प्रधानमन्त्री प्रचण्ड : सरकारमा हिरो, पार्टीमा जिरो

प्रधानमन्त्री प्रचण्ड : सरकारमा हिरो, पार्टीमा जिरो

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार काण्डैकाण्डैले चर्चामा छ। नक्कली भुटानी शरणार्थी, ललिता निवास प्रकरण, क्विन्टल सुन काण्डले प्रचण्डको प्रधानमन्त्रीमा तेस्रो कार्यकाल चर्चै चर्चामा छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड पार्टी भित्रै भने सङ्कटमा परेका छन्। सुन तस्कर प्रकरणलाई लिएर सत्ता पक्षबाटै चेपुवामा परेपछि थप सकस खेपेका प्रचण्डलाई पार्टीको संरचना बलियो बनाउन अर्को चुनौती थपिएको छ।

सरकारको नेतृत्वमा प्रचण्ड हिरो देखिए पनि पार्टी भित्र अध्यक्षका रूपमा भने जिरो देखिएका छन्। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा बुधवारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा प्रचण्डले आफ्नो पार्टी बिस्तारै कमजोर बन्दै गएको स्वीकार गरेका छन्।

पार्टी–पार्टी जस्तै बन्न नसकेको प्रचण्डले बताए। ‘हामीसँग नेता कार्यकर्ताको विशाल पङ्क्ति त छ, तर पार्टी चाही पार्टी जस्तो भइरहेको छैन,’प्रचण्डले भने,‘यसलाई साँचो अर्थमा एउटा कम्युनिस्ट पार्टी पुनर्निर्माणको अभियान हामीले यो बैठकबाट थाल्नु छ।’

नेपाली काँग्रेसको सिको गर्दै बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएको माओवादी केन्द्रले अन्तिम समयमा आएर रोक्ने निर्णय गर्‍यो। बैठकमा सुन प्रकरणमा जोडिएका विषय सँगै आफ्नै आलोचना हुने देखिएपछि अध्यक्ष प्रचण्डले बैठक लाइभ गर्न दिएनन्।

तर माओवादी केन्द्रका नेता तथा पर्यटन मन्त्री सुदन किराँतीले भने पार्टीको जीवन नै मार्ने गरी लाइभ गर्न नसकिने तर्क गरे। ‘खुल्ला ढङ्गले लाइभ गरेर छलफल गर्ने हो भने त पार्टी जीवनको आत्मा नै मर्छ नि,’किराँतीले भने,‘यो देशलाई, संसारलाई कसरी ह्याण्डलिङ गर्ने सन्दर्भमा विविध ढङ्गले छलफल हुने पार्टीमा जीवन नै मार्ने गरी लाइभ किन गर्ने?’

केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सुन प्रकरणलाई केन्द्रमा राखेका छन्। नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गरेर विषयान्तर गर्न खोजेको आरोप लगाए।

सुन प्रकरणमा मुछिएका पूर्बसभामुख कृष्ण बहादुर महराको बचाउ गर्दै पुनले बाहिरिएको अडियो सम्बन्धित व्यक्तिलाई सोध्न भने। ‘उहाँसँगै प्रश्न गर्नुहोस् त्यो कुरालाई कसले भन्नु भएको हो?,पार्टीको धारणा भन्नुहुन्छ भने, कहीँ पनि अलिकति पनि तलमाथिको कुरा छैन,’उनले भने,‘त्यससँग सम्बद्ध निकायले विना प्रभाव, विना दबाब छानबिन गरोस्।’

अडियो प्रकरणमा मुछिएका महराले भने राजनीतिक पूर्वाग्रहले विभिन्न समाचारहरू छापिएको आरोप लगाए। साना माछा, ठुला माछा भनेर आफूले १० वर्ष अघि बोलेको कुरा अहिले सोध्न नमिल्ने भन्दै महरा पत्रकारहरुसंग जङ्गिए। ‘यो सबै गलत प्रचार हो, यस विषयमा मैले र मेरा सबै कमरेडहरूले वक्तव्य दिइसकेको स्थिति हो,’महराले भने,‘यसमा कुनै प्रमाण, तथ्य छैन, यो राजनीतिक पूर्वाग्रहमा आधारित आरोप हो, आजभन्दा १० वर्ष अगाडीको कुरा हो, आज सोधेर हुन्छ?’

अध्यक्ष प्रचण्डले तीन महिने ‘जनतासँग पार्टी’ अभियानदेखि पार्टी सुदृढ बनाउनेबारे राखेको प्रस्तावमा बुधवार १८ जनाले आफ्नो धारणा राखेका छन्। अध्यक्षको प्रस्तावमाथि निरन्तर पाँच दिनसम्म छलफल हुने माओवादी केन्द्रले जनाएको छ।

एमालेको आरोप सभामुखलाई दबाब

क्विन्टल सुन तस्करी प्रकरण छानबिन गर्न समिति गठन गर्नुपर्ने अडान राखेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सत्ता पक्षका कारण संसद् बन्धक बनेको आरोप लगाएको छ। एमालेले सत्ता पक्ष प्रतिपक्षी दलको मुख थुन्न लागेको आरोप समेत लगाएको छ।

संसद्मा गृहमन्त्री मात्रै बोल्ने भने पछि प्रतिनिधिसभाको बैठक चल्न नसकेको अध्यक्ष केपी शर्मा ओलीले बताए।

सरकारले नै संसद् चल्न नदिएको ओलीको भनाई छ। ‘हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन। सांसदहरूले बोल्न पाउनुपर्छ भनेका हौँ। तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद् रोकेको हो,’ ओलीले भने, ‘सरकारले बालुवाटारको सहमति संसद्मा पुग्दा केपी ओलीले छाड्यो भनेर कुप्रचार गर्‍यो।’

सुन प्रकरण छानबिनका लागि समिति गठन गर्नुपर्ने मागमा अरू प्रतिपक्षी दलहरू एकमत नभएपछि एमाले अध्यक्ष ओलीको बोली फेरिएको छ। सुनकाण्डबारे सांसदहरूले बोल्नु पाउनु पर्ने माग गर्दा सभामुखलाई दबाब दिएर सरकारले संसद् बैठक सूचना टाँसेर स्थगित गराएको ओलीले आरोप लगाए।

‘तपाईँहरूले गरिरहेको छानबिन गर्नुस् । तर उहाँहरू आफैँ मुछिनुभएकाले निष्पक्ष छानबिनका लागि हामीले उच्चस्तरीय समिति बनाऔँ भनेका हौँ’, ओलीले भने, सर्वसाधारणको एउटा सिक्री समात्ने सरकारले दिनकै क्विन्टलका क्विन्टल सुन तस्करलाई पठाइरहेको छ। त्यत्रो सुन नदेख्ने भए त्यहाँ भन्सार किन राख्या? जनतालाई मात्र दुःख दिन राखेको?’

काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा क्विन्टल सुन प्रकरणमा मौन बस्नुको कारण के हा ? भनेर प्रश्न समेत गर्नु भएको छ। सुन तस्करी प्रकरणमा काँग्रेस चुइँक्क बोल्न नसकेको भन्दै उनले भने, ‘देउवाजी के छ विचार?’

ओलीले आफूहरूबाहेक अरू कसैले पनि देश चलाउन नसक्ने भन्दै मिसन ०८४ मा लाग्न कार्यकर्तालाई निर्देशन पनि दिएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading