न्यायको तराजु र दृष्टिविहीनता

न्यायको तराजु र दृष्टिविहीनता

नेपालीमा एउटा भनाइ छ, ‘कानुन अन्धो हुन्छ।’ तर कानुन अन्धो होइन, न्याय अथवा न्यायका सम्पादकहरू चाहिँ आँखा भएर पनि छोपेर अन्धासरह हुनुपर्छ।

यहाँहरूले देख्नुभएको होला, न्यायको तराजु बोक्ने प्रतिमाहरूको आँखामा पट्टी कसिएको हुन्छ। यस्तो गरिएको किन होला ? न्याय सम्पादनमा सन्तुलन रहोस्, पक्षपात नहोस्, आफ्नो र अर्काको भन्ने विभेद हुन नपाओस् भनेर यस्तो गरिएको हो।

अब म मुद्दा र न्यायको सम्बन्धमा एउटा कथा भन्न गइरहेको छु।

एक दिन स्कुलको बिदामा एक शिक्षक बाख्रा चराउन गएछन्। त्यो गाउँमा दिउँसो गोठालालाई घरबाट चिया-खाजा पुऱ्याउने चलन थियो। अबेरसम्म श्रीमतीले चिया-खाजा नल्याएपछि गोठालो शिक्षक अत्तालिए। नजिकै एक जना दाउरेलाई उनले देखे।

दाउरेको नजिकै गएर उनले भने,‘दाउरे दाइ, मेरा बाख्रा एकै छिन हेर्दिनुस् है, म दौडिँदै घर पुगेर खाजा लिएर आउँछु; अनि सँगै बसेर खाउँला!’
दाउरेले झर्किँदै भने,‘जाऊ जाऊ, मलाई तिमीसँग कुरा गर्ने फुर्सद छैन। यहाँ मान्छेलाई दाउराको भारी नपुगेर कहाँसम्म भइरा’छ!’

दाउरेले बाख्रा हेरिदिने भएर ‘जाऊ जाऊ’ भनेको बुझेर गोठालो शिक्षक ढुक्कले घर पुगे। केही क्षणमा खाजाको पोको लिएर फर्किए पनि। बाख्राको टहल गरे, गन्ती गरे। सबै बाख्रा रहेछन्।

दाउरेसँग अति खुशी भएर शिक्षक गोठालाले भने, ‘दाउरे दाइ, तिमीले मेरा बाख्रा हेरिदियौ, तिम्रो सहयोगका लागि म धन्यवाद दिन्छु। खाजा पनि दिन्छु अनि एउटा बाख्राको पाठो पनि दिन्छु। लगेर बेच अनि पैसा कमाएर व्यापार गर! तिमीले जिन्दगीभरि दाउरा खोजेर बिताउनु पर्दैन!

गोठालोको कुरा सुनेर जङ्गिँदै दाउरेले भने,‘हैन, मलाई बेकारमा फाक्टा किन लगाको? मैले तिम्रो बाख्राको पाठो कहाँ बेचेँ? तिम्रा बाख्रातिर मैले फर्केर हेरेको पनि छैन! यसरी बिना कसुरको मुद्दा लाउन पाइन्छ?

‘हैन हैन, तिमीले मलाई सहयोग गरेबापत उपहार लिनैपर्छ। लैजाऊ एउटा पाठो। हाम्रोमा बाख्रा धेरै छन्। एउटा पाठो तिमीलाई दिएर हाम्रो सम्पत्ति कम हुँदैन! लानैपर्छ तिमीले!’ यसो भन्दै गोठालोले बाख्राको पाठो लगेर दाउरेको हातमा थमाउन खोजे! दाउरे डराउँदै, रिसाउँदै पर पर सर्दै गए। गोठालोले पछ्याउँदै वरिपरि घुमिरहे। उनीहरूका बीचमा गलफती पनि चली नै रह्यो!

यतिकैमा गाउँमा चोर्न पसेको एउटा चोरले गोरु चोरेर भाग्दै रहेछ। बाटो भुलिएर कता भाग्ने हो, अलमलिएछ। झाडीमा दाउरे र गोठालोलाई देखेर बाटो सोध्न आएको चोर, दुवै जनाले हतार हतार आ-आफ्नै गुनासो सुनाउन थालेछन्। गोठालोले भनेछन्, ‘हेर न बटुवा, यो दाउरेलाई मैले सहयोग गरेबापत बाख्राको पाठो दिन्छु भनेको, लानै मान्दैन!’

दाउरे उताबाट चर्किँदै बोले…‘मैले यो मान्छेको पाठो बेचिदिएँ भनेर आरोप लगाइरहेको छ!’ दाउरेलाई दिन भनेर गोठालोले हातमा समाइराखेको पाठोतिर देखाएर, ‘यी यो जस्तै पाठो तैँले बेचिस् भन्छ; लु न यहाँले यो झमेला मिलाइदिनु पऱ्यो हजुर!’

दुई जनाको कुरा सुनेर डराइरहेको गोरु चोरले अत्तालिँदै भन्यो,‘ए हजुर मैले चोरेको होइन। यो गोरु बाटोमा आउँदै रहेछ, मैले त धपाएको मात्र हो। तपाईँहरूको गोरु हो भने लानुहोस्। तर, मलाई केही नगरिदिनुहोस् हजुर!’

तीन जना बीचमा यसरी ताउरमाउर चलिरहेको थियो। एक जना दृष्टिविहीन भिक्षु त्यही बाटो भएर आफ्नो गाउँ फर्किँदै रहेछन्। उनले मौन व्रत लिएका थिए। तिनलाई देख्ने बित्तिकै बाख्रा गोठालो, दाउरे र गोरु चोर तिनै जना भेला भएर घेरे। आ-आफ्ना कुरा सुनाएर तीनजनाबीचको झमेला मिलाइदिन उनीहरूले भिक्षुलाई हार्दिक अनुरोध गरे।

दृष्टिविहीन भएकाले उनका आँखाको पलक-झप्की चल्दैन थियो। मौनव्रत लिएकाले उनी बोल्ने कुरो पनि आएन। तर, एकैक्षण उनले गोरु चोरतिर फर्किएर सिधा हेरेझैँ गरिदिए। आँखा झिम्म नगरी एउटा नबोल्ने मान्छेले अनुहारमा सिधा हेरेको हेरेकै गरेपछि चोरको सातो गयो! चोरले सुनेको थियो, नबोल्ने मान्छेहरू धेरै खतरा कूटनीतिज्ञ हुन्छन्।

त्यसमाथि आँखा चिम नगरी यसरी हेर्न सक्ने मान्छे त झन् …अन्तर्दृष्टिको हुन्छ रे! उसले सोच्यो, अब एकै मिनट पनि यहाँ बिताइयो भने मेरो उम्किने बाटो रहने छैन। गोरु छोडेर चोर सुइँकुच्चा ठोक्यो।

भिक्षुले फेरि दाउरेतिर अनुहार फर्काएर, दाउरेको पनि सातो अघि नै उडिसकेको थियो। उसले पनि भारी नपुगेको दाउरा बोकेर टाप कसे! रहे एक बाख्रा गोठालो शिक्षक! असमझदारीमा परेका दुई जना गइसकेकाले गोठालोको लागि पनि बाटो खुल्ला थियो। उनी पनि आफ्नै घरको बाटो लागे।

मौनव्रतधारी दृष्टिविहीन भिक्षु पनि मुस्कुराउँदै आफ्नो बाटो लागे।

वास्तवमा कुरो के रहेछ भने बाख्रा गोठालो, दाउरे र गोरु चोर तिनै जना कान नसुन्ने बहिरा रहेछन्। अल्प अल्प सुनेर जवाफ दिँदा रहेछन्। रिसाउँदै प्रतिक्रिया दिँदा रहेछन्।

बहिराहरूको छेउमा पुगेका दृष्टिविहीन भिक्षुले यसरी सहजै मुद्दा छिनिदिए। त्यो पनि एकै शब्द नबोली!

हामी पनि समाजमा ती बहिराझैँ गरिरहेका छौँ कि! हामीमा पनि अरूका कुरा सुन्ने धैर्य रतिभर छैन भनेर मनन गर्दैछौ के? खाली आफ्ना कुरा सुनाउन ठुलो ठुलो स्वरमा बोलिरहेका पो छौँ कि? भीडमा बोल्न नचाहने मौनव्रतीहरुलाई पर्खेर सुस्तरी कुरा गर्ने मौका प्रदान गर्दैछौं के?

त्यसो गर्न हिच्किराइरहेका त छैनौँ? अन्धाहरूको चर्मचक्षु नभए पनि स्पन्दनको दृष्टिचक्षु हुन्छ भनेर कुरा बुझ्नलाई झन्झट मानिरहेका पो छौँ कि! हाम्रो विवेकको घैँटोमा घाम कहिले लाग्छ भनेर समयको आङ्कलन पनि गर्दै गरौँ है! नत्र त दृष्टिविहीन मौनव्रतीहरु आएर हामीबीचको मुद्दा मिलाउन न्यायाधीश बन्नुपर्ने दिन आइलाग्न सक्छ!

भक्त घिमिरे नेपाली भाषा-साहित्य भुटानका पूर्वअध्यक्ष हुन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading