कीर्तिपुरको गाईजात्रामा निस्क्यो र्‍याली, शनिवार नाटक प्रदर्शन

कीर्तिपुरको गाईजात्रामा निस्क्यो र्‍याली, शनिवार नाटक प्रदर्शन

काठमाडौं : यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका नागरिकहरूले गाईजात्रा पर्वको दिन कीर्तिपुरमा र्‍याली निकालेका छन्। तेसोलिंगी, समलिङ्गी, अन्तरलिंगी र दुईलिंगी व्यक्तिहरूको पहिचान र अधिकारका लागि समर्पण सभ्य समाज नेपालले पहिलो पटक कीर्तिपुरमा र्‍याली निकालेको हो।

कीर्तिपुरको बाघ भैरवबाट उमा महेश्वरको मन्दिरसम्म यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले स्थानीय समेतको साथमा र्‍याली निकाले। समलिङ्गी, तेस्रोलिंगी प्रति समाजमा हुने भेदभाव र घृणा अन्त्य गर्ने सभ्य समाजको अभियानमा स्थानीयले पनि साथ दिएका छन्।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले आफूहरूको फरक पहिचानलाई सम्मान गरिदिन र्‍याली मार्फत आग्रह गरेका छन्। गाईजात्राको दिन आफूहरू कीर्तिपुरमा पहिलो पटक र्‍याली सहित निस्कन पाउँदा खुसी लागेको सभ्य समाजका अध्यक्ष तीर्थमान शाक्यले बताए। उनले शनिवार दिउँसो ४ बजे कीर्तिपुरको बाघ भैरवमा सडक नाटक प्रदर्शन गर्न लागेको जनाकारी दिँदै उपस्थितिका लागि अनुरोध पनि गरे।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक प्रति समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार बदल्न कीर्तिपुरमा गाईजात्रा र्‍याली निकालेको सभ्य समाजका सचिव हनि महर्जनले बताए। ‘संस्था दर्ता भएपछि पहिलो पटक र्‍याली निकालेका हौँ, नील हिरा समाजको जस्तो धेरैलाई सहभागी गराउन सकेनौ,’सचिव महर्जनले भने,‘हामीसँग त्यस्तो बजेट पनि छैन, हामी सबैले भोलेन्टियर नै गरेर र्‍याली निकाल्यौ।’

उनले आफूले आफूलाई अर्धनारेश्वरको रूपमा पनि हेर्ने गरेको बताए। ‘आज हामीलाई धेरै खुसी लागिरहेको छ, नयाँ संस्थाले पनि चाह्यो भने थोरै मात्र किन नहोस् यसरी सहभागी भएर समाजलाई देखाउन सक्छौ भन्ने सन्देश लिएर हामी हिँड्यौ,’उनले भने,‘हामीसँग सहभागी हुनु भएका सबैलाई धन्यवाद दिन चाहन्छु।

सभ्य समाज निर्माणका लागि सडक नाटक

स्थानीयको साथ पाउँदा धेरै खुसी लागेको महर्जनले बताए। तर, बुझेका व्यक्तिबाट अझै पनि लाञ्छना र भेदभाव सहनु परेको उनले सुनाए। ‘बुझेका व्यक्तिहरूले नबुझेको झैँ गरेर भेदभाव हुने शब्दहरू प्रयोग गर्छन्,’उनले भने,‘त्यस्ता शब्दले मेरो परिवारलाई नराम्रो लाग्छ, तर पनि परिवारको साथ समर्थन पाइरहेको छु,त्यसमा खुसी छु।’

उनले ‘समाजले के भन्ला?’ भन्ने शीर्षकमा शनिवार प्रदर्शन हुन लागेको नाटक अवलोकनका लागि सबैलाई आमन्त्रण पनि गरे। उनका अनुसार पहिलो संविधान सभा सदस्य सुनिलबाबु पन्तकै पहलमा कीर्तिपुरमा समर्पण सभ्य समाज नेपाल स्थापना भएको जानकारी दिए।


स्थापनाको पहिलो वर्षमै समाजले स्वतःस्फूर्त गाईजात्रा पर्वमा र्‍याली निकाल्न सफल भएकोमा खुसी लागेको बताउँदै सचिव महर्जनले अझ धेरैलाई बुझाउन आवश्यक रहेको सुनाए। ‘सुनिलबाबु पन्तले नील हिरा समाज संस्था स्थापना नगरेको भए समाजको अगाडी आफ्नो पहिचान सहित आउन सक्दैनथ्यौ,’महर्जनले भने,‘समर्पण सभ्य समाज पनि उहाँ(पन्त)कै देन हो,यस मार्फत हामी देशव्यापी जनचेतना जगाउँदै अधिकार प्राप्तिको अभियानलाई सशक्त बनाउँछौ।’

समर्पण सभ्य समाजको प्रश्न : तेस्रोलिंगीका सन्तानको शिक्षामा विभेद किन?

नमस्तिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायप्रति लाञ्छना र भेदभाव नहोस् भन्नका लागि सांस्कृतिक सहर कीर्तिपुरमा खुलेर गाईजात्राको दिन पहिलो पटक र्‍याली सहित निस्कन पाउँदा खुसी लागेको सुनाए।

र्‍यालीमा सहभागीहरूले तेस्रोलिंगीसँगै हिँड्न पाउँदा खुसी लागेको बताए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकलाई भिन्नता गर्नु नहुने सुझाव पनि सहभागीहरूले दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading