युद्धग्रस्त मुलुकमा नेपाली, १० जनाको मृत्यु

युद्धग्रस्त मुलुकमा नेपाली, १० जनाको मृत्यु

काठमाडौं : मृत्युको प्रवाह नगरी ज्यानै जोखिममा राखेर नेपाली युवा युद्धग्रस्त मुलुकमा गइरहेका छन्। युद्धग्रस्त रुसमा मात्रै पछिल्लो १६ महिनामा ५९६ जना नेपाली पुगेको तथ्याङ्क वैदेशिक रोजगार विभागले दिएको छ।

अवैध रूपमा कति नेपाली त्यहाँ पुगेका छन् भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन। युक्रेनविरुद्धको युद्धपछि रुसले नेपालीहरूलाई आफ्नो सेनामा भर्ती गरिरहेको छ।

आफ्नो सैन्य समूहमा न्यूनतम एक वर्ष सेवा गर्ने विदेशीलाई नागरिकता नै दिने र अन्य सेवामा भन्दा चार गुणा बढी तलब दिने गरी कानुन जारी गरेपछि नेपालीहरूको आकर्षण बढेको छ।

स्वदेशमै रोजगारीको अवसर नपाएपछि विदेश कमाउन जानेहरूको तँछाडमछाड नै चलेको छ। रुस र युक्रेनमा पुगेका मध्ये अहिलेसम्म १० जना नेपालीले ज्यान गुमाएको परराष्ट्र मन्त्रालयले जनाएको छ। रुसी सेनामा कार्यरत थप ३ नेपालीको मृत्यु भएसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या १० पुगेको हो।

पछिल्लो पटक स्याङ्जाका हरि अर्याल, कैलालीका भरत बहादुर शाह र धादिङका राजकुमार गिरीको युद्धमा परेर मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता डा. अमृत बहादुर राईले जानकारी दिए। युद्धमा उनीहरू मारिएको जानकारी प्राप्त भए पनि कहिले मारिए र कसरी रुस पुगे भन्ने जानकारीमा नआएको प्रवक्ता राईले बताए।

युक्रेनको नियन्त्रणमा रहेका रुसी सेनामा कार्यरत चार नेपाली अझै रिहा हुन सकेका छैनन्। मृत्यु भएकाहरूको शव र युक्रेनले बन्दी बनाएका चार जनाको रिहाइका लागि कूटनीतिक पहल भइरहेको प्रवक्ता राईले बताए।

सरकारले विदेश जाने प्रवृत्ति रोक्न चुनौती रहेको बताएको छ। छिटो भन्दा छिटो सम्पत्ति आर्जन गर्ने मोहका कारण अनपेक्षित रूपमा विदेश जाने प्रवृत्ति बढ्दै गएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए।

उनले यो साँच्चिकै चुनौतीको विषय भएको बताए। काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विदेश जानेहरूको देशभक्तिमाथि पनि प्रश्न उठाएका छन्।

रोजगारी नपाएकाहरू मात्र नभएर देशभित्र रोजगारीका अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन हुनु राष्ट्रियता र देशभक्तिको अभाव त होइन भनेर प्रधानमन्त्रीले प्रश्न गरेका हुन्। यस्तो अवस्था आउनुमा पाठ्यक्रम दोषी हुनसक्ने उनको भनाई छ।

ठगी गर्नेको बिगबिगी

वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरूको बिगबिगी भएको छ। आकर्षक तलबको प्रलोभन दिँदै रकम असुल्नेहरू सक्रिय बनेका छन्। वैदेशिक रोजगारीका नाममा दश करोड बढी रकम ठगी गर्ने ‘एसइइ स्टार ट्रेनिङ सेन्टर’ का सञ्चालक ललितपुर केन्जोसोम गाउँपालिका–१ बस्ने ४७ वर्षीय लालबहादुर लामालाई प्रहरीले पक्राउ गरेको छ।

लामाले सुवास वाइबा, राजेश तुम्सीङ् मगर, दावा लामा समेतलाई लिथोनिया, क्यानडा, सिंगापुरमा आकर्षक तलब हुन्छ भनी प्रलोभनमा पारी पाँच लाखदेखि १५ लाख रुपैयाँसम्म लिएको खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।

ट्रेनिङ सेन्टरबाट ९ सय ९७ राहदानी बरामद गरिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। यस्तै कुवेत पठाउने भनी दुई लाख रुपैयाँ लिएर सम्पर्कविहीन बनेका तेह्रथुम घर भई हाल काठमाडौं बस्ने ४३ वर्षीय जुनु तुम्बाहाम्फे पनि पक्राउ परेकी छन्।

उनले कुवेतमा जान प्रतिव्यक्ति ५ लाख ५० हजार रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक एक लाख तलब हुन्छ भनी रस्मिता भुलोनबाट पटक–पटक गरी दुई लाख रुपैयाँ लिएकी थिइन्।

दक्षिण कोरियाको चिन्ता

दक्षिण कोरियाले इपीएसका विषयमा नेपालमा भएका गतिविधिलाई लिएर चिन्ता व्यक्त गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवलप्रसाद भण्डारीसँग मङ्गलवार मन्त्रालयमा भएको छलफलका क्रममा अरूलाई भन्दा बढी प्राथमिकतामा राख्दा पनि नेपाल संवेदनशील बन्दै गएको भन्दै नेपालका लागि कोरियन राजदूत पार्क टी योङको टोलीले चिन्ता व्यक्त गरेको हो।

यसले गर्दा कोरियाको मानव संसाधन विभाग र दूतावासका कर्मचारीहरू ‘सुरक्षा थ्रेट’मा परेको राजदूत पार्कले बताए। राजदूत पार्कले अहिले देखिएको भाषा विवादलाई टेक्निकल कमिटीको बैठकबाट टुङ्ग्याउने कुरा नेपाली पक्षलाई जानकारी गराएका छन्।

केही दिन अघि बालकुमारीमा उत्पादन क्षेत्रको परीक्षामा सहभागी हुन पाउनु पर्ने माग राख्दै सिपबिल्डिङमा अनुत्तीर्ण विद्यार्थीहरूको आन्दोलनका क्रममा दुई जनाको मृत्यु भएको थियो। आन्दोलन चर्किएपछि नेपालले एक पक्षीय निर्णयबाट सिपबिल्डिङका ३२ हजार विद्यार्थीहरूका लागि आवेदन खुलाएको छ। आवेदन फाराम भर्ने म्याद शुक्रवारसम्मका लागि थप गरिएको छ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका सुजन रावत र वीरेन्द्र शाहको शव गाउँमा लगेर अन्त्येष्टि गरिएको छ। उनीहरूको शव नेपाली सेनाको स्काई ट्रक एन ए–०६४ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुर्खेत लगिएको थियो।

सुर्खेतबाट हेलिकप्टरमा लगिएको सुजन रावतको शव दैलेख पुगेपछि परिवारले आफ्नो संस्कार अनुसार अन्त्येष्टि गरेको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए। अछामका वीरेन्द्र शाहको पनि अन्तिम संस्कार गरिएको प्रमुख जिल्ला अधिकारी शारदाकुमार पोखरेलले जानकारी दिए।

पुस १३ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरूले गरेको प्रदर्शन स्थलमा गम्भीर घाइते भएका दुवैले अस्पतालमा ज्यान गुमाएका थिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading