एनसेलका नेपाली सेयरधनीकै कारोबार देश बाहिर

एनसेलका नेपाली सेयरधनीकै कारोबार देश बाहिर

काठमाडौं : एनसेलको अधिकांश सेयर खरिद विक्री भएको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ। नेपाल सरकार मन्त्रिपरिषद्को २१ मङ्सिरमा बसेको बैठकले गरेको निर्णयबाट गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको हो।

३० दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न पूर्वमहालेखा परीक्षक टङ्कमणि शर्मा दंगालको संयोजकत्वमा गठित ५ सदस्यीय समितिले दोस्रो पटक थप भएको म्याद भित्रै प्रतिवेदन बुझाएको हो।

अध्ययन तथा छानबिनको क्रममा पूर्वनिर्धारित समय अपुग भएकोमा मन्त्रिपरिषद्को मिति २४ पुसको निर्णयबाट माघ १५ गतेसम्म समितिको म्याद थप भएकोमा थपिएको म्यादभित्रै सरकारले दिएको कार्यादेशबमोजिम अध्ययन तथा छानबिनको कार्य सम्पन्न गरी तयार पारेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको समितिका संयोजक दंगालले बताए।

समितिले अध्ययन तथा छानबिनको क्रममा नेपाल दूरसञ्चार प्राधिकरण, उद्योग विभाग, ठुला करदाता कार्यालय, कम्पनी रजिस्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैङ्कबाट आवश्यक कागज, प्रमाण, शेयर खरिद विक्री सम्झौता प्राप्त गर्ने, विभिन्न टेलिकम कम्पनीहरूको वेबसाइटबाट आवश्यक विवरणहरू सङ्कलन गर्ने, सङ्‌घीय संसद्का विभिन्न समितिहरूबाट प्राप्त निर्देशनहरू अध्ययन गर्ने, विज्ञ विशेषज्ञहरूसँग छलफल गरी राय सुझाव लिने, स्थलगत निरीक्षण गर्ने र सम्बन्धित पक्षहरूलाई समितिमा नै उपस्थित गराएर र भर्चुअल माध्यमबाट समेत सोधपुछ गर्ने समेतका कार्यहरू गरी त्यसको अध्ययन तथा विश्लेषण गरिएको समितिले बुझाएको प्रतिवेदनमा लेखिएको छ।

नेपालमा दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा (साबिकको स्पाइस सेल प्रा.लि.) २०५८ सालमा स्थापना भएदेखि कम्पनीको हालसम्म १४ पटक शेयर तथा स्वामित्व खरिद विक्री भएको देखिएको छ। ती खरिद विक्रीमा धेरैजसो कारोबारहरू नेपालबाहिर नै अफसोररूपमा भएको तर उक्त कारोबारहरूसँग सम्बन्धित लेनदेनका अभिलेख तथा विवरणहरू कम्पनीले नेपालका आधिकारिक निकायहरूमा पेस गरेको नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

अफसोर कम्पनीमा कानुन अनुसार प्रदान गरिएको अधिकांश सेवा कानुनी नै हुन्छ। कर छली वा अपराध गरेको मान्न सकिँदैन। तर, शङ्कास्पद रूपमा लिएर छानबिन गर्ने बाटो खुलेको छ।

कतिपय नेपाली सेयरधनीहरूको कारोबारको भुक्तानी नेपालको बैंकिङ्ग प्रणालीबाट नभई देशबाहिर समेत भएको देखिएको छ। एनसेलले हालसम्म १ करोड ३० लाखभन्दा बढी सिम कार्ड वितरण गरी मोबाइल सेवा प्रदान गरिरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

हालसम्म कर र गैरकर राजस्व गरी नेपाल सरकारलाई करिब ३ खर्ब २ अर्ब रुपैयाँ बुझाएको देखिएको छ। एनसेलले नेपालमा व्यवसाय सुरु गरेदेखि हालसम्म जम्मा ८ करोड रुपैयाँ विदेशी लगानी र २ करोड रुपैयाँ स्वदेशी लगानी गरेको तथा १ खर्बभन्दा बढी नाफा कमाई विभिन्न शीर्षकमा ६८ अर्ब रुपैयाँभन्दा बढी रकम विदेश लगेको देखिएको छ।

एनसेल आजियाटाले नेपाल सरकार समेतलाई कर र गैरकर गरी तिर्नु, बुझाउनु पर्ने ८५ अर्ब रुपैयाँ भन्दा बढी रकमको विषय विभिन्न तहका अड्डा, अदालतहरूमा मुद्दाका रूपमा विचाराधीन रहेको छ।

एनसेलको मातृ कम्पनी आजियाटा बर्हाडले दूरसञ्चार सेवाको क्षेत्रमा लगानी गरेका नेपाल बाहेकका मुलुकहरूको तुलनामा नेपालमा बढी प्रतिशतले करपछिको मुनाफा आर्जन गरेको देखिएको हुँदा आकर्षक मुनाफा कमाइरहेको अवस्थामा आजियाटाले १ डिसेम्बर २०२३ मा जारी गरेको विज्ञप्तिमा नेपालमा व्यावसायिक वातावरण अनुकूल नभएको भनी लगाएको आरोप तथ्यहीन रहेको छानबिन समितिले निष्कर्ष निकालेको छ।

‘आजियाटाले International Center for Settlement of Investment Disputes (ICSID) Tribunal मामध्यस्थको लागि दावी पेश गर्दा राज्य पक्षबाट वैधानिक अपेक्षा उल्लंघन गरेको आरोप लगाएकोमा सो Tribunal लेनेपालले वैधानिक अपेक्षा सिर्जना हुनेगरी कुनै कार्य गरेको प्रमाण आजियाटाले पेश गर्न सकेको नदेखिँदा वैधानिक अपेक्षाको उल्लङ्‍घन भएको नदेखिएको, स्वच्छ र समन्यायिक व्यवहार भएन भन्‍ने आजियाटाको दावी पनि स्थापित नभएको भनी निर्णय गरेको अवस्थामा उक्त कम्पनीले त्यस्तै प्रकृतिका आरोपहरू पुन:दोहोर्‍याएर विज्ञप्‍ति प्रकाशन गर्नु तथ्यसंगत नदेखिएको’प्रतिवेदनमा लेखिएको छ।

आजियाटा ग्रुप बर्हाड र स्पेक्ट्रालाइट यूकेवीच १ डिसेम्बर २०२३ मा भएको एनसेल आजियाटाको शेयर खरिद बिक्री सम्झौतामा उल्लिखित कारोबार समान व्यावसायिक व्यवहारको सिद्धान्तमा आधारित भएको नदेखिएको, विक्रीकर्ता पक्ष हाबी भई खरिदकर्ता पक्षमा स्वाभाविकभन्दा बढी सर्तहरू राखेको, शेयर विक्री पश्चात् वर्षौँसम्म पनि विक्रेताले आफूले विक्री गरेको कम्पनीको लाभांश लैजान पाउने, मुद्दा गर्न पाउने, कम्पनीको ऋण तथा दायित्वसमेत विक्रीकर्तामा नहुनेजस्ता सर्तहरू उल्लेख भएको देखिएकोले उक्त सम्झौता स्वतन्त्र ढङ्गले भएको स्वाभाविक सम्झौता मान्न सकिने नदेखिएको प्रतिवेदनमा उल्लेख छ।

वार्षिक रूपमा नै अर्बौँ मुनाफा आर्जन गरिरहेको नेपालकै ठुलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटाले विज्ञप्तिमार्फत सार्वजनिक गरेको शेयर कारोबारको व्यावसायिक मूल्य र सम्झौताका सर्तहरू स्वाभाविक नदेखिएको, खरिदकर्ताको प्राविधिक सक्षमता र करोडौँ ग्राहक रहेको टेलिकम कम्पनी सञ्चालन गर्न आवश्यक वित्तीय क्षमतासमेत सबल नदेखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

सुन्नुहोस समितिका संयोजक टंकमणी शर्मा दंगालसँगको कुराकानी

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.