विपिनको निधनमा समुदायको वेदना : जसले जे भने पनि हार्दिक श्रद्धाञ्जली

विपिनको निधनमा समुदायको वेदना : जसले जे भने पनि हार्दिक श्रद्धाञ्जली

काठमाडौं : दुखद खबर। मान्छेको मृत्यु भएको समाचार नलेख्न पाए हुन्थ्यो। तर, शुक्रवार बिहान मात्रै ताप्लेजुङमा पहिरोले घर पुर्दा एकै परिवारका चार जनाको निधन भयो। अघिल्लो दिन बुधवार मात्रै काठमाडौं मेडिकल कलेजमा उपचार गर्दा गर्दै तेस्रो लिङ्गी महिला विपिन ढिमालको निधन भयो।

विपिनको निधन भएको जानकारी पाए लगत्तै उनका राम्रा र नराम्रा पक्षको कुरा चल्न थाल्यो। एक ठाउँमा मात्रै नबस्ने, ठाउँ ठाउँमा पुगेका हुन्थे विपिन भनेर उनका साथीहरुबीच कुरा भइरहेको थियो। विपिनको अन्तिम संस्कार काठमाडौं नगरी परिवारले झापाको दमक पुर्‍याए। दमकमा लिड नेपाल कार्यक्रम संयोजक नुमा लिम्बु (चञ्चला)ले इन्द्रेणी झन्डा ओढाएर श्रद्धाञ्जली दिइन।

सामाजिक सञ्जालमा लेखिन,’आज बाट बिदाइ गर्‍यो, जसले जे भने पनि हार्दिक श्रद्धाञ्जली झापाली विपिन छोरी 😭😭 तिम्रो आत्माले स्वर्गमा बास होस्।’ विपिनको निधनमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकका आँखा रसाएका छन्।

काठमाडौं मेडिकल कलेजको मृत्यु प्रमाणपत्र अनुसार ३० वर्षका विपीनलाई गुमाउनु परेकोमा एक जना परिवारकै सदस्य गुमाएको पीडा व्यक्त गरिरहेका छन् यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरू।

वैदेशिक रोजगारीमा रहेका विपिनकी आमा बिरामी छोराको उपचारका लागि केही दिन अघि मात्रै काठमाडौं आएकी थिइन। छोरालाई यो उमेरमा गुमाउनु पर्दाको बज्रपात विपिनकी आमामाथि परेको छ। हर्मोनले हो भने पनि होइन भने पनि विपिन अब फर्केर नआउने गरी अस्ताएका छन्।

तर, संस्थाहरूको लडाइमा विपिनलाई नमुछिदिन हटीनटीले अनुरोध गरे। ‘संस्थाहरूको के के धन्दा होला होस्,उसलाई महिला देखिने इच्छा भइरहन्थ्यो,’उनले भने,’हर्मोन कै कारण विपिनको निधन भयो भन्ने होइन।’

हटीनटी श्रेष्ठले पहिचानसँग भने,’हर्मोन खाएर निधन लेख्दा गलत म्यासेज गयो।’ विपिनको सबैभन्दा नजिकको साथीका रूपमा उनले चिनाए। हटीनटी जस्तै नजिक रहेका विपिनका साथीहरूले भने हटीनटीले थाहा नपाएको हर्मोन सेवन गरेको बताए।

‘रेगुलर नभई लुकिछिपी ब्ल्याकमा समेत किनेर हर्मोन सेवन गरेको मैले देखेको छु, हटीनटीलाई नभनेको हुनसक्छ,’समुदायका सदस्यहरूले भने,’अब हर्मोन खाएर मात्रै केटी देखिएन शल्यक्रिया नै गर्नुपर्ला भन्थे।’

अझ विपिनले आफ्नै गाउँका नजिकका साथीसँग हर्मोन लिने गरेको भनेर च्याट नै गरेका रहेछन्। समलिङ्गी तेस्रो लिङ्गीहरूले विपिनले गरेको च्याट पनि देखाए। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको हक अधिकारका नाममा खुलेका संस्थाहरूले दाताले दिने सहयोगमा हर्मोन क्लिनिक नै खोल्न प्रस्ताव नै पेस गरेका छन्।

स्वस्थ शरीरमा आफू जे हो त्यही पहिचानमा रहन नदिएर हर्मोन सेवन गर्न प्रोत्साहन गरेका संस्थाहरूले ‘हर्मोन खाएर निधन भएको होइन, यो समाचार लेख्ने पत्रुकार, त्यसलाई त भेटौँ न के गर्छु’ भन्ने सम्मका धम्कीपूर्ण अभिव्यक्तिहरू सामाजिक सञ्जालमा व्यक्त गर्न लगाएका छन्।

ब्लु डायमन्ड सोसाइटीकी अध्यक्ष सञ्जीव गुरुङ (शीतल,पिंकी)ले फेसबुकमा यस्तो पनि समाचार भनेर गरेको पोष्टमा आएका प्रतिक्रिया पनि लेख्न बन्द गराउने खालकै छन्।

राम्री देखिन हर्मोन सेवन गरेका विपिनको कलिलै उमेरमा निधन

हो समाचार यस्तै हो, जुन कसैले नलेखे हुन्थ्यो भन्ने लाग्छ। समाचार अरूले थाहा नपाएको गोप्य सूचना पाउनु र त्यही समाचार सम्प्रेषण गर्नुलाई पत्रुकार भनिन्छ भने भनियोस्। अहिले पत्रकारलाई हेर्ने नजर पनि त कहाँ राम्रो छ र।

फलानो मिडिया फलानोको होला भन्ने जस्ता बजार हल्लामा विश्वास गर्ने हो भने पनि यो पत्रुकार नै होला। एक जना स्वस्थ व्यक्तिलाई राम्री देखिन हर्मोन लिनै पर्ने? शल्यक्रिया गरेरै भए पनि केटी नै देखिँदा मात्र विभेद एवं लाञ्छना कम हुने? यस्ता कुतर्क गरेरै शीतलले सन् २००८ देखि नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)को अध्यक्ष पदको दम्भ प्रस्तुत गरिरहेकी समुदायका सदस्यहरू बताउँछन्।

अध्यक्षमा दाबी गरेकी तेस्रो लिङ्गी स्ट्रङ लेडीका रूपमा मात्रै नभएर पहिलो पटक अन्य लैङ्गिक पहिचानमा राहदानी लिएकी मोनिका शाहीलाई ब्लु डायमन्ड सोसाइटी छोड्न बाध्य पारिएको स्वयं मोनिकाले बताउँदै आएकी छन्।

बुढानीलकण्ठ स्कुलमा पढाउँदा पढाउँदै जागिर छोडेर ब्लु डायमन्ड सोसाइटीको पहिलो परियोजना प्रस्ताव लेख्ने परशुराम राई संस्था भित्र पारदर्शिताका कुरा उठाउँदा निकालिएको यसअघि नै सार्वजनिक भइसकेका छन्। राईको स्वास्थ्य अवस्था नाजुक छ। उनलाई सहयोगको खाँचो छ।

हिजो समुदायलाई सहयोग गरेका राई झन्डै पाँच वर्षदेखि समुदायकै अधिकारका लागि भनेर खोलिएको संस्था ब्लु डायमन्ड सोसाइटीको तिरस्कारमा परेका छन्। उनको उपचारका लागि सहयोग जुटाउने त परको कुरा शीतल, सुबेन ढकाल (मनीषा) सञ्जय शर्मा, सिमरन शेरचन, रूपबहादुर तामाङ (रुविना) सहित एकअर्काको संरक्षणका लागि गठन भएको स्वार्थको समूह भेट्न समेत गएका छैनन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सन् २००१ देखि पछिल्लो नवीकरण भएको मितिसम्म ब्लु डायमन्ड सोसाइटीको सदस्य सङ्ख्या ३२/३३ जना मात्रै रहेको छ। नेपालका गैरसरकारी संस्थाहरू मध्ये यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य र अधिकारको वकालत गर्न खुलेको संस्थाको नेतृत्वले परिवर्तन नचाहनुको पनि कारण रहेको सुनाउँछन् समुदायका सदस्य।

समाचारमा प्रतिक्रिया जनाउने अधिकांश ब्लु डायमन्ड सोसाइटीकै कर्मचारी छन्। नेतृत्वमा दाबी गर्नेहरूलाई साइड लगाउँदै आएका शीतलले आफ्नो मुठ्ठीमा ठुलो समुदाय रहेको धम्की पनि दिँदै आएको उनीहरूले बताए। ‘नाम नलेखिदिनुहोला, तपाईँलाई धम्की आउन सक्छ, हाम्रो रोजीरोटी नै खोसिन्छ, प्लिज नभनि दिनु,’समुदायका सदस्यहरूले बताए। ‘संस्थाका संस्थापक सुनिलबाबु पन्तलाई समेत होमोफोबिक, ट्रान्सफोविक सम्म भनिसकेकाहरूले हामी जस्तालाई काँचै खान्छन्,’उनीहरूले भने।

२०६९ सालदेखि सञ्चालन भएको पहिचान डटकमले केही समय अघि शिलापत्र अनलाइनमा मितिनी नेपालकी अध्यक्ष लक्ष्मी घलानले दिएको अभिव्यक्तिमा पनि पुरुष देखि पाठेघर फालेका एक जनाको हर्मोन लिदाँलिदै मृत्यु भएको उल्लेख थियो।

‘हर्मोनले शारीरिक असर सयमा सय प्रतिशत गर्दैन भन्ने छैन’, ब्लु डायमन्ड र मितिनी नेपालको समर्थन लिएर परिवार नियोजन सङ्घले सञ्चालन गरेको हर्मोनल क्लिनिकका एक कर्मचारीले बताए।

‘आफ्नो पहिचानमा गर्व गर्नुहोस्, विदेशी देखासिकी नगर्नुहोस्। विश्वमाझ पुर्‍याएर देशको नाम राख्न सफल हुनुहोस्’,समुदायको हितमा काम गरेकाहरूले भन्दै आएका छन्। यहाँ त हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी सहयोग नियोग युएसएआइडी अन्र्तगर्तको एफएचआइ ३६० ले सहयोग नै दिएको छ।

हर्मोन क्लिनिक सञ्चालनको सट्टा जीविकोपार्जनका कार्यक्रममा सहयोग माग्न भन्दै आएका समुदायका सदस्य आवाज उठाएकै आधारमा यी संस्थाहरूले गर्ने कार्यक्रममा सहभागी नै गराउँदैनन्।

२०७४ सालदेखि विवाह दर्ताको पहल गरिदिन हारगुहार गर्दै आएका माया गुरुङ्ग र सुरेन्द्र पाण्डेले सहयोग नपाएपछि छुट्टै संस्था नै स्थापना गर्नुपर्‍यो। २०८० कार्तिक १ गते जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको मायाको पहिचान नेपालको पहलमा त्यही वर्ष मङ्सिर १३ गते सर्वोच्च अदालतको अन्तरिम अनुसार लमजुङको दोर्दी गाउँपालिका कार्यालयमा दक्षिण एसियामै पहिलो पटक इन्द्रेणी (समलिङ्गी) विवाह दर्ता भयो।

माया र सुरेन्द्र समलिङ्गी विवाह कानुनी रूपमा दर्ता गर्ने पहिलो जोडी बन्यो। त्यसपछि कैलालीको कैलारी गाउँपालिकाले तेस्रो लिङ्गी जोडीको विवाह दर्ता गर्‍यो। विवाह दर्ता प्रमाणपत्रमा माया र सुरेन्द्र तथा दक्षिण एसियामै पहिलो विवाह दर्ता गर्ने लेस्वियन जोडी दिप्ती गुरु र अन्जुदेवी श्रेष्ठको जस्तो सर्वोच्च अदालतको आदेश अनुसार भनेर लेख्नु परेन।

मायाको पहिचान नेपालको पहलमा गृह मन्त्रीस्तरिय निर्णयबाट राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अहिले समलिङ्गी, तेस्रो लिङ्गी भन्न चाहने, नचाहने सबै जोडीको विवाह दर्ता स्थानीय वडा कार्यालयहरूमै गर्ने व्यवस्थाका लागि परिपत्र नै जारी गरिसकेको छ।

नेपालमा पहिलो पटक इन्द्रेणी पर्यटन अन्तर्राष्ट्रिय सम्मेलन नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मायाको पहिचान नेपालले आयोजना गरेर विश्वमा रहेका समुदायका सदस्यलाई नेपाल आउन आव्हान गरिसकेको छ।

सधैँ माग्न मात्र आउँछन् भन्ने भाष्यलाई गलत साबित गर्न अन्तर्राष्ट्रिय सम्मेलन सफल भएको दाबी मायाको पहिचान नेपालले गर्दै आएको छ। राजनीतिमा समावेशीताका लागि दायर रिटमा सर्वोच्च अदालतले अग्राधिकारमा राख्न आदेश दिएको छ।

अधिकारको अभियान नचलोस् भन्ने होइन। हर्मोन सेवन र यौन अङ्ग शल्यक्रिया गर्ने संस्थाको अधिकार हुन सक्दैन। राज्यले कानुन बनाएको छैन। गैरकानुनी कार्य गर्दा संस्थाको मात्रै बदनाम हुँदैन, संस्थाको नेतृत्वले पनि जिम्मेवारी लिनुपर्छ।

तर, संसद्मा दुई जना सांसदले हर्मोन सेवन गरेका र शल्यक्रिया गरेका व्यक्तिहरूमा स्वास्थ्य समस्या देखिएको बताएर के हुन्छ? उनीहरू को हुन्? के गर्न सक्छन् र? भनेर फुर्ती लगाउँदै शीतलले समुदायमा भ्रम फैलाइरहेको भुक्तभोगीहरू नै बताउँछन्।

हेर्नुहोस् : ब्लु डायमन्ड सोसाइटीका वर्तमान उपाध्यक्ष उमेश पाण्डे (निरुता) को यो भिडियो

सम्बन्धित समाचार :

हर्मोन क्लिनिक सञ्चालन गर्न अमेरिकी अनुदान लिएको खुलासा

वैवाहिक अधिकारको आवरणमा हार्मोन बाड्ने क्लिनिक

सर्वोच्चमा पहिलो रिट दर्ता गर्ने मध्येका एक वैद्यको निधन

लिङ्ग परिवर्तन गराउने धन्धाको संसदमा खैलाबैला, महिला बनेका पुरुष देखि तर्सिए सांसद

स्वार्थका लागि गठित समूह सक्रिय, पारदर्शिताको कुरा उठाउँदा जागिर चट

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको माग : तत्काल गणना गरियोस्

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गरे प्रश्न : व्यवस्था बदलिए पनि अवस्था उस्तै किन?

नेपालको सर्वेका लागि भुटानमा छलफल, अर्थले रोक्यो २७ करोड

व्यक्तिको स्वास्थ्य भन्दा अभियान रोकिने त्रास

हर्मोन प्रयोग गर्नेहरुमा मुटु र किड्नीको समस्या

नागरिकता बनाउन लिङ्ग परिवर्तनको प्रमाणपत्र किन?

किन लुक्यो ‘अन्य’ पहिचानको तथ्याङ्क? (भिडियो)

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.