मिटरब्याज पीडितहरूको बिजोग, दूध किसानको आन्दोलन घोषणा

मिटरब्याज पीडितहरूको बिजोग, दूध किसानको आन्दोलन घोषणा

काठमाडौं : आफ्ना समस्या सुनाउन २४ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरूको पानी परेपछि बिजोग भएको छ। झापा र कञ्चनपुरबाट एकैसाथ पैदल मार्च सुरु गरेका मिटरब्याज पीडितले बिहीबार सिंहदरबार घेराउ गर्ने योजना बनाएका थिए।

तर, दिउँसो देखि काठमाडौँमा पानी परेपछि उनीहरूको कार्यक्रम प्रभावित भएको छ भने राति निदाउन समेत नपाउने भएका छन्। स्थानीय प्रशासनले समन्वय नगरेपछि थानकोट स्थित त्रिभुवन पार्कमा रात कटाउने योजनामा रहेका उनीहरू दिउँसो परेको पानीले निथ्रुक्क भिजेका छन्।

राति बस्ने ठाउँ पनि नभएपछि पिकनिक स्पटको ससाना छाप्रामा ओत लाग्ने व्यवस्था भएको आन्दोलनको नेतृत्व गरिरहेका नवीन नृगले जानकारी दिए। राति सुत्न पाउने अवस्था नरहेपछि आगो बालेर रातैभर जाग्राम बस्ने र शुक्रवार बिहान ८ बजे नै सिंहदरबार पुग्न मार्च सुरु गरिने उनले बताए।

कर्णाली प्रदेश बाहेक सबै प्रदेशका जिल्ला हिँडेर पूर्वदेखि पश्चिम तराईसम्म २८ जिल्लाका मिटरब्याजबाट पीडित दैनिक ३५ देखि ४० किलोमिटर हिँडेर राजधानी आइपुगे। पैदल यात्राका क्रममा गाडीको ठक्करबाट १८ जना मिटरव्याज पीडित घाइते समेत भएका छन्।

यात्रामा स्थानीयदेखि केन्द्र सरकारले एक पटक पनि नसम्झिएको गुनासो उनीहरूको छ। पैदल यात्राका क्रममा स्थानीय समाजसेवी सङ्घसंस्थाले भने सहयोग गरेको नृगले सुनाए।

यसअघि पनि पैदल मार्च गरेर धर्नामा बसेपछि सरकार मिटरब्याजमा ऋण दिनुलिनुलाई अनुचित लेनदेन भन्दै कानुन बनाउन बाध्य भएको थियो। तर, मिटरब्याज पीडितको समस्या ज्युँका त्युँ रहेपछि फेरी राजधानी केन्द्रित आन्दोलन गर्न बाध्य भएको उनले बताए।

उनीहरूले लघुवित्त र वित्तीय संस्था खारेजीका साथै सामूहिक ऋण मिनाहा गर्नुपर्ने, कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने लगायतका माग अघि सारेका छन्।

सरकार भने लघुवित्त र सहकारीका साथै मिटर ब्याज पीडितको समस्या समाधान गर्न गम्भीर रहेको दाबी गरिरहेको छ। संसद् भवन नयाँ बानेश्वरमा संचारकर्मीहरुसँग कुरा गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले सरकारले उनीहरूको समस्या समाधानका लागि आवश्यक पहल गरिरहेको सुनाइन।

यसअघि आयोग बनाएर नै मिटरब्याज पीडितको समाधानको प्रयास गरेको सरकारले आयोगको प्रतिवेदन भने थन्क्याएर राखेको छ। मन्त्री शर्माले भने पीडितहरूको समस्या समाधान हुने बताइन।

सरकारले दूध उत्पादक किसानहरूको माग सम्बोधन नगरेको भन्दै १५ वटा किसान सङ्गठनहरूले पनि आन्दोलनको घोषणा गरेका छन्। काठमाडौँमा पत्रकार सम्मेलन गदै किसानहरूले दूधको भुक्तानी गर्न बाँकी बक्यौता रकम तत्काल भुक्तानी गर्न, किसानले उत्पादन गरेको सम्पूर्ण दुग्ध खरिद गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

भारतबाट दूध र दूधजन्य पदार्थ आयात भएको विषयमा प्रभावकारी छानबिन र अनुगमन गरी आयात बन्द गर्न उनीहरूले माग गरेका छन्। किसानहरूको उत्पादित दूधमध्ये ५ देखि ६ लाख लिटर बिक्री वितरण हुन नसकेको किसान सङ्गठनहरूको दाबी छ।

पछिल्लो एक वर्षमा लम्की स्किन रोगको कारण पशुपालक किसानहरूले ७५ अर्ब भन्दा बढी बराबरको क्षति व्यहोर्न बाध्य भएको अवस्थामा दुग्धको करिब ६ अर्ब बराबरको बक्यौता रकम सरकारले भुक्तानी नदिँदा किसान थप समस्यामा परेको उनीहरूको भनाई छ।

नेपाल दुग्ध व्यवसायी सङ्घका अध्यक्ष विश्वराज घिमिरेले फागुन २१ गतेसम्म माग पत्र बुझाउने, राजमार्गमा चक्काजाम गर्ने र धर्ना विरोधका कार्यक्रम गर्ने आन्दोलनका कार्यक्रम सार्वजनिक गरे।

किसानहरूले आन्दोलन घोषणा गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन्।

प्रतिनिधि सभाको बैठकमा उनले देशभरका दूध किसान र मह किसानहरू मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको बताए।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading