भुटानी शरणार्थी मुद्दाका प्रतिवादीहरूको दसैँ जेलमै

भुटानी शरणार्थी मुद्दाका प्रतिवादीहरूको दसैँ जेलमै

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी मुद्दामा लगाउको मुद्दा साथै राख्ने आदेश दिएको छ। न्यायाधीश गोकर्ण डाँगी र नारायणप्रसाद रेग्मीको इजलासले लगाउको मुद्दा साथै राख्ने आदेश दिएको हो।

थुनामुक्त भई मुद्दाको पुर्पक्ष गरिपाऊँ भनी उच्च अदालतमा दर्ता भएको पुनरावेदन निवेदनमा सोही प्रकरणसँग जोडिएको अर्को निवेदन पनि आएपछि लगाउको मुद्दा साथै राख्ने आदेश भएर बिहीबारको सुनुवाइ सकिएको उच्च अदालत पाटनले जनाएको छ।

धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले दिएको आदेशविरुद्ध पुनरावेदन निवेदन दिएका केशव तुलाधरको कैफियत प्रतिवेदन आज (बिहीबार) आएकाले लगाउको आदेश भएको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधरलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि बालुवाटारको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पुन पक्राउ परेका थिए। अघिल्लो बिहीबार तुलाधरकै निवेदन परेकाले सुनवाइ हुन सकेको थिएन।

उनको कैफियत प्रतिवेदन साप्ताहिक पेशीमा चढे पछि आएकाले इजलासबाट लगाउको मुद्दा साथै राख्ने आदेश भएको प्रवक्ता भट्टराई बताए। ‘शुक्रवार नै साप्ताहिक पेशी तोकिने गरेको छ,’भट्टराईले भने,‘आज मात्र कैफियत प्रतिवेदन आएकाले पेशीमा राख्न सकिएन।’

नक्कली भुटानी शरणार्थी मुद्दा प्राविधिक कारणले अड्किरहेको छ। अब यो मुद्दा दसैँ बिदा पछिको बिहीबार मात्रै पेशीमा चढ्नेछ।

नक्कली शरणार्थी : निवेदन बुझ्ने आदेश

शरणार्थी प्रकरणमा जेल परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी मानव अधिकारवादी नेता टेकनाथ रिजालको दसैँ जेलमै बित्ने भएको छ।

घटस्थापनादेखि पूर्णिमासम्म बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाको सुनुवाइ नहुने भएकाले अब यो मुद्दा दसैँ पछिको बिहीबार मात्रै पेशीमा चढ्ने प्रवक्ता भट्टराईले बताए। ‘घटस्थापनादेखि पूर्णिमासम्म अदालतमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सुनुवाइ हुँदैन,’प्रवक्ता भट्टराईले पहिचानसँग भने,‘नक्कली शरणार्थी मुद्दाको सुनुवाइ पनि दसैँ बिदा पछि मात्रै हुन्छ।’

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै एकै व्यक्तिबाट ४५ लाखसम्म लिएर ठगी र सङ्गठित अपराध गरेको भन्दै काठमाडौँ जिल्ला अदालतले खाँण, रायमाझी, पाण्डे, राई, रिजाल लगायतलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।

नक्कली शरणार्थी : दुलालका वकिलको निवेदनले सुनुवाइ भएन

जिल्ला अदालतको आदेश बेरितको भएको र थुनामुक्त भएरै मुद्दा लड्न पाउनुपर्ने माग गर्दै प्रतिवादीहरूले उच्च अदालत पाटनमा निवेदन दर्ता गराएका थिए।
यसअघि नै ४ पटक पेशीमा चढिसकेको निवेदन बिहीबार लगाउको मुद्दा साथै राख्ने आदेश भएपछि पाँच पटक पेसीमा चढेर सुनुवाइ हुन सकेन। पहिलो पेशीमा कैफियत प्रतिवेदन माग गर्ने आदेश भएपछि दोस्रो पेसी निवेदक केशवप्रसाद दुलालका कानुन व्यवसायीले स्थगित गराएका थिए।

असोज ४ गतेको पेशी हेर्न नभ्याइनेमा परेको थियो भने असोज १८ गतेको पेसीमा न्यायाधीश दीपेन्द्र अधिकारीले हेर्दाहेर्दैमा राख्नुपर्ने भएकाले आफूले नसक्ने भनी अन्य आदेश गरेका थिए।

नरेन्द्र केसी, सानु भण्डारी, आङटावा शेर्पा, हरीभक्त महर्जन, लक्ष्मी महर्जन, सन्देश शर्मा, शमशेर मियाँ, गोविन्द चौधरी, आशिष बुढाथोकी, सन्दीप रायमाझी, दुलाल, टङ्ककुमार गुरुङ, सागर राई, रामशरण केसीविरुद्ध ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र सङ्गठित अपराधको मुद्दा चलिरहेको छ।

सम्बन्धित समाचारहरु

नक्कली शरणार्थी : बिहीबार सबै आरोपीको एकमुष्ट सुनुवाइ

नक्कली शरणार्थी : सबैको पुनरावेदन एकै ठाउँमा राखेर सुनुवाइ गर्ने आदेश

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading