इन्द्रेणी पर्यटन : अन्तर्राष्ट्रिय सम्मेलन अघि राष्ट्रिय परामर्श

इन्द्रेणी पर्यटन : अन्तर्राष्ट्रिय सम्मेलन अघि राष्ट्रिय परामर्श

काठमाडौं : नेपालमा अन्तर्राष्ट्रिय ‘इन्द्रेणी पर्यटन’ सम्मेलन अघि राष्ट्रिय परामर्श हुने भएको छ। नेपाल पर्यटन बोर्ड र मायाको पहिचान नेपालले ५ माघ २०८० (जनवरी १९, २०२४) मा गर्न लागेको ‘इन्द्रेणी पर्यटन’ राष्ट्रिय परामर्शमा सहभागी हुन आव्हान गरेका छन्।

नेपालका सरकारी, निजी क्षेत्र र यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायबीच इन्द्रेणी पर्यटन सम्भाव्यताहरूलाई स्वीकार र प्रवर्द्धन गर्नको लागि सहकार्य बढाउनु परामर्शको उद्देश्य रहेको आयोजकले जनाएका छन्।

आयोजकका अनुसार राष्ट्रिय परामर्शले व्यवसायहरूलाई गुलाबी वा इन्द्रेणी पर्यटन बुझ्न र उनीहरूलाई थप समावेशी र स्वागतयोग्य बन्न कसरी अनुकूलन गर्न सकिन्छ भनेर मद्दत गर्ने लक्ष्य राखेको छ।

इन्द्रेणी पर्यटन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूलाई सम्भावित व्यापार वा रोजगारीका सम्भावनाहरू अन्वेषण गर्न सक्षम पार्नेछ। पहिले नै पर्यटन र आतिथ्य क्षेत्रहरूमा संलग्न वा रुचि राख्ने समुदायका सदस्यहरू, साथै हालै काम गरिरहेका वा इन्द्रेणी पर्यटनसँग संलग्न हुन इच्छुक ट्राभल/हस्पिटालिटी कम्पनीहरूलाई सहभागी हुन मायाको पहिचान नेपालले आव्हान गरेको छ। ‘यदि तपाईँ इच्छुक हुनुहुन्छ भने, कृपया मायाको पहिचानलाई सम्पर्क गर्नुहोस्। सीमित सिट मात्र उपलब्ध छ।’ मायाको पहिचान नेपालले विज्ञप्ति निकालेर भनेको छ।

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन नेपालको पर्यटन क्षेत्रका लागि गेमचेन्जर हुने अपेक्षा गरिएको पर्यटन बोर्डले जनाएको छ।

पर्यटन क्षेत्रबाट यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिक प्रत्यक्ष लाभान्वित हुन सक्ने एसियाकै पहिलो समलिङ्गी सभासद् सुनिलबाबु पन्तले बताए। ‘कस्तो खालको आर्थिक क्षेत्रमा दख्खल दिँदा र कस्ता कार्यक्रम ल्याउँदा यो समुदाय प्रत्यक्ष लाभान्वित हुन सक्छन्?’पन्तले भने,‘सबभन्दा सजिलो र राम्रो साथै नेपाललाई पनि फाइदा हुने टुरिजम नै हो, पर्यटन नै हो।’

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि नेपालको माहौल राम्रो रहेको उनले बताए। उनले यसलाई नेपालले क्यास गर्न सक्ने उल्लेख गरे। ‘अधिकार स्थापित भइसकेका देशका धेरै कमाउने नागरिकमा यो समुदायका व्यक्ति पर्छन्,’उनले भने,‘उता (विश्वमा) टिंङस अर्थात् डबल इन्कम नो किट्स भनेर शब्द पनि चलेको छ। यो समुदायलाई केन्द्रित गरेर पुरै टुरिजम प्याकेज डिजाइन गरिएको हुन्छ।’

नेपालमा पहिलो पटक १३ मङ्सिर २०८० मा लमजुङको दोर्दी गाउँपालिकाले माया गुरुङ्ग र सुरेन्द्र पाण्डेको इन्द्रेणी विवाह दर्ता गरेको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक जोडीको विवाह कानुनी रूपमा दर्ता गर्ने नेपाल दक्षिण एसियामै पहिलो देश बनेको छ।

पन्तका अनुसार होटलहरु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका लागि भनेर तयार गरिएका हुन्छन्। ‘त्यसलाई नेपालले क्यास गर्न सक्छ,’उनले भने,‘यहाँको माहौल पनि अहिले राम्रो छ।’

‘पिंक मनी’ भित्र्याउन खुसीको यात्रा

नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको अभियान सुरु हुनु भन्दा अगाडी पनि गे, लेस्बियन टुरिस्ट आउँदा कुनै पनि होटेलले कतै पनि विभेद नगरेको पन्तले बताए। ‘अहिले त कानुनी रूपमै स्वीकार्य भैसकेको अवस्थामा ढुक्क भएर आउन सक्नुहुन्छ’पन्तले भने।

नेपालको पुरानो सहरमा रहेका मातृसत्तात्मक चाडपर्व, सङ्केत, मूर्तिहरू, देवीदेवता एवं यौन आकृतिहरू हेर्न उनीहरू लालायित हुने पन्तले बताए। ‘त्यसलाई हामीले सोकेस गर्न सक्नुपर्छ। यो समुदायले आर्थिक क्रियाकलापमा आएर आफ्नो जीवन यापनलाई सहज बनाउन सक्छन्,’मायाको पहिचान नेपालका प्रमुख सल्लाहकार समेत रहेका पन्तले भने,‘यसले देशमा अझ बढी आयआर्जनको कुरा ल्याउन सक्छ।’

लामो समय अमेरिका बसेर नेपाल आएकी सनरोज मास्केले राष्ट्रिय परामर्श र अन्तर्राष्ट्रिय सम्मेलनमा आफूसँग ट्राभल गर्दा रहेको अनुभव सेयर गर्ने बताइन।
नेपाल पर्यटन बोर्डले विश्वभरका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई नेपालमा स्वागत गरिने बताएको छ। कतिपय देशमा पिंक होटेल एवं पिंक एयरलाइन्स समेत रहेको बोर्डले जानकारी पनि दिएको छ।

मायाको पहिचान नेपालका सचिव एवं नेपालमा पहिलो इन्द्रेणी विवाह दर्ता गर्ने जोडी सुरेन्द्र पाण्डेले सबैले रोजगार पाउनु खुसीको कुरा हुने बताए। ‘सबैले रोजगार पाउँदा सबै खुसी हुन्छन्,’पाण्डेले भने,‘हामी पनि खुसी हुन्छौ।’

यसअघि यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन जनवरी १८ र १९ मा नेपालमा गर्ने भनिएको थियो। तयारी नपुगेकाले पर्यटन बोर्ड र मायाको पहिचान नेपालले अन्तर्राष्ट्रिय सम्मेलन आउँदो मार्च महिनामा गर्ने गरी घोषित मितिमा इन्द्रेणी पर्यटन राष्ट्रिय परामर्श गर्न लागेको जनाएका हुन्। राष्ट्रिय परामर्श अन्तर्राष्ट्रिय सम्मेलनको तयारी समेत हुने आयोजकले जानकारी दिए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading