प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति : नगद भन्दा सुन धेरै

प्रधानमन्त्रीदेखि मन्त्रीहरूको सम्पत्ति : नगद भन्दा सुन धेरै

काठमाडौं : प्रधानमन्त्रीदेखि मन्त्रीहरूसँग नगद भन्दा बढी सुन रहेको विवरण सार्वजनिक भएको छ। पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएको १७ महिनापछि सार्वजनिक भएको मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरणमा नगद भन्दा बढी सुन रहेको देखिएको हो।

मन्त्रिपरिषद्का सदस्य मध्ये सबैभन्दा धनी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन्। महासेठको अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा देखिएको छ। पत्नी जुलीको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ।

२ करोड २५ लाख रुपैयाँ नगद, ४३ तोला सुन, डेढ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ। जनकपुरमा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिगाहा जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा पनि महासेठको नाममा रहेको छ।

एमालेबाट सरकारको नेतृत्व गरेका महासेठ धनी मन्त्रीको रूपमा देखिँदा माओवादीबाट उपप्रधानसहित परराष्ट्रमन्त्री रहेका नारायणकाजी श्रेष्ठले बैङ्क खातामा १ लाख २२ हजार रुपैयाँ रहेको भन्दै गरिब देखाउने प्रयास गरेका छन्।

गोरखाको सिरानचोक गाउँपालिका ८ मा रहेको ३ कित्ता पैतृक जग्गा २०५८ सालमै पार्टीलाई हस्तान्तरण गर्ने घोषणा गरेको र हाल प्रक्रियामा रहेको श्रेष्ठले उल्लेख गरेका छन्। आफूसँग रहेको बा १० च ५७९८ नम्बरको महिन्द्रा गाडी प्रधानमन्त्री प्रचण्डले प्रयोगका लागि उपलब्ध गराएको श्रेष्ठले सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले भने सांसदको रूपमा पाएको नगद २५ लाख रुपैयाँ मात्रै बैङ्कमा रहेको उल्लेख गरेका छन्। स्वर्गीय पत्नी सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको र सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरणमा लेखिएको छ। प्रधानमन्त्री प्रचण्डले आफूसँग पैतृक स्रोतबाट प्राप्त ५ तोला सुन रहेको उल्लेख गरेका छन्।

अर्थमन्त्री वर्षमान पुनसँग ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात रहेको उल्लेख छ। उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेतबाट प्राप्त गरेको उल्लेख गरेका छन्। उनको जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख छ। उनले आफूसँग भएको सवारीसाधन पार्टीको सम्पत्ति भनेका छन्।

नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका मन्त्रीहरू पनि अरू दलका धेरै मन्त्रीभन्दा धनी देखिएका छन्। रास्वपाका एक उपप्रधानमन्त्रीसहित तीन मन्त्री अहिले सरकारमा छन्। रास्वपाका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सम्पत्ति अरू मन्त्रीभन्दा कम देखिएको छ।

लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति तथा नेपाल बैङ्कमा १ लाख ५ हजार रुपैयाँ र ग्लोबल आइएमई बैङ्कमा ५ हजार रुपैयाँ रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।

श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको र घर किन्न १ करोड ५० लाख ऋण लागेको उल्लेख लामिछानेको सम्पत्ति विवरणमा उल्लेख छ। लामिछानेले श्रीमती र आफ्नो आयबाट ४२ लाखको टाटा नेक्सन इभी कार सम्पत्ति विवरणमा पेस गरेका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले आफूसँग १ सय ५० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। उनीसँग चाँदी १ सय तोला र हिरा १० तोला रहेको छ। पत्नी अम्बिका केसीका नाममा विभिन्न १२ स्थानमा करोडौँ मूल्य बराबरको जग्गा रहेको पनि मन्त्री अर्यालको सम्पत्ति विवरणमा उल्लेख छ।

काठमाडौं, धादिङ, लमजुङ र भक्तपुरका विभिन्न स्थानमा रहेका ती जग्गा व्यापार र निजी कमाइबाट झन्डै साढे ५ करोड रुपैयाँमा खरिद गरिएको हो। श्रीमती र उनका नाममा विभिन्न बैङ्क तथा वित्तीय संस्था तथा सहकारी संस्थामा २ करोड १८ लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठको नाममा विभिन्न बैङ्कमा एक करोड ५२ लाख रकम रहेको छ। ११ तोला सुन, सय तोला चाँदी, १ सेट हीरा, एक सेट हीराको टप, २० लाख पर्ने गाडी, एक लाख ८५ हजार मूल्य पर्ने स्कुटर रहेको मन्त्री श्रेष्ठको सम्पत्ति विवरणमा उल्लेख छ।

युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले एक करोड बढीको शेयर र आठ वटा बैङ्कमा ८३ लाख बचत रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। ८५ लाखको टोयटाको ल्यान्ड क्रुजर चढ्ने गरेका मन्त्री श्रेष्ठसँग अचल सम्पत्तिमा १५ तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङसँग बैङ्कमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको उल्लेख छ। त्यस्तै चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उनले तलब भत्ताबापत पाएको उल्लेख गरेका छन्।

जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका तामाङसँग ६ तोला सुन र ७/८ तोला चाँदी रहेको र ती तलब भत्ताबाट खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले आफ्नो र परिवारको नाममा ३ वटा घर भएको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्। मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको उल्लेख छ।

सूचना तथा संचारमन्त्री रेखा शर्माले श्रीमान् कृष्णध्वज खड्काको नाममा काठमाडौं कीर्तिपुर साढे २ तलाको घर, प्युठानमा जग्गा रहेको विवरण बुझाएकी छन्। सुन ६ तोला र चाँदी तोला रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले स्वआर्जनमा काठमाडौँमा २ करोड ६७ लाख रुपैयाँ जग्गा खरिद गरेको सम्पत्ति विवरणमा उल्लेख गरेकी छन्। मन्त्री चौधरीसँग ७५ तोला सुन र २५ के.जी. चाँदी रहेको उल्लेख छ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.