सुन्तला अब राष्ट्रिय फल !

सुन्तला अब राष्ट्रिय फल !

काठमाडौं : नेपालमा उत्पादन हुने सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी भएको छ। कृषि तथा पुशपक्षी विकास मन्त्रालयले छलफल अध्ययन, अनुसन्धान गरेर सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने तयारी गरेको हो। 

सुन्तलालाई राष्ट्रिय फल बनाउन २०७५/७६ तिर सुरु भएको हो। सुन्तलालाई राष्ट्रिय फल घोषणा गर्ने प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा पठाउने कृषि मन्त्रालयले जनाएको छ।

नेपालमा करिब ६६ जिल्लामा सुन्तला खेती हुन्छ भने ४५ जिल्लामा व्यावसायिक खेती गरिन्छ। नेपालमा सुन्तला उत्पादन हुने क्षेत्रफल एक लाख ९८ हजार हेक्टर रहेको छ। 

उत्पादन औसतमा १७ लाख ७७ हजार टन हुने गरेको छ भने उत्पादकत्व ९.०१ छ। १० लाख हेक्टर सुन्तला उत्पादन हुने क्षेत्रफल छ। नेपालमा सुन्तलाजात फलफूल खेती परापूर्व कालदेखि मध्यपहाडी जिल्लामा हुँदै आएकोमा हाल आएर तराईका जिल्लामा पनि व्यावसायिक रूपमा सुरु गरेका छन्। 

सुन्तला हुने कतिपय पकेट क्षेत्रमा एक सय वर्षभन्दा बढी उमेरका सुन्तलाका बोट पाइन्छन्। नेपालमा सुन्तलाजात फलफूल उचित तापक्रम, पर्याप्त प्रकाश, अनुकूल वर्षा तथा उर्वरा माटोले गर्दा छिमेकी देशको भन्दा स्वादिलो र गुणस्तरको फल मानिँदै आएको छ।

नेपालमा अहिलेसम्म खानयोग्य प्रमाणित भएका ८१ वटा फल छन्। व्यावसायिक रूपमा ६० वटा जति फलको खेती गरिन्छ। तराईमा आँप, केरा, लिची आदि, मध्य पहाडको हकमा सुन्तला, कागती, जुनार, मोसम, भोगटे आदि र उच्च पहाडमा ओखर, स्याउ प्रमुख छन्।

पहिला पहिला नेपाली सुन्तला बङ्गलादेशमा निर्यात हुने गरेको थियो। अहिले पनि अनौपचारिक हिसाबले नेपाली सुन्तला विदेश निर्यात हुने गरेको कृषि मन्त्रालयकी प्रवक्ता सवनम सिवाकोटीले जानकारी दिइन। ‘औपचारिक रूपमा चीनमा निर्यात गर्ने पहल भएको छ,’उनले भनिन्,‘प्रधानमन्त्रीको चीन भ्रमणमा सुन्तला निर्यातको विषय उठाएका पनि थियौँ।’

प्रवक्ता सवनम सिवाकोटीसँगको कुराकानी सुन्नुहोस् 

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.