पेट्रोलियम पदार्थको भाउ घट्यो, भाडा बढ्दा सरकार रमिते

पेट्रोलियम पदार्थको भाउ घट्यो, भाडा बढ्दा सरकार रमिते

691
SHARES

काठमाडौं : दसैँको मुखैमा सरकारले इन्धनको मूल्य घटाएको छ। नेपाल आयल निगमले आइतबार रातिदेखि लागु हुने गरी पेट्रोलमा ११ रुपैयाँ तथा डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले मूल्य घटाएको जनाएको छ।

निगमका प्रवक्ता मनोज कुमार ठाकुरले इन्डियन आयल कर्पोरेसन आइओसीबाट पेट्रोलमा ११ रुपैयाँ १८ पैसा र डिजेलको मूल्यमा ५ रुपैयाँ ३ पैसा घटेर आएको जानकारी दिए। सोही अनुसार सरकारले इन्धनको मूल्य समायोजन गरेको हो।

यसअघि १ सय ८३ रुपैयाँ पर्ने पेट्रोलको प्रतिलिटर १ सय ७२ रुपैयाँ पर्नेछ। डिजेल र मट्टितेलको १ सय १६ रुपैयाँ पर्ने निगमले जनाएको छ। खाना पकाउने ग्याँसको मूल्य भने यथावत् रहेको छ।

दसैँअघि सार्वजनिक यातायात र हवाई भाडाको मूल्य भने आकासिएको छ। चाडपर्वको मौका छोपेर यातायात व्यवसायी र वायु सेवा कम्पनीहरूले सर्वसाधारणको ढाड सेक्ने गरी मूल्य बढाएका हुन्।

अग्रिम टिकट बुकिङ खुला भएको भोलिपल्टै दसैँअघि पुग्ने गरी लामो सवारीको टिकट पाउन छोडेपछि यात्रुहरू समस्यामा परेका छन्। काठमाडौँ सुर्खेतको एक हजार ७८३ रुपैयाँ बस भाडा तोकिएकोमा अहिले दुई हजार ९ सय रुपैयाँसम्म असुली गरिरहेका छन्।

बस भाडा नै जहाज भाडानजिक पुर्‍याए पछि जहाजको भाडा दोब्बरभन्दा माथि पुर्‍याइएको छ। ६ हजार ६ सय रुपैयाँमा पाइने काठमाडौँ सुर्खेत हवाई भाडा हाल १४ हजारमाथि राखिएको छ।

६ हजार तोकिएको काठमाडौं–धनगढी उडानको भाडा अहिले २० हजारसम्म पुर्‍याइएको भन्दै सत्तारुढ नेपाली काँग्रेसनिकट विद्यार्थीहरूले विरोध जनाएका छन्।

नेपाल विद्यार्थी सङ्घ र तरुण दलका कार्यकर्ताहरूले आइतबार धनगढी विमानस्थलमै गएर हवाई भाडा वृद्धिको विरोधमा नाराबाजी गरेका छन्।

तर सरकार भने रमिते बनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले भाडा घटाउन नसकिने तर्क गरेका छन्।

ललितपुरको पुलचोकस्थित मन्त्री निवासमै पुगेका नेविसँघका विद्यार्थीको ज्ञापन पत्र बुझ्ने क्रममा उनले भाडा बढाउनु गैरकानुनी नभएको जिकिर गरे।

समाचार शेयर गर्नुहोस्
691
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.