नागरिक उन्मुक्तिको कच्चा निर्णय, मन्त्रीको शपथ लिन तयार दुई नेता निराश

नागरिक उन्मुक्तिको कच्चा निर्णय, मन्त्रीको शपथ लिन तयार दुई नेता निराश

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीको कच्चा निर्णयले मन्त्रीको शपथ लिन तयार भएका दुई नेता निराश भएर घर फर्कनुपरेको छ।

सोमबार एक मन्त्री र एक राज्यमन्त्री लिएर सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको पार्टीले मङ्गलवार शपथ हुनु केही समयअघि मात्र भाग नपुगेको भन्दै पछि हटे पछि प्रदेशसभा सदस्य रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री बन्नबाट वञ्चित हुनुपरेको हो।

रामेश्वर आफ्नो परम्परागत थारु पोसाक सेतो धोती, फुन्नाहा टोपी र काठको पौवा (खराउ) सहित टीकापुरबाट धनगढी पुगेका थिए। दिउँसो ४ बजेलाई तोकिएको शपथ कार्यक्रमका लागि तम्तयार भएर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारी पाउन लागेका चौधरीले पार्टी केन्द्रको निर्णयले रोकिनुपरेको बताए।

राज्यमन्त्री बन्ने पक्का भएका अर्का प्रदेशसभा सदस्य कैलाश चौधरी पनि मौलिक भेसभुसामै तयार भएका थिए। घर फर्कँदै गर्दा रामेश्वरले पार्टीको निर्णय मान्नुको विकल्प नरहेको बताए। ‘अहिले एक फुल मन्त्री र राज्यमन्त्री शपथ ग्रहण गरौँ, केन्द्रले पनि माथि नेगोसिएसन गर्दै गर्छ भनेर संसदीय दलले निर्णय गरेको हो,’उनले भने,‘दुई फुल मन्त्री नपाएपछि सरकारमा जाँदैनौ भनेर एक्कासि हेड क्वाटरबाट निर्णय आएको हो,के गर्ने हेड क्वाटरको डिसिजनलाई मान्नै पर्छ हामीले।’

उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरीको नेतृत्वमा दिउँसो केन्द्रीय कार्यालयमा बसेको बैठकले मन्त्रालय भागबन्डा नमिलेको बहाना बनाएर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो।

२ जना फूल मन्त्री र एक राज्यमन्त्री नभएसम्म सरकारले नजाने उसको भनाई छ। तर पार्टीका नेता विवश कुमार यादव हिजोको सहमति अनुसार मन्त्रालय नपाए पछि तत्काल सरकारमा नजाने निर्णय भएको बताउँछन्। ‘हस्तक्षेप त केही पनि होइन, सहमति नै दुई वटा मन्त्रालयको भएको हो,’उनले भने,‘सहमति अनुसार मन्त्रालय नपाएकाले फिर्ता बोलाइएको हो।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading