२०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान शुभारम्भ

२०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियान शुभारम्भ

नेपाललाई रेन्बो पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने मायाको पहिचान नेपालको लक्ष्य

काठमाडौँ : युएसएआईडी र नेपाल पर्यटन बोर्डको सहकार्यमा र स्टेलर नामक यात्राबाट प्रेरित कथ्य साझा गर्ने प्रसिद्ध विश्वव्यापी मञ्चसँगको साझेदारीमा सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको शुभारम्भ भएको छ।

अभियानले नेपालको समृद्ध इतिहास, सांस्कृतिक विविधता र प्रचुर मात्रामा पर्यटनका अवसरहरूलाई विश्वव्यापी दर्शकमाझ प्रस्तुत गर्ने लक्ष्य लिएको युएसएआईडीले जनाएको छ।

सन् २०२४ को अन्तर्राष्ट्रिय पर्यटन अभियानको लोगोमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान सहितको अधिकारका लागि स्थापना भएको मायाको पहिचान नेपाल पार्टनरको रूपमा रहेको छ। यो अभियानमा मायाको पहिचान नेपालले सहकार्य गरिरहेको जनाएको छ।

मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तले नेपाललाई रेन्बो (इन्द्रेणी) पर्यटन गन्तव्यको रूपमा स्थापित गर्ने गरी काम गरिरहेको बताए।

मायाको पहिचान नेपालले अप्रिल २० र २१ मा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा पहिलो पटक पिंक टुरिजम इन्टरनेशनल कन्फ्रेन्स आयोजना गर्न लागेको छ।

सन् २०२३ को अभियानले १ करोड ६३ लाखभन्दा बढी यात्रुसम्म पुगी १ करोड ५८ लाख अमेरिकी डलर बराबरको मिडिया मूल्य आर्जन गरेको युएसएआईडीले जनाएको छ। उक्त सफलताका जगमा यस वर्षको अभियानले थप कार्य गर्नेछ।

अभियानको दोस्रो चरण अर्थात् सन् २०२४ को अभियानमा स्टेलरका अन्तर्राष्ट्रिय डिजिटल सामग्री सर्जकहरू सहभागी हुनेछन्। उनीहरूले काठमाडौँ, पोखरा, बर्दिया र इलामजस्ता मुख्य गन्तव्यमा घुम्ने क्रममा मनमोहक भिडियो र फोटोहरूमार्फत नेपालको सौन्दर्यलाई कैद गर्नेछन्।

दुई करोडभन्दा बढी दर्शकसम्म पुग्ने अपेक्षा गरिएको अभियानको उद्देश्य पर्यटक आगमनलाई प्रोत्साहित गर्नु र नेपाललाई एक प्रमुख पर्यटन गन्तव्यका रूपमा स्थान दिनु रहेको युएसएआईडीले जनाएको छ।

शुभारम्भ कार्यक्रममा अमेरिकी राजदूत डिन थम्पसनले नेपालको विविध भू–बनोट, समृद्ध जैविक विविधता र जीवन्त संस्कृतिका कारण उच्चस्तरीय पर्यटकीय गन्तव्यका रूपमा यस मुलुकको अथाह सम्भावना रहेको सुनाए।

राजदूत थम्पसनले नेपालको पर्यटन क्षेत्रका लागि युएसएआईडीको अटुट सहयोग रहेको उल्लेख गर्दै समावेशी, दिगो आर्थिक वृद्धिलाई अगाडि बढाउन पर्यटनको महत्त्वपूर्ण भूमिका रहने राजदूत थम्सनले बताए।

नेपाल पर्यटन बोर्डका का.मु. प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापाले सन् २०२३ मा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएको र नेपालले पर्यटन क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताइन।

वर्षभरि नेपालको पर्यटन प्रवर्द्धन गर्दै र नेपाललाई विश्वयात्रीको रोजाइको गन्तव्यका रूपमा स्थापित गर्दै यो अभियान वृद्धितर्फको यस यात्राको दिगोपनलाई कायम राख्न तयारी अवस्थामा रहेको उनले बताइन।

नेपाल पर्यटन बोर्ड, युएसएआईडी र स्टेलरबिचको साझेदारीले नेपालको गतिशील पर्यटन उद्योगको विकासलाई उत्प्रेरित गर्न र मुलुकको पर्यटन सेवा तथा पूर्वाधारलाई अझ सुदृढ बनाउन लगानी आकर्षित गर्नका लागि उनीहरूले व्यक्त गरेको साझा प्रतिबद्धतामाथि जोड दिएको छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.

Discover more from पहिचान

Subscribe now to keep reading and get access to the full archive.

Continue reading