भुटानी शरणार्थी बहिनीको रोएरै बितेको तिहार

भुटानी शरणार्थी बहिनीको रोएरै बितेको तिहार

काठमाडौं : भुटानी शरणार्थी धनमाया अधिकारीको तिहार यो वर्ष पनि खल्लो बनेको छ। भुटानमा राजनीतिक बन्दी बनाइएका ओमनाथ अधिकारीकी बहिनी धनमायाले भाइटिकाको दिन रोएरै बिताइन।

उनले १५ वर्षदेखि भुटानमा राजनीतिक बन्दी बनाइएका दाइ ओमनाथ झापाको बेलडाँगी शरणार्थी शिविरमा कुरेर बसेकी छन्। तर, ओमनाथ रिहा नहुँदा धनमाया निराश बनेकी छन्।

केही समय अघि रिहा भएर शरणार्थी शिविरमा आएका मधुकर मगरका अनुसार ओमनाथ धेरै बिरामी छन्। उनलाई कठोर यातना दिएर राखिएको छ। बाच्नका लागि सङ्घर्ष गरिरहनु परेको मगरले धनमायालाई सुनाएका छन्।

भुटानी राजनीतिक बन्दी रिहाका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक राम कार्कीसँगको कुराकानीमा धनमायाले ओमनाथ रिहा हुने आशा मात्रै रहेको बताइन। ‘म मेरो एक मात्र दाइलाई असाध्यै सम्झन्छु, विशेष गरी भाइटिकाको समयमा, र म उसलाई सम्झेर दिनभर रोएँ’ उनले भनिन्।

उनका दाइ थिम्पुको चेमगाङ जेलमा छन्। ओमनाथलाई भेट्न आमा थिम्पु जान भारतीय अध्यागमन कार्यालय जयगाउँ पुगिन। तर, उनलाई भारतको अध्यागमनले भुटान प्रवेश गर्न नदिएको धनमायाले बताइन।

उनले भनिन्, ‘म २०२३ मा, वर्षौँको सङ्घर्ष पछि, आइसीआरसीले मेरी आमालाई थिम्पुको चेमगाङ जेलमा मेरो दाइलाई भेट्ने व्यवस्था गर्‍यो, तर उनी यात्रा गर्दा, जयगाउँको भारतीय अध्यागमन कार्यालयले भुटान प्रवेश अस्वीकार गर्‍यो।’

आइसीआरसीले ओमनाथकी आमाको यात्रा अनुमति दिन पुन आग्रह गरेको छ। आमाले चेमगाङ जेलमा रहेका बिरामी छोरालाई भेट्ने इच्छा कायम राखेको धनमायाले बताइन। ‘आमा ओमनाथ अधिकारी आउने बाटो हेरेर शिविरमा बसिरहनु भएको छ,’धनमायाले भनिन्,‘त्यसैले उहाँले पुनर्वासको विकल्प रोज्नुभएन, र म एक्ली आमालाई छोडेर पुनर्वासमा जान हिम्मत गर्न सकिन।’

ह्युमन राइट्स वाचद्वारा प्रकाशित प्रतिवेदन अनुसार ओमनाथ सन् २००८ को फेब्रुअरीमा सर्बाङ भुटानबाट पक्राउ परेका थिए। राजनीतिक पर्चा बाँड्दा उनी चेमगाङ केन्द्रीय कारागारमा आजीवन जेल परेका छन्।

अहिले पनि भुटानका विभिन्न कारागारमा ३६ राजनीतिक कैदी बन्दी रहेका छन्, जसमध्ये अधिकांश थिम्पुको चेमगाङ केन्द्रीय कारागार र वाङ्दीको रबुना कारागारमा छन्।

परिवारको बारम्बार अपिलको बाबजुद भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल अभियान, ह्युमन राइट्स वाच, एमनेस्टी इन्टरनेशनल, युरोपेली सङ्घ र अन्य नागरिक समाजले भुटानमा आफ्ना सबै राजनीतिक बन्दीहरूलाई रिहा गर्न आग्रह गरिरहेको छ। तर, भुटानले राजनीतिक बन्दी रिहाइ गर्न बेवास्ता गरिरहेको छ।

बाहिरी संसारमा भुटानले सडकको कुकुरसहित देशका सबै जना खुसी रहेको दाबी गर्छ। तर, यथार्थमा भुटानभित्र राजनीतिक परिवर्तन र मानवअधिकारको वकालत गरेको भन्दै मानवअधिकार र राजनीतिक कार्यकर्तालाई पनि आजीवन कारावासको सजाय सुनाइएको राजनीतिक बन्दी रिहाइका लागि अन्तर्राष्ट्रिय अभियानका संयोजक कार्कीले बताए।

संयोजक कार्कीले भुटानी राजले राजनीतिक बन्दीहरू रिहा गर्ने, मानवीय पीडाहरू अन्त्य गर्ने, उनीहरूको दैनिक जीवनमा उचित पुनर्स्थापनाको लागि पूर्ण जिम्मेवारी लिने समय आएको उल्लेख गरेका छन्। उनले राजनीतिक बन्दीहरूलाई रिहा गरेर परिवारसँग मिलन गर्न दिनु पर्ने बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading