनुभएको छ। सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवम् असीमित समर्पण उहाँका विशेषता हुन्,’गुरुङले निकालेको शोक वक्तव्यमा लेखिएको छ,‘उहाँ आफ्ना योगदानमार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनु हुनेछ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading