सुन ‘उत्तरी क्षेत्रबाट हिँडेर, गुडेर र उडेर भारत’ तस्करी

सुन ‘उत्तरी क्षेत्रबाट हिँडेर, गुडेर र उडेर भारत’ तस्करी

मुद्दा चलाउनेदेखि विभागीय कारबाही गर्नेसम्मको सिफारिस

काठमाडौं : सुन तस्करी जाँचबुझ आयोगले तस्करीमा संलग्न कर्मचारीदेखि उच्चस्तरीय नेतामाथि मुद्दा चलाउनेदेखि विभागीय कारबाही गर्नसम्म सिफारिस गरेको छ।

हङकङबाट तस्करी गरेर ल्याएको ६० किलो सुन र इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर दुबईबाट ल्याएको सुनबारे करिब साढे ५ महिना अध्ययन अनुसन्धान र जाँचबुझ आयोगले विभिन्न सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ। आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सिंहदरबारमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका हुन्।

आयोगले बुझाएको प्रतिवेदनमा केही व्यक्तिमाथि सुन तस्करीमा पूरक मुद्दा दायर गर्न सिफारिस गरिएको छ भने भन्सार विमानस्थल, राजस्व र अध्यागमनका कर्मचारीलाई मुद्दादेखि विभागीय कारबाही गर्नसम्म सिफारिस गरिएको छ।

आयोगका अध्यक्ष आचार्यले सुन तस्करीमा संलग्नहरूलाई चार वर्गमा विभाजन गरी पूरक मुद्दा चलाउनेदेखि विभागीय कारबाही गर्नेसम्मको सिफारिस गरिएको जानकारी दिए।

छानबिनका क्रममा आयोगले बयान लिएका राजनीतिक व्यक्तिसहित ६८ जनालाई सुन तस्करीमा प्रत्यक्ष संलग्न, सहयोगी, राजनीतिक पहुँच भएका र बिचौलियाको भूमिका तथा संलग्नता नदेखिएकोमा वर्गीकरण भएका छन्।

अर्कोतर्फ कल डिटेल्स रिपोर्ट सिडिआर, डिजिटल फरेन्सिक ल्याब डिएफएलमा नियमित देखिएका व्यक्तिहरूको सूची तथा निर्दोष देखिएकाहरूको नामावली पनि प्रतिवेदनमा उल्लेख गरिएको अध्यक्ष आचार्यले बताए।

अनुसन्धानका क्रममा उत्तरी क्षेत्रबाट हिँडेर, गुडेर र उडेर नेपालको बाटो हुँदै भारततर्फ तस्करी हुने गरेको पाइएको अध्यक्ष आचार्यले बताए। नेपालको सुन तस्करी पानी जस्तै बगेर दक्षिणतर्फ बग्ने गरेको उनले सुनाए।

पानीलाई रोक्न नसकिए जस्तै सुन तस्करी रोक्न नसक्नुको प्रमुख कारण खुला सिमाना, नेपाल भारतबीचको सांस्कृतिक सम्बन्धलाई औँल्याइएको छ।

ब्रेक सु र भेपमा मात्रै नभई विभिन्न इलेकट्रोनिक सामानहरूमा सुन तस्करी हुने गरेको भन्दै आयोगले तस्करी भएको सुनको मात्रा नै अहिलेसम्म पत्ता लाग्न नसकेको बताएको छ।

सीआइबीले पत्ता लगाएको गोदाममा स्थलगत अनुगमनको क्रममा अन्य इलेकट्रोनिक सामानमा सुन तस्करी भएको देखिएपछि स्पेसल टास्क फोर्स बनाएर अनुसन्धान गर्न पनि प्रतिवेदनमा सुझाइएको आचार्यले बताए।

मन्त्रिपरिषद्ले असोज १४ मा गठन गरेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बुझ्दै गृहमन्त्री लामिछानेले सुझाव र तस्करी नियन्त्रण गर्न चाल्नुपर्ने कदममा आफ्नो विशेष ध्यान गएको बताए। अनुसन्धानमा कमजोरी गरेको देखिए र दोषीलाई छाडिएको देखिए कारबाही गर्न प्रतिबद्ध रहेको लामिछानेले प्रतिक्रिया दिए।

आयोगले सरकारलाई प्रतिवेदन बुझाएकै दिन संसद् बैठकमा काँग्रेस सांसद रामकृष्ण यादवले सहकारी ठगी र सुन तस्करी प्रकरणमा नाम जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई कारबाही गर्न माग गरेका छन्। सत्तारुढ दलका नेताका छोरा भएकाले दीपेश पुनलाई उन्मुक्ति दिने प्रपञ्च भइरहेको भन्दै उनले कारबाहीको माग गरे।

काँग्रेसकी सांसद शान्ति विकले अर्थमन्त्री वर्षमान पुन पनि १३० केजी सुन काण्डमा मुछिएको भन्दै सदनलाई जानकारी गराउन माग गरेकी छन्।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading