गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न प्रचण्डलाई गगनको चुनौती

गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न प्रचण्डलाई गगनको चुनौती

रविले लिएको १ करोड गैरकानुनी

काठमाडौं : हिजो प्रश्न गर्ने ठाउँमा थिए राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन बदले पछि उपप्रधान तथा गृहमन्त्री बनेका लामिछाने अहिले जवाफ दिने ठाउँमा पुगेका छन्।

प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षमा पुर्‍याएको नेपाल काँग्रेस अहिले सत्ता पक्षका नेताहरूले उतिबेला गरेको प्रश्नको जवाफ मागिरहेको छ। नक्कली भुटानी शरणार्थी, सुन काण्ड, बाँसबारी छाला जुत्ताकाण्ड, टेरामक्स, एनसेल घोटालासँगै सहकारी ठगीमा मुछिएकालाई कारबाही गर्न काँग्रेसले माग गरेको छ।

तत्कालीन प्रतिपक्षी एमाले र रास्वपाले संसद् अवरुद्ध गरे पछि सुन तस्करी जाँचबुझ आयोग गठन भएको थियो। आयोगले बुझाएको प्रतिवेदन अनुसार सोमबार मात्रै प्रधानमन्त्री प्रचण्डको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्ण बहादुर महरा पक्राउ परेका छन्।

भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग काँग्रेस महामन्त्री गगन थापाले सत्ता पक्षमै हुँदा पनि गर्दै आएका थिए। उनले सोमबारको प्रतिनिधि सभा बैठकमा पनि भ्रष्टाचारीलाई कारबाही गर्ने कुरामा पूर्ण समर्थन रहने बताए।

सत्तामा हुँदा महामन्त्री थापाले भनेका थिए,‘ठुलो होस् कि सानो, नेता होस् कि नाता, सत्तापक्ष होस् कि प्रतिपक्ष, दोषी जोकोही होस् नउम्कियोस् निर्दोष नफसोस्।’

बाँसबारीको सरकारी जग्गा काण्डमा आफ्नै पार्टीका नेता सांसद विनोद चौधरी र टेरामेक्स काण्डमा काङ्ग्रेस कै बहालवाला मन्त्री मोहनबहादुर बस्नेत मुछिदा पनि महामन्त्री थापाले सदनमा ‘झन्डा हल्लाउँदै अख्तियारमा बयान दिन जानेलाई घर पठाइयोस्’ भनेका थिए।

सोमबारको संसद् बैठकमा पनि उनले ‘रुखको छहारीमा बस्ने होस कि घाम ताप्ने होस्, हँसिया हतौडा बोक्ने होस् कि घण्टी बजाउने होस् दोषी नउम्कियोस् निर्दोष नफसोस्’ भनेर आवाज उठाएका छन्।

सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने माग काँग्रेस महामन्त्री थापाले गरेका छन्। उनले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभए पनि गृहमन्त्री लामिछानेले एक करोड रुपैयाँ गैरकानुनी रूपमा लिएको भन्दै यस प्रकरणमा छानबिन हुनुपर्ने बताए।

लामिछानेले आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन भनेको भरले उन्मुक्ति पाए अर्बौँ रुपैयाँ ठग्ने अरू सय जनाले पनि उन्मुक्ति पाउने थापाले उल्लेख गरे। ‘पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ। पोखरा महानगरपालिकाले अध्ययन गर्‍यो। अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो। रिपोर्टले भन्यो सय जना मानिसहरूले नक्कली खाता खोलेर करिब १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्,’थापाले भने,‘त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरू मध्येको एउटा नाम हो रवि लामिछाने। तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ। सहकारीको सदस्य हुनुहुन्न। हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानुनी छ।’

उनले गृहमन्त्री लामिछानेमाथिको अनुसन्धानबारे प्रधानमन्त्री प्रचण्डले जवाफ दिनु पर्ने माग गरे।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading