मन्त्रिपरिषद् हेरफेर : मन्त्री हटाउने कि मन्त्रालय थप्ने?

मन्त्रिपरिषद् हेरफेर : मन्त्री हटाउने कि मन्त्रालय थप्ने?

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन्। गत पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त प्रचण्डले करिब ६ महिनामा गत जेठ ९ गते मन्त्रिपरिषद्लाई पूर्णता दिएका थिए।

संविधान अनुसार मन्त्रिपरिषद् २५ सदस्यीय हुनेछ। प्रधानमन्त्री सहित वर्तमान मन्त्रिपरिषद् २५ सदस्यीय बनिसकेको छ। अहिले मन्त्रालयको सङ्ख्या २३ छ। ३ जना राज्यमन्त्री सहित २५ सदस्यीय मन्त्रिपरिषद्मा हेरफेर गर्न प्रधानमन्त्री प्रचण्डले तीन विकल्पको तयारी गरेका छन्।

उनले मन्त्री हटाउने, राज्यमन्त्रीलाई फुल मन्त्री बनाउने र मन्त्रालयको सङ्ख्या थप्ने भन्ने विकल्पको तयारी गरेका हुन् । सरकारबाट बाहिरिएको सिके राउतको जनमत पार्टीलाई भित्र्याउन प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गर्न लागेका हुन्।

भौतिक पूर्वाधार, उद्योग वा कृषि मन्त्रालय दाबी गरे पनि जनमतले अहिले फेरि सरकारमा जानका लागि मन्त्रीको नामै सिफारिस गरिसकेको छ। जनमत पार्टीका तर्फबाट अनितादेवी शाहको नाम बुझाइए पनि मन्त्रालयको नाम भने टुङ्गो लागेको छैन।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै दललाई सरकारमा सहभागी हुन आग्रह गरिएको बताएकी थिइन। मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै मन्त्री शर्माले सबै दललाई सरकारमा सहभागी हुन प्रधानमन्त्रीले आव्हान गरिरहेको बताइन।

राष्ट्रपति निर्वाचनमा गठबन्धन बदले पछि प्रधानमन्त्री प्रचण्डको मन्त्रिपरिषद्ले पूर्णता पाउनै मुस्किल परेको थियो। १० औँ पटकसम्म मन्त्रिपरिषद् विस्तार गरेर नथाकेका प्रचण्डले ११ औँ पटकमा बल्ल पूर्णता दिएका थिए।

प्रधानमन्त्रीलाई विश्वासको मत दिएको जनमत पार्टीले खानेपानी मन्त्रालयमा चित्त नबुझाएर मन्त्री बनेका अब्दुल खानले राजीनामा दिएका थिए। खानेपानी मन्त्रालय अहिले महिन्द्र राय यादवले सम्हालेका छन्। जनमतले रोजेको कृषि तथा पशुपक्षी विकास मन्त्रालय डा. बेदुराम भुसालले र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय रमेश रिजालले सम्हालेका छन्।

जनमतलाई सरकारमा भित्र्याउन प्रधानमन्त्री हतारिए पनि कुन मन्त्रालय दिने भन्ने टुङ्गोमा पुगेका छैनन्। गठबन्धन दलले पाएका मन्त्रालय चलाउँदा सरकार नै धरमरमा पर्ने डरका कारण प्रधानमन्त्री प्रचण्डले आफ्नै पार्टीको भागमा परेको मन्त्रालयमै मिलाउने प्रयास गरेका छन्।

प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले मन्त्रालय खाली गर्ने या थप्ने तयारी भइरहेको बताए। ‘मन्त्रालय खाली गर्न सकिन्छ या थप्न पनि सकिन्छ,’गजुरेलले भने,‘राज्यमन्त्री एक जना हटाएर फुल मन्त्री गर्न पनि सकिन्छ।’

उनले मन्त्रालयको सङ्ख्या २५ नरहेको बताए। ‘मन्त्रालय त २५ वटा चाहिने न हो,२५ वटा छैन अहिले त,’गजुरेलले भने,‘त्यस्तो पनि हुन सक्छ,तर टुङ्गिएको छैन।’ प्रधानमन्त्री अहिले शोकमा भएका कारण तत्कालै भने टुङ्गो लाग्ने सम्भावना नरहेको गजुरेलले बताए।

प्रधानमन्त्री प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय जनमतलाई दिने तयारी गरेका थिए। मन्त्री सुदन किराती आफ्नै अभिव्यक्तिका कारण नेकपा माओवादी केन्द्रभित्र आलोचित बनेका छन्। नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले मन्त्री किरातीले सोधेको स्पष्टीकरण नदिएर पेलेका छन्।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अक्षम, मन्त्रीले सोधे ९ बुँदे स्पष्टीकरण

मन्त्री किरातीले महानिर्देशक अधिकारीलाई बर्खास्त गर्न सकेका छैनन्। भारत भ्रमणको विषयलाई लिएर दिएको किरातीको अभिव्यक्तिले सत्ता गठबन्धनकै नेताहरूबिच बेमेल पैदा गराएको बुझाई माओवादीको रहेको स्रोतले बताएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीलाई फुल मन्त्री बनाएर प्रधानमन्त्री प्रचण्ड आफ्नो मन्त्रिपरिषद्मा दुई जना महिलालाई फुल मन्त्री बनाउने तयारीमा समेत रहेको स्रोतको दाबी छ।

तर, जनमतले रोजेको मन्त्रालय दिन भने प्रधानमन्त्री प्रचण्डलाई सकस पर्ने देखिएको छ। सत्ता गठबन्धनमा रहेका अरू दलका भागमा परेका मन्त्रालय हेरफेर गर्न गठबन्धनमै सहमति हुनुपर्ने भएकाले प्रधानमन्त्री प्रचण्डले किराँती या सिर्पाली ठकुरी मध्ये एक जनालाई मन्त्रीबाट हटाउनेछन्।

सुरुदेखि नै रोजेको मन्त्रालय नपाएको जनमत पार्टी तीन महिनापछि सरकारबाट बाहिरिएको थियो। पुस ११ गते विनाभागीय मन्त्री बनेका अब्दुल खानलाई प्रधानमन्त्रीले माघ ३ गते खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका थिए। त्यसको दुई महिनापछि चैत ७ गते मन्त्रिपरिषद्बाट बाहिरिएको जनमत पार्टी दोस्रो पटक सरकारमा सहभागी हुन लागेको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading