नक्कली शरणार्थी : निलम्बित सचिव पाण्डेसहित १० जना उच्च पुगे

नक्कली शरणार्थी : निलम्बित सचिव पाण्डेसहित १० जना उच्च पुगे

काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त केशव तुलाधर धरौटीमा छुटेकै दिन ललिता निवास प्रकरणमा पक्राउ परेका छन्। उनी आइतबार १५ लाख धरौटीमा छाड्न आदेश भएकै दिन ललिता निवास प्रकरणमा पुनः प्रहरी हिरासतमा पुगेका हुन्।

शरणार्थी प्रकरण मुद्दामा फरार रहेका तुलाधर २७ गते काठमाडौं सानोभर्‍याङबाट समातिएका थिए। उनलाई जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव प्रसाद घिमिरेको इजलासले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

काठमाडौँको असन घर भई नयाँ बजार बस्ने ५९ वर्षका तुलाधरलाई ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नियन्त्रणमा लिन केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीबाट पत्र प्राप्त भएको जिल्ला प्रहरी परिसर काठमाडौँले बताएको छ।

अदालतको आदेशपछि उनलाई छाड्न नपाउँदै सीआइबीको पत्र पाएपछि परिसरले सीआइबीको जिम्मा लगाएको परिसरका प्रहरी उपरीक्षक सिताराम रिजालले जानकारी दिए। तुलाधरको नाममा ललिता निवासको झन्डै दुई रोपनी जग्गा देखिएको स्रोतले बताएको छ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा पुगेकाहरू धमाधम काठमाडौं जिल्ला अदालतको आदेश बदर गर्ने निवेदन बोकेर उच्च अदालत पुगेका छन्। थुनामा रहेका १६ मध्ये अहिलेसम्म १० जनाको निवेदन आएको उच्च अदालत पाटनले जनाएको छ।

निलम्बित सचिव टेकनारायण पाण्डे, रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार ईन्द्रजित राई उच्च पुगेका छन्। पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजाल भने उच्च पुगेका छैनन्।

टेकनाथको सुरक्षा र स्वास्थ्यमा कारागार प्रशासनले गर्‍यो महसुस

निवेदन बोकेर उच्च पुगेका १० जनाको निवेदनमा कैफियत प्रतिवेदन मगाउने आदेश भएको छ। तर, जिल्ला अदालतले कैफियत प्रतिवेदनको जवाफ पठाएको छैन। ‘कैफियत प्रतिवेदन मगाउन जिल्लामा पत्र गइसकेको छ,’उच्च अदालतकी उपरजिस्टार मन्दिरा शाहीले पहिचानसँग भनिन्,‘जिल्लाबाट जवाफ आइसकेको छैन, सायद सबैको एकै पटक आउँछ होला।’

ललिता निवासका आरोपी थप ५ दिन थुनामै रहने

ललिता निवास प्रकरणमै यसअघि पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित १७ जना थप पाँच दिन हिरासतमा रहने भएका छन्।

जिल्ला अदालत काठमाडौँले आइतबार उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो। यसअघि पनि अदालतले पहिलो पटक ७, दोस्रो पटक ७ र तेस्रो पटक ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

सरकारी जग्गा हिनामिना प्रकरणमा अनुसन्धान जारी राखेको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले अन्य व्यक्तिहरूमाथि पनि छानबिन भइरहेको जनाएको छ। सीआइबीले ४ सय जनाविरुद्ध पक्राउ पुर्जी लिएर अनुसन्धान गरिरहेको छ।

सर्वोच्च अदालतले भने न्यायिक हिरासतमा रहेका सञ्चार सचिव राउत, भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङसहितलाई सोमबार पुनः अदालतमा पेस गर्न आदेश दिएको छ। अन्य बन्दीको रिटका कारण उनीहरूको मुद्दा हेर्न नभ्याइएपछि सोमबार पेस गर्न आदेश दिइएको हो।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading