अरबपति चौधरीलाई एसियन अवार्ड

अरबपति चौधरीलाई एसियन अवार्ड

काठमाडौं : चौधरी ग्रुपका अध्यक्ष एवं सांसद विनोद चौधरीलाई एसियन अवार्डले ‘फिल्यान्थ्रोपिस्ट अफ दि इयर २०२३’ बाट सम्मान गर्ने भएको छ।

दुबईस्थित म्युजियम अफ दि फ्युचर भवनमा अक्टोबर ७ तारिखमा यस अवार्डका पूर्व विजेता, सेलिब्रेटी र प्रतिष्ठित अतिथीहरूकावीच हुने एक भव्य समारोहमा चौधरीलाई सम्मान गर्ने कार्यक्रम छ।

एसियन अवार्डले व्यवसाय, कला, प्रविधि, राजनीति, खेलकुद र समाज सेवामा उत्कृष्ट योगदान पुर्‍याउने प्रतिभालाई सम्मान गर्दै आएको छ। यस अवार्डबाट यसअघि आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकर, सर वेन किङ्स्ले, ब्रुसली, सचिन तेन्दुलकर, ज्याकमा, मदर टेरेसा, फ्रेडी मर्करी, अभिनेता ज्याकी च्यान लगायत सम्मानित भएका छन्।

नेपालका एक मात्र फोब्र्समा सूचीकृत अरबपति उद्योगी एवं समाजसेवी चौधरीले फाउन्डेसन मार्फत नेपालमा प्रभावकारी रूपमा सामाजिक कार्यहरू गर्दै आएका छन्। नेपालमा सन् २०१५ मा गएको महाभूकम्पका समयमा भूकम्प पीडितका लागि करिब तीन हजार घर बनाएर भूकम्पबाट अत्यन्तै प्रभावित १० जिल्लाका पीडितहरूलाई हस्तान्तरण गरेका थिए।

चौधरी फाउन्डेसनले सिन्धुपाल्चोकको गिरान्चौरमा ६१ ओटा पक्की घर निर्माण गरेको थियो। भूकम्पका बेलामा गरेको योगदान माथि फोब्र्स एसियाले चौधरीको कभर स्टोरी छापेको थियो।

विनोद चौधरीको नेतृत्वमा रहेको चौधरी फाउन्डेसनले सन् २०१९ मा सुरु भएको कोभिड महामारी पश्चात् कोभिड प्रभावित सर्वसाधारण नेपाली नागरिकको उपचारलाई सहज बनाउन वीर अस्पतालमा १८ बेडको आइसियु निर्माण गरी सञ्चालनमा ल्याएको थियो।

कोभिड महामारीको समयमा आइसियु बेडको अभावमा उपचार गर्न नपाएका सर्वसाधारण नागरिकका लागि उक्त वार्ड निर्माणले ठुलो राहत पुगेको थियो। फाउन्डेसनले कान्तिबाल अस्पतालको आकस्मिक वार्ड (इमर्जेन्सी वार्ड) निर्माण गरी हस्तान्तरण गरेको थियो।

त्यस्तै, चौधरी फाउन्डेसनले सरकारलाई पिसिआर रिएजेन्ट र भेन्टिलेटरहरू पनि सहयोग गरेको थियो। अहिले चौधरी फाउन्डेसन नेपालका दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन स्थानीय अस्पतालहरूको गुणस्तर अभिवृद्धि गरी स्थानीय नागरिकले घर नजिकै गुणस्तरीय सेवा पाउने वातावरण बनाउन लागिरहेको फाउन्डेसनले जनाएको छ।

चौधरी फाउन्डेसनले शिक्षा, स्वास्थ्य, विपत् व्यवस्थापन, उद्यमशीलता विकास, सीप र जीविकोपार्जन, महिला सशक्तीकरण, आध्यात्मिक एवं सम्पदा संरक्षण क्षेत्रमा काम गर्दै आएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको उद्यमशीलता, जीविकोपार्जनमा भने चौधरीको सहयोग देखिन बाँकी छ।

चौधरी एक सफल नेपाली उद्योगी, लेखक, राजनीतिज्ञ तथा समाज सेवी हुन्। नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका चौधरी नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद रहेका छन्। अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त चौधरीको आत्मकथा विश्वका विभिन्न सात भाषामा प्रकाशित छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading