विद्यालयको खाली जमिन बन्यो बगैँचा

विद्यालयको खाली जमिन बन्यो बगैँचा

काभ्रे : नमोबुद्ध नगरपालिकामा रहेको जनक माध्यमिक विद्यालय प्रवेश गर्ने बित्तिकै मनमोहक दृश्य देख्न पाइन्छ। ढकमक्क फुलेका रङ्गीबिरङ्गी सयपत्री फूलको सुन्दरताले विद्यालयको गरिमालाई उचाइमा पुराएको छ।

विद्यालय भवन वरपरका खाली जमिन बगैँचा बनाइएको छ। जसले खाली जमिनको सदुपयोग मात्र हैन विद्यालयको सुन्दरतालाई बढाएको छ। विगतका वर्षहरूमा बनमारा, कुरो र विभिन्न झारहरूले ढाकेको ठाउँमा यो वर्ष सयपत्री फक्रिएको छ।

जनक मा.वि.मा अध्ययनरत कक्षा ८ देखि १२ सम्मका १५ जना विद्यार्थीहरू फूलखेतीमा संलग्न छन्। विद्यालय परिसरको २ रोपनी क्षेत्रमा सयपत्रीका बिरुवा खरिद गर्न करिब ३० हजार रुपैयाँ विद्यालयले लगानी गरेको छ भने सङ्घीय सरकारबाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो।

विद्यालय परिसरमा रोपिएका करिब १५ सय बोट फूलहरू विक्रीका लागि तयारी छन्। घटस्थापनादेखि नै विद्यालय बन्द भए पनि विद्यार्थीहरू फूलबारीको रेखदेखमा व्यस्त छन्। उनीहरूले दैनिक बिहान र साँझ एक एक घण्टाको समय फुलको रेखदेखका लागि छुट्टाएका छन्।


नमोबुद्ध नगरपालिका वडा नं ४, मेथिनकोटमा रहेको जनक मा.वि.का शिक्षक र विद्यार्थीले पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूलखेती गरेका हुन। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत जनक माविमा २०७८ चैत्रदेखि ‘पढ्दै कमाउँदै कार्यक्रम’ लागू गरिएको छ।

विद्यालयले फूलखेतीलाई आम्दानीको स्रोत मात्र नभई व्यवहारिक र सैद्धान्तिक ज्ञान प्राप्तिको अवसर रूपमा लिएको छ। तिहारलाई लक्षित गरी उत्पादित सयपत्री फूल बिक्री गर्न थालिएको छ।

तिहारको अवसरमा आवश्यक फूल खरिद गरी विद्यार्थीहरूमा हौसला थपिदिनका लागि विद्यालयले स्थानीयलाई अनुरोध गरेको छ। फूलखेती राम्रोसँग फस्टाएपछि कमाइ पनि राम्रै हुने अपेक्षा विद्यार्थीहरूले गरेका छन्।

तिहारको अवसरमा फूल बिक्री गरी करिब १ लाख रुपैयाँ आम्दानी हुने अनुमान गरेका छन्। फूल बिक्रीबाट सङ्कलित रकमबाट विद्यार्थीहरूले मुस्ताङ घुम्न जाने योजना बनाएका छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading