सम्पादकहरूसँग प्रधानमन्त्री : सुरक्षा निकाय हाई अलर्टमै, टिकटक चलाउन दिने सङ्केत

सम्पादकहरूसँग प्रधानमन्त्री : सुरक्षा निकाय हाई अलर्टमै, टिकटक चलाउन दिने सङ्केत

काठमाडौं : सरकार मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँगै पूर्वराजावादीहरुको आन्दोलनबाट तर्सिएको छ। आन्दोलन मार्फत अराजकता निम्त्याउन खोजेकाले अहिले पनि सुरक्षा निकायलाई हाई अलर्टमा राखिएको सरकारले बताएको छ।

दमनको तरिका अपनाउँदा भयावह हुन सक्ने र केही नगर्दा सार्वजनिक सम्पत्तिको क्षति हुने देखेर काठमाडौँको माइतीघरमा एक महिने निषेधाज्ञा जारी गरिएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताए। तर, ललितपुरको मन्त्री निवास वरपरको क्षेत्रमा ६ महिना निषेधाज्ञा आदेश जारी गर्नेबारे आफूलाई थाहा नभएको उनले बताए।

विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले ६ महिना निषेधाज्ञा लगाउने कुरा जायज नभएको बताए। प्रचण्डले माइतीघर मण्डलामा भने बाह्रै महिना निषेधाज्ञा लगाउनु पर्ने बताए।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रचण्डले संविधान र लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्ने विरुद्ध सामूहिक प्रतिवाद गर्न दलहरू एकमत रहेको सुनाए। धर्मनिरपेक्षता, प्रदेश संरचना खारेज र अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउनेबारे दलहरुबीच कुनै छलफल नभएको प्रधानमन्त्री प्रचण्डको दाबी थियो।

अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउने सरकारको नीति नरहेको उनले बताए। सामाजिक सञ्जाल टिकटकलाई तत्कालका लागि प्रतिबन्ध लगाए पनि विधेयक बनाएर नियमन गर्ने गरी खोल्न सकिने प्रधानमन्त्री प्रचण्डले बताए। ‘अङ्कुश लगाउने कुनै सोच छैन, प्रधानमन्त्री प्रचण्डले भने, तपाईँहरू भन्नुहुन्छ भने नियमन गरेर चलाउन सकिन्छ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरेक बैठकमा टिकटक बन्द गर्न प्रस्ताव गर्नु भएको प्रचण्डले सुनाए। ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले तीन महिना पहिल्यै नै टिकटक बन्द गर्न प्रस्ताव गर्नु भएको प्रचण्डले बताए। ‘ओली र देउवाले सधैँ टिकटक बन्द गर्न किन ढिलो गरेको भनेर सोधिरहनुहुन्थ्यो,’ प्रधानमन्त्रीले भने, मैले नै रोकेर राखेको थिए, तीन महिना पछि बल्ल बन्द गरिएको हो।’

टिकटकका कारण घर परिवारमा हैरानी भएको उनले सुनाए। उनले आफ्नो घरमा पनि टिकटक चलाएर दिक्क बनाएको सुनाए। प्रधानमन्त्री प्रचण्डले सरकारका मन्त्री र सचिवहरूको लर्को लागेर हुने विदेश भ्रमण रोकिने बताए।

प्रधानमन्त्रीले भने, म समलिङ्गी विवाहको समर्थक हुँ

सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले अब यो रोकिने बताए। प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्नेबारे पहिचान अनलाइनले सोधेको प्रश्नमा प्रधानमन्त्रीले केही जवाफ दिएनन्।

उनले धर्मनिरपेक्षतालाई चलाए संविधान, लोकतान्त्रिक गणतन्त्र र सङ्घीयता नै कोल्याप्स हुने खतरा रहेको बताए। धर्मनिरपेक्षतामा काँग्रेस पनि संविधान भन्दा बाहिर नजाने उनले बताए। समस्याको समाधान संविधानबाटै निकाल्न सकिने भन्दै प्रधानमन्त्री प्रचण्डले अराजकताको बाटोमा नलाग्न अपिल गरे।

प्रधानमन्त्री प्रचण्डले अहिलेको गठबन्धन इनट्याक रहेको बताए। आफ्नो कार्यकालमा धेरै सुधारका ऐतिहासिक काम गरेको दाबी पनि उनले गरे। मिटरव्याजी, नागरिकता कानुन, भुटानी शरणार्थी, भुमाफिया तस्करी नियन्त्रण गरेर सरकार सुशासनको बाटोमा अगाडी बढेको प्रधानमन्त्री प्रचण्डले बताए।

सामाजिक सुरक्षा कोषको रकम उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने र त्यसमा योगदानकर्तालाई नै सेयर होल्डर बनाउने तयारी गरेको उनले सुनाए। जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन कोप २८ मा नेपाल अन्यायमा परेकाले न्याय मागेको उनले बताए।

उनले यो पटक नेपालले राम्रो आर्थिक लाभ लिन सक्ने उल्लेख गरे। प्रधानमन्त्री प्रचण्ड आइतबार मात्रै कोप २८ सम्मेलनमा सहभागी भएर स्वदेश फर्किएका थिए।

भारतीय विदेश मन्त्री आउने

भारतीय विदेश मन्त्री अर्को महिना नेपाल भ्रमणमा आउने भएका छन्। प्रधानमन्त्री प्रचण्डले भारतीय विदेश मन्त्री र सचिवको टोली नेपाल भ्रमणमा आउने निश्चित भएको बताए। उनले नेपालको भूमि फिर्ता गरिदिन भारतसँग आग्रह गरिरहेको बताए।

वार्ता र संवादका माध्यमबाट मात्र नेपाली भूमि फिर्ता ल्याउन सकिने उनले सुनाए। भारतीय विदेश मन्त्री नेपाल आउँदा पञ्चेश्वरको डिपिआर घोषणा गर्ने उनले बताए। ‘बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास पनि छिट्टै हुनेछ’उनले भने।

प्रधानमन्त्री प्रचण्डले एनसेलको सेयर बिक्रीबारे संचारमन्त्रालयसँग सोधनी गरेको बताए। एनसेलको सेयर बिक्रीबारे प्रचलित कानुनी प्रावधानको पालना भए नभएको विषयमा सरकारले अध्ययन गर्ने उनले बताए।

नेपाल दूरसञ्चार प्राधिकरण र कर प्रणालीसँग जोडिएकोले अध्ययन नगरी अघि नबढ्ने प्रधानमन्त्री प्रचण्डको भनाई थियो। अध्ययनका लागि मुख्यसचिवलाई निर्देशन दिएको उनले बताए।

विपिन जीवितै

प्रधानमन्त्री प्रचण्डले हमास इजरायल युद्धको क्रममा बन्धक बनाइएका कञ्चनपुरका विपिन जोशी जीवितै रहेको बताए। सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले हमासद्धारा बन्धक बनाइएका जोशी जीवितै रहेका जानकारी गराएका हुन्।

रुस युक्रेन युद्धका क्रममा ६ जना मारिएका जानकारी गराउँदै उनले रुसी सरकारलाई कुनै पनि नेपाली नागरिकलाई आर्मीमा भर्ती नलिनु भनेर पत्र पठाएको बताए। नेपाली नागरिक अन्य देशको सेनामा भर्ती हुन पाउने नीति नै नरहेको प्रधानमन्त्री प्रचण्डको भनाई थियो।

भूकम्प पीडितलाई ५० हजार

सरकारले भूकम्प पीडितलाई तत्काल ५० हजार रुपैयाँ नगद दिने भएको छ। जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पका लागि क्षतिग्रस्त ६० देखि ६५ हजार टहरा निर्माण गर्न तत्काल ५० हजार रुपैयाँ दिने निर्णय भएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

उनले अस्थायी आवास बनाउने जिम्मा नेपाली सेना र नेपाल प्रहरीलाई दिने निर्णय गरिएको जानकारी पनि दिए। आफैँ बनाउनेलाई नगद दिने र बनाउन नसक्नेको सेना र प्रहरीले बनाइदिने प्रचण्डले बताए।

उनले त्रिपालमुनि बसेका सबैको चिसोका कारण मृत्यु नभएको सुनाए। ‘कर्णाली प्रदेशका मुख्यमन्त्रीसँग बिहान मात्रै कुरा भएको थियो, सबै चिसोले मृत्यु भनेर आइरहेको छ, ३/४ जनाको कालगतीले नै मृत्यु भएको छ भन्नुभयो,’प्रधानमन्त्री प्रचण्डले भने,‘भूकम्प पीडितलाई राहत वितरण गर्ने काममा वेसिकल्ली सरकार सफल भएको छ।’

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading